प्रतिबन्ध साम्राज्यवादीका सामु आत्मसमर्पणको परिणति- विप्लव


काठमाडौं, ३ जेठ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीमाथि केपी सरकारले लगाएको प्रतिबन्ध दलाल पुँजीवादी शक्तिको साम्राज्यवादीका सामु आत्मसमर्पणको परिणति भएको ठोकुवा गरेका छन । उनले उनले रातो खबर अनलाइन टेलिभिजनलाई दिएको अन्तरवार्तामा सो ठोकुवा गरेका हुन् ।

महासचिव विप्लवले वर्गहितमा खडा गरिएको राज्यभित्र वर्गसङ्घर्ष चलिरहेको अवस्थामा हुने प्रक्रिया हो । यो प्रतिबन्ध हाम्रो हकमा मात्र लागू भएको होइन । राज्यले लगाउने प्रतिबन्ध र जनताले गर्ने प्रतिरोधसँग जोडिएको प्रक्रिया हो । हिजो राणाविरुद्ध भएको आन्दोलनमा जनतामाथि लगाइएको थियो । २००८ सालमा काङ्ग्रेस सरकारले कम्युनिस्ट पार्टीमाथि लगाएको थियो । २०१७ सालदेखि पञ्चायतले काङ्ग्रेस र कम्युनिस्टमाथि प्रतिबन्ध लगायो । जनयुद्ध सुरु भएदेखि काङ्ग्रेस र एमाले मिलेर हामीमाथि प्रतिबन्ध लगाए । अहिले केपी—पीके सरकारले हामीमाथि प्रतिबन्ध लगाएको छ । त्यसैले यो नयाँ कुरा होइन ।’

प्रतिबन्ध लगाएलगत्तै यो सरकारले नेकपाका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरूको गिरफ्तारीलाई लिएर विप्लवले भनेका छन्, ‘जनताको बीचमा बसेर सङ्गठनको काम गरिराखेका हाम्रो पार्टीका स्थायी समितिका सदस्य सुदर्शनलगायत ७ जना केन्द्रीय नेताहरू, घरमा बसिराखेका कार्यकर्ता, महिला, शिक्षक, मजदुरहरूलाई यो सरकारले गिरफ्तार गरेको छ ।’
वर्तमान राज्यप्रणालीका विरुद्ध आफ्नो पार्टीले गर्नुपरेको विरोधको कारण बताउँदै उनले भनेका छन्, ‘चैतन्य मिश्रहरूले जति नै टाउको फोेरे पनि, जति नै तर्क गरे पनि पुँजीवादी व्यवस्थाले मानव जातिको कल्याण गर्न सक्दैन भन्ने पुस्टि भैसकेको छ । शान्तिप्रक्रियामा आएपछि काङ्ग्रेस, एमालेहरूले नेताहरूको व्यवस्थापन गर्न खोजे, नेताहरूलाई सुखसुविधामा डुबाएर मोजमस्तीमा रमाउने बनाए । देशलाई पुरानै ठाउँमा छोड्ने काम गरे । हामीले प्रचण्डजीलाई भनेका थियौँ– तपाईंहरूले यही बाटो समाउनुभयो भने हामी जाँदैनौँ है । हामीले काङ्ग्रेस र एमालेलाई भनेका थियौँ– तपाईहरूले प्रचण्ड र बाबुरामहरूलाई समातेको भरमा शान्तिप्रक्रिया टुङ्गिँदैन । तर उनीहरूले त्यही गरे । प्रचण्ड र बाबुरामको व्यवस्थापन गर्नेबितिक्कै, उनीहरूलाई समाउनेबितिक्कै भैहाल्छ भन्ने सम्झिए र जनयुद्धमा उठाइएका जनताका मागहरूको सम्बोधन गरेनन् । त्यसैले फेरि अर्को विद्रोहको आवश्यकता परेको हो ।’
वार्ताका बारेमा स्पष्ट पार्दै विप्लवले भनेका छन्, ‘वार्ताका बारेमा स्पष्ट कुरा के भनिएको छ भने जनता र राज्य, विद्रोही र सत्ता पक्ष, एउटा राज्य र अर्को राज्य, सङ्घर्षशील शक्ति र दमन गरिराखेको शक्तिका बीचमा वार्ता हुने र भैराखेका छन् । यसको हामी निरपेक्ष विरोध वा निरपेक्ष समर्थन गर्दैनौँ । वार्ता हुँदै हुँदैन भन्ने कुरा होइन र सजिलै भैहाल्छ भन्ने पनि होइन । प्रयोगले के साबित गरेको छ भने समस्याहरू आएपछि, सङ्घर्ष भएपछि, विद्रोह भएपछि वार्ता हुन्छन् । वार्ता पनि राजनीतिको एक भाग हो ।’
वास्तवमा नेकपाले गर्न खोजेको सङ्घर्षका बारेमा स्पष्ट पार्दै विप्लवले भनेका छन्, ‘यो क्रान्ति प्रचण्डविरुद्धको लडाइँ होइन, अहिलेका मन्त्रीविरुद्धको लडाइँ पनि होइन, केपीविरुद्धको लडाइँ पनि होइन । यो त पुँजीवादी व्यवस्थाविरुद्धको लडाइँ हो । तर उहाँहरू अगाडि आउनुहुन्छ भने कुनै पनि मूल्य चुकाउन तयार छौँ । यहाँ इन्काउन्टरका कुरा आएका छन् । हामीलाई गोली हान्ने कुरा आएका छन् । यस्तो हो भने हामी पुलिससँग किन लड्छौँ, सेनासँग किन लड्छौँ ? यो राज्यका दलालहरूका विरुद्ध लड्छौँ नि । त्यस समयमा सोच्नुपर्ने हुन्छ ।’

शुक्र, जेष्ठ ३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य Uncategorized समाचार

Like us On Facebook

Follow Us On Twitter