पत्रकार ओम हमाल रिहा


काठमाडौं, २४ भदौ । जनपत्रकार संगठन,नेपालका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाल रिहा भएका छन । सर्वाेच्च अदालतकाे दाेस्राे पटककाे आदेशमा हमाल रिहा भएका हुन् । हमालकी श्रीमती मोनिका गुरूङले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै गत मंगलबार सर्वोच्च अदालतले रिहा गर्न  आदेश दिएकाे हाे ।

इजलास नम्बर ६ मा भएकाे सुनुवाइ पछि न्यायाधीश ईश्वर प्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले पत्रकार हमाललाई रिहा गर्न आदेश दिएको थियाे। रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्त एकराज भण्डारी, विष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ, अधवक्ता कपिलचन्द्र पाेखेल, रिषिराम घिमिरे, भक्तिराम घिमिरे लगायतले बहस गरेका थिए । भदौ ६ गते पक्राउ परेका हमाललाई मंगलबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि गेटबाटै प्रहरीले पक्राउ गरेको थियो । अघिल्लो पटक राज्य विरुद्धको मुद्दा लगाएको प्रहरीले दोस्रो पटक दुरव्यहार सम्बन्धी मुद्वा लगाएर थुनामा राखेको थियो ।

अदालतकाे आदेशमा भनिएको छ, ‘ओम हमाललाई प्रवृत्त धारणा राखी अदालतको आदेश पश्चात जसरी पनि थुनामा राख्ने किसिमको बदनियतपूर्ण तबरबाट पक्राउ गरी बन्दी बनाएको देखिएको छ। सरकार र सरकारी संयन्त्रले नै अदालतबाट भएको आदेश छल्ने, आदेश पालना गर्न अटेर गर्ने र अदालतबाट भएको आदेशको मर्यादा नराख्ने अवस्था देखिनु शोभनिय होइन ।’

पत्रकार हमाल अदालतको आदेशबाट छुटेको र छुट्न साथ पक्राउ गरिएको सर्वोच्चले आपत्ति जनाएको छ । अदालतबाट छुट्न साथ पक्राउ पर्नुको उचित कारणसमेत नखुलाइएको र जरुरी पक्राउ पूर्जि दिनुको औचित्य पुष्टि हुन नसकेको तर्फ पनि सर्वोच्चले सरकारलाई सचेत गराएको छ ।

यसअघि पत्रकार हमाललाई रिहा गर्न सर्वोच्च अदालतले गत मंगलबार दिएको आदेश उलंघन गरी प्रहरीले उनलाई पुनः सर्वोच्च अदालतको मुल गेटबाटै पक्राउ गरेको थियो । सर्वोच्चको आदेशविपरित पुनः पक्राउ गरिएको भन्दै हमालकी श्रीमती मोनिका गुरुङले गत विहीबार सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

हमालकाे रिहाइका लागि नेपाल पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल लगायत पत्रकारसँग सम्बन्धित संघसस्थाले पहल गरेका थिए ।

 

मङ्ल, भदौ २४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया