हल्ला गरेकै भरमा सिंह र स्यालको तुलना हुन सक्दैन: प्रचण्ड


काठमाडौं, २३ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनलाई अपमानित गर्ने काम अमान्य हुने बताएका छन् ।
पार्टी मुख्यालय धुमवराहिमा सोमबार आयोजित २१ औँ सुरेश वाग्ले स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गणतन्त्र र लोकतन्त्रलाई उल्टाउनका लागि प्रतिक्रियावादी शक्तिहरुले षड्यन्त्र गर्न थालेको आरोप लगाएका छन् ।

निरंकुशतावादी र कुनै पनि नाममा प्रतिक्रियावादी शक्तिलाई देशलाई फेरि निरंकुशताको जाँतोमा पिस्न दिने कुरा आफूहरुलाई स्वीकार्य नहुने भन्दै उनले भने, सिंहको अगाडि स्याल आएर हल्ला गरेकै भरमा सिंह र स्यालको तुलना हुन सक्दैन ।

आफूहरुको कमजोरी भए त्यसलाई सच्याउन तयार रहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सबैसँग आग्रह पनि गरे ।

उनले सुरेश वाग्ले कम्युनिष्ट वैचारिक अग्रज र इमान्दार भएको बताए ।राजनीतिक कुशलताद्वारा सबैलाई प्रभावित पार्न सक्ने नेताको रुपमा वाग्ले रहेको भन्दै वैचारिक अन्तरसंघर्षलाई ठीक ढंगले परिचालन गर्न अग्रणी भूमिकामा खेलेको बताए ।

अध्यक्ष दाहालले सरकारले जनचाहना अनुसारको काम गर्न नसकेको भन्दै कम्युनिष्ट पार्टीलाई बलियो बनाएर जनताको सेवा गर्नुको विकल्प नभएको पनि प्रष्ट पारे ।

सोम, भदौ २३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया