कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भोलीबाट सुरु हुँदै, यस्तो छ तयारी


काठमाडौं, २३ भदौ । भोली भदौ २४ गतेबाट कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु गर्दै छ । त्यसका लागि सबै क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको छ।
भोलीबाट सबै प्रदेश सभा निर्वाचन क्षेत्रमा हुने जागरण अभियानका लागि आइतबार तीन सय ३० जना केन्द्रीय प्रतिनिधिको टुंगो लगाएको हो।
केन्द्रीय प्रतिनिधिमा प्रदेश र प्रतिनिधिसभा उम्मेदवार, पार्टीका पूर्वजिल्ला सभापति, पूर्वसांसदलाई जिम्मेवारी दिएको छ।

पार्टीका संस्थापक नेता एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर कांग्रेसले हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरण अभियान सञ्चालन गर्न लागेको हो। मुलुकभर एकसाथ सुरुवात हुने जागरण अभियान असोज ७ गतेसम्म सञ्चालन हुनेछ। अभियान प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत हुनेछ।

अभियानका क्रममा महंगी, भ्रष्टाचार, महिला हिंसा, अलोकतान्त्रिक विधेयक र सरकारको कार्यशैलीविरुद्ध खवरदारी गर्ने कांग्रेसले जनाएको छ। जागरण अभियानलाई अन्तक्रियात्मक बनाउन कांग्रेसले एउटा मात्र सभाको आयोजना गर्नेछ। असोज ७ गते अन्तिम दिन जिल्ला स्तरीय विरोध प्रदर्शन कार्यक्रम तय गरेको छ ।

जागरण अभियानमा पार्टीका नेता एवं प्रतिनिधिले बोल्नेभन्दा सुन्ने विषयलाई प्राथमिकतामा राखिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । जागरण अवधिभर सामाजिक संवादअन्तर्गत सामाजिक विसंगतीविरूद्ध, युवा केन्द्रीत विशेष संवाद तथा वडा स्तरीय अन्तरक्रिया गर्ने कांग्रेसले जनाएको छ।

सोम, भदौ २३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया