डेङ्गु रोगको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


काठमाडौ, भदौ १८ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसँग शुल्क नलिन निर्देशन दिएको छ ।

पछिल्लो समय काठमाडौ लगायत देशभर डेङ्गु रोग प्रकोपका रूपमा नै देखापर्न थालेपछि सरकारको एक मात्र ट्रपिकल तथा सरुवा रोग उपचार गर्ने अस्पताललाई मन्त्रालयले यस्तो निर्देशन दिएको हो । अस्पतालका अनुसार अहिले २४ जना डेङ्गु रोगका बिरामी उपचारत छन् ।

स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले अस्पतालको निरीक्षणका क्रममा सेवा लिन अस्पतालमा आउने बिरामीलाई बिना झञ्झट निःशुल्क सेवा दिन र यहाँ आएका बिरामीलाई अन्यत्र ‘रिफर’ नगर्न समेत निर्देशन दिनुभयो ।

अस्पतालमा हिजो मात्र ५२२ जनाले डेङ्गु रोगका बारेमा परीक्षण गराएको निर्देशक चिकित्सक वासुदेव पाण्डेले जानकारी दिनुभयो । रोगको परीक्षण गर्ने वृद्धि भएसँगै अस्पतालले परिसरमा डेङ्गु हेल्थ डेस्क स्थापना गरी सेवालाई अझ सहज बनाएको छ ।

बुध, भदौ १८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य स्वास्थ्य समाचार