नेपाल-भारत पाइपलाइनको औपचारिक शुभारम्भ, पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात सुरु


बारा, भदौ २४ ।

नेपाल-भारत पेट्रोलियम पाईपलाईनको मंगलवार औपचारकि रुपमा उद्घाटन भएको छ। यसअघि सफल परीक्षण गरिएको पाइपलाइनको नेपाल र भारतका प्रधानमन्त्रीले एकैसाथ उद्घाटन गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट स्वीच थिचेर पाइपलाइनको शुभारम्भ गरेका हुन्। दुई प्रधानमन्त्रीले काठमाडौं र दिल्लीबाट एकैसाथ स्वीच थिचेपछि अमलेखगंजस्थित नेपाल आयल निगमको डिपोमा तेल खसेको थियो।

पाइपलाइनबाट आएको तेललाई भारतीय आयल कर्पोरेशनका कार्यकारी निर्देशक जेपी सिन्हाले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई हस्तान्तरण गरेका थिए।

पेट्रोलियम पदार्थ आयात औपचारिकरुपमा सुरु

मोतिहारी–अमलेखगन्ज ‘पेट्रोलियम पाइपलाइन’को उद्घाटन भएसँगै पेट्रोलियम पदार्थ आयात औपचारिकरुपमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत् एकैसाथ ‘स्वीच’ थिचेर पाइपलाइनको उद्घाटन गरेसँगै पेट्रोलियम पदार्थको आयात सुचारु भएको हो ।

बहुप्रतिक्षीत मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइको गत असारमा सफल परीक्षण र शुद्धताको जाँच भइसकेको थियो । मंगलबार दुवै देशका प्रधानमन्त्रीबाट संयुक्तरुपमा उद्घाटन गरेसँगै औपचारिकरुपमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात सुरु भएको हो ।

दुलहीझैं सिँगारिएको बारास्थित अमलेखगन्ज डिपोमा आयोजित कार्यक्रममा ‘एनओसी’, ‘आइओसी’, सुरक्षाकर्मी र पेट्रोलपम्पका पदाधिकारीको उल्लासमय उपस्थिति थियो ।  अमलेखगन्ज डिपोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले निगम र आइओसीको निरन्तर मिहिनेतका कारण समयअगावै परियोजना सम्पन्न भएको बताए ।

नेपाल आयल निगमको अमलेखगन्ज डिपोमा १६ हजार किलोलिटर भन्डारण गर्ने ट्यांकी निर्माण गरिएको छ । पाइपलाइनका कारण ढुवानीको वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढी बचत हुने बताइएको छ । पर्यावरण विनास, ढुवानी गर्दा हुने दुर्घटना र चुहावटलगायतका समस्या समाधान हुने विश्वास लिइएको छ ।

आयोजनाको २०७४ चैतमा दुवै देशका प्रधानमन्त्रीले स्वीच थिचेर शिलान्यास गरेका थिए । ७० किलोमिटर लम्बाइ रहेको पाइपलाइन भारततर्फ ३२.५ किलोमिटर तथा नेपालतर्फ ३७.५ किलोमिटर लम्बाइ छ ।  पाइपलाइनबाट प्रतिघन्टा २०० किलोलिटर पेट्रोलियम पदार्थ आउनेछ ।

भारतीय आयलका प्रमुख जेपी सिन्हाले दक्षिण एसियामै पहिलोपटक ‘क्रस बोर्डर’ पाइपलाइन सन्चालन गरिएको भन्दै खुसी व्यक्त गरे ।पाइपलाइनको सम्झौता पाँच/पाँच वर्षमा नवीकरण हुने र तेस्रो मुलुकबाट पनि नेपालले इन्धन आयात गर्न सकिने बताइएको छ ।

मङ्ल, भदौ २४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया