सरकारले मेलम्चीका पेटी ठेकेदारको बक्यौता नदिने, ज्यालावापतको रकम भने उपलब्ध गराउने


काठमाडौं १८ भदौ ।
सरकारले मेलम्ची खानेपानी आयोजनाको पेटी ठेकेदारको बक्यौता रकम भुक्तानी गर्न नसकिने स्पष्ट पारेको छ । खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले सिएमसी कम्पनीसँग काम गरेका ठेकेदारहरुको बक्यौता रकम सरकारले कानुनी रुपमै पनि भुक्तानी दिन नमिल्ने प्रष्टयाउनु भयो ।

उहाले सो कम्पनीसँग काम गरेका ठेकेदारहरुले करिव १ अरव ३५ करोड भुक्तानी उपलब्ध गराई दिन निवेदन दिएको उल्लेख गर्दै त्यसो गर्न कानुनी रुपमै नमिल्ने तर्क गर्नुभएको छ । तर श्रमिकहरुको ज्यालावापतको रकम भने मानवीय नाताले पनि भुक्तानी गर्ने सरकारको तयारी छ ।

त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइएको पनि सचिव बेल्बासेले आज बसेको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा जानकारी दिनुभयो । सिएमसी कम्पनीसँग काम गरेका श्रमिकहरुलाई दिनुपर्ने भुक्तानी ३ करोड २ लाख रहेको माग दावीसहितको निवेदन खानेपानी मन्त्रालयका पेश गरिएको छ । उनीहरुको भने भुक्तानी गर्न सरकार तयार छ ।
सचिव बेल्बासेले सो आयोजनाको बाँकि काम सम्पन्न गराउने काममा अवरोध सृजना गरिएको भन्दै सो समस्या समाधानका लागि राजनीतिक रुपमा पहल गरिदिन पनि समितिका सदस्यहरुलाई आग्रह गर्नुभएको छ । राजनीतिक रुपमा ती समस्या समाधान तत्काल भए तोकिएको समय भित्रै सो आयोजनाको बाँकि काम सम्पन्न गर्ने सचिव बेल्बासेको प्रतिवद्धता छ ।

तर त्यसका लागि राजनीतिक रुपमा उठेका प्रश्नको हल राजनीतिक रुपमै हुनुपर्ने सरकारको अडान छ । सचिव बेल्बासेले सिएमसी कम्पनीसँग पेटी ठेकेदारले गरेको सम्झौता सरकारले कसरी हेर्न सक्छ? भन्दै समितिका सदस्यहरुलाई नै प्रश्न गर्नुभयो । बैठकमा समितिका सदस्यहरुले सो आयोजनाको बाँकि काम नौं महिना वित्तिसक्दा पनि सुरु गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।

बुध, भदौ १८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया