टेकु अस्पतालमा डेंगुका बिरामिकाे संख्या बढ्याे, ७० हजारभन्दा बढीलाई संक्रमण !


काठमाडौं,   २३ भदाै ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका बिरामिकाे संख्या बढेकाे छ । शुक्रराज अस्पतालमा डेंगुका बिरामीको उपचार निःशुल्क हुने घोषणापछि चाप बढेको हो ।

अस्पतालमा गत वैशाख र जेठमा एक/एक जना संक्रमित उपचार गर्न आएका थिए । असारमा ९ र साउनमा २३ जना उपचार गरी फर्किएको अस्पतालले जनाएको छ । भदौमा ४४ महिला र ४१ पुरुष उपचारपछि फर्किए । जँचाउन आउनेको संख्या बढेको छ ।

डेंगुबाट संक्रमित भई सार्वजनिक र निजी अस्पताल जानेहरू बढेका छन् । सरकारसँग यकिन तथ्यांक भने छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. प्रकाश शाहका अनुसार ४८ जिल्लामा डेंगु संक्रमण भएको पाइएको छ । ७ हजार ३ सय १५ जनाको रगत परीक्षण गर्दा डेंगु पोजेटिभ देखिएको डा. शाह बताउँछन् ।

तर, डेंगु सुरु भएको धरानमा सरकारी र निजी अस्पतालमा जाँच गराएकामध्ये १० हजारभन्दा बढीमा डेंगु पोजेटिभ पाइएको छ । ‘सरकारी र निजी स्वास्थ्य संस्था एवं प्रयोगशालाबाट सबै रिपोर्ट आएको छैन’, डा. शाह भन्छन्, ‘डेंगु संक्रमितमध्ये १० प्रतिशतमा लाक्षणिक हुन्छ । बाँकी ९० प्रतिशतलाई सामान्य ज्वरो आएको हुन्छ । उपचारपछि निको हुन्छन् । यस हिसाबले ७० हजारभन्दा बढीलाई संक्रमण भएको अनुमान गर्न सकिन्छ ।’

सुनसरीबाट तीन महिनाअघि सुरु भएको डेंगु संक्रमणबाट मन्त्री, चिकित्सक, सञ्चारकर्मी, व्यवसायी, शिक्षकलगायत बिरामी परेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ग्राण्डी अस्पतालमा उपचाररत छन् । मनसुनअगावै सुरु भएको डेंगुको संक्रमण तिहारसम्म बढ्ने अनुमान चिकित्सकको छ ।

शुक्रराज ट्रपिकल अस्पतालमा प्रमुख कन्सल्टेण्ट डा.अनुप बास्तोलाका अनुसार, सहरी क्षेत्रका बासिन्दा झन् बढी जोखिममा छन् । मुलुकको राजधानीलगायत सबै क्षेत्रमा डेंगु संक्रमण देखिएकोले राष्ट्रिय एजेण्डा बनाएर अघि बढ्नु पर्ने डा.बास्तोलाको सुझाव छ ।

स्वास्थ्य सेवा विभागका निवर्तमान महानिर्देशक डा.सुशीलनाथ प्याकुरेल स्वास्थ्य मन्त्रालय एक्लैले डेंगु नियन्त्रण गर्न नसक्ने बताउँछन् ।

सरकारले डेंगु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान सुरु गरेको तीन महिना नाघिसक्यो । तर, लामखुट्टेको अण्डा, प्यूपा, लार्भा नष्ट गर्नमा सफलता हात परेन । डेंगुको प्रकोप ४८ जिल्लामा देखिएको यो पहिलो पटक हो । डा.बास्तोलाका अनुसार धुवाँको संसर्गमा रहेका लामखुट्टे मात्र मर्छन् । ‘घरभित्रका गमला, कुलरलगायतमा लामखुट्टेका अण्डा, प्यूपा, लार्भा हुन्छ, त्यसलाई नष्ट गर्न सक्दैन । अहिलेको चुनौती नै लार्भा नष्ट गर्नु हो ।’

सोम, भदौ २३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया