प्रदेश सरकार स्थापनाकाे दिन विभूषण तथा पदक दिने


४ जेठ, हेटौंडा । प्रदेश ३ सरकारले पनि बिभिन्न व्यक्तिहरुलाई प्रदेश सरकार स्थापना भएको दिन माघ २९ गते विभूषण तथा पदकले सम्मान गर्ने भएको छ । प्रदेश ३ सरकारले २२ वटा पदक बाँड्ने आन्तिक मामिला तथा कानून मन्त्रालयका मन्त्री शालिकराम जमकट्टेलले बताएका छन् ।

प्रदेश सभा दर्ता गराइएको ‘विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पास भएपछि पदक वितरणको बाटो खुल्ने छ ।  विधेयकमा ११ विधामा २२ वटा पदक तथा सम्मान प्रदान गर्ने उल्लेख छ । विधेयकमा शान्ति तथा सुरक्षा अन्तर्गत प्रदेश रक्षक, शान्तिमाला र शान्तिदीप, शिक्षातर्फ प्रदेश दीप, स्वास्थ्यतर्फ मुत्युञ्जय र खेलकुदतर्फ प्रदेश सान, कृषितर्फ कृषि किरण र सहकारीतर्फ सहकारी प्रवर्द्धन, उद्योगतर्फ उद्यमशिलता, पर्यटनतर्फ प्रदेशद्रष्टा र वातावरणतर्फ वातावरण संरक्षण पदक प्रदान गर्ने उल्लेख छ ।

त्यस्तै, पूर्वाधार विकास अन्तर्गत विकास सेवी, सूचना तथा सञ्चार विधाअन्तर्गत प्रदेशदूत, विज्ञानतर्फ अन्वेषण, प्रविधितर्फ नव प्रवर्तन, भाषातर्फ सुभाषिक, कलातर्फ कलाकीर्ति, संस्कृतितर्फ संस्कृतिदीप र साहित्यतर्फ प्रदेश श्रष्टा पदक पनि वितरण गरिने छ ।

यसैगरी प्रदेश सार्वजनिक प्रशासन तथा सुशासन अन्तर्गत जनसेवा, विपद व्यवस्थापन अन्तर्गत विपदसेवी र समाजसेवा लोककल्याण अन्तर्गत प्रदेश परोपकार पदक दिइने विधेयकमा उल्लेख छ ।

शनि, जेष्ठ ४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया