उदयपुरमा पनि डेङ्गु राेग फैलीयाे, नियन्त्रणकाे लागि सरसफाई तिब्र


गाईघाट, भदौ २ । उदयपुर जिल्लाको भित्रि मधेश तथा तराई क्षेत्रका भूभागमा डेङ्गु देखिएकाे छ। केही हप्तायता जिल्लाको पश्चिम कटारी नगरपालीकामा देखिएकाे डेंङ्गु पूर्वी क्षेत्रको बेलका चौदण्डीगढी, त्रियुगा नगरपालिकासहित जिल्लाको पश्चिमी क्षेत्रको कटारी क्षेत्रमा समेत डेङ्गु फैलन थालेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अहिले सबैभन्दा बढी डेङ्गु कटारी क्षेत्रमा फैलन थालेको र त्यसपछि क्रमशः त्रियुगा नगरपालिकाको गाईघाट र चौदण्डीको बेल्टार बसाहा तथा बेलकाको रामपुर ठोक्सिला क्षेत्रमा फैलन थालेको हो । डेढ महिना अघि कटारीमा दुईजना र चौदण्डीको बेल्टारस्थित बिपी चोकमा एकजनामा देखा परेको डेङ्गु अहिले कटारी, त्रियुगा, चौदण्डी र बेलका क्षेत्रमा गरेर झण्डै डेढ दर्जनमा डेङ्गु रोग फेला परेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रमेश खकुरेलले बताए ।

पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग लाग्न थालेपछि बिरामीमा ज्वरो आउने, शरीरमा दादुराजस्ता स–साना फोका देखा पर्ने, लिभर फुलिने, पेटमा पानी जम्ने, गिजाबाट रगत आउने र शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

यसरी डेङ्गुबाट बिरामी परेकामध्ये केहीलाई जिल्लामा नै उपचार भइरहेको र केही बिरामी जिल्ला बाहिर सुनसरीको धरान तथा १ नम्बर प्रदेशको विराटनगरका अस्पतालमा उपचार भइरहेकोसमेत स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

डेङ्गु फैलन थालेपछि यसको जानकारी प्रदेश सरकार र प्रदेश स्वास्थ्य मन्त्रालयमा जानकारी गराइएको र यसको नियन्त्रणको विषयमा समेत छलफल शुरु गरिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

यसअघि  कटारी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजानामा साउन ३० गते डेगुं नियन्त्रणको लागि कटारी बजारमा सरसफाई कार्यक्रम सम्पन्न गरेकाे थियाे। सरोकारवाला निकाय,स्थानिय निकायका पदाधिकारीहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना सहितको सहभागितामा कटारी बजार क्षेत्रमा सरसफाई गरिएको हो । सरसफाईमा पानी जमेको खाल्टा, टायर तथा टायर राखेको ठाउँ, ढल तथा नालीहरु समेत सरसफाई गरी औषधि समेत छर्किई सरसफाई गरिएको स्वास्थ्य शाखा प्रमुख रामनारायण चौधरीले बताउनुभयो । कटारीमा पछिल्लो पटक डेंगु रोगीको संख्या बढ्दै गएपछि नगरपालिकाले सरसफाईलाई तिब्रता दिएको हो ।
अनावश्यक रुपमा पानी जम्ने र त्यहाँबाट उत्पादन भएको लामखुट्टेको टोकाईबाट विशेष गरी डेंगु सर्ने भएकाले त्यस्ता ठाउँहरुको सरसफाई गरिएको हो ।डेंगुको लक्षण देखा परेमा तुरुन्त नजिकैको स्वास्थ्य केन्द्रमा उपचार गराउन पनि नगरपालिकाको स्वास्थ्य शाखाले आग्रह गरेको छ ।

सोम, भदौ २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया