सत्तारूढ नेकपाकाे सचिवालय बैठक स्थगित, पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थाल्यो : प्रचण्ड


काठमाडौं, साउन ३२ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको शनिबार अपराह्न ४ बजेका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको छ । बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित भएको जानकारी दिए । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले आइतबार अपराह्न ४ बजे बस्ने गरी शनिबारको बैठक स्थगित भएको जानकारी दिए ।

शनिबारको बैठकमा पार्टीका जनवर्गीय संगठनको इन्चार्ज तोक्नुका साथै विशेष जिल्लाहरुको नेतृत्व चयन गर्ने एजेन्डा थियो । यसअघि, शुक्रबार बसेको सचिवालय बैठकले पार्टीका महत्वपूर्ण ३२ विभागको नेतृत्व चयन गरेको थियो । ३२ विभागमध्ये १८ मा पूर्वएमाले र १४ विभागमा पूर्वमाओवादी केन्द्रका नेताहरुले जिम्मेवारी पाएका छन् ।

यस्तै, बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने प्रस्ताव गरेको थियो । बैठकमा नेता झलनाथ खनालले आफूलाई तेस्रो वरीयतामा राख्न लिखित प्रस्ताव पेस गरेका थिए । तर, उक्त प्रस्तावबारे कुनै निर्णय भने भएको छैन ।

यसैबीच, पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

वरिष्ठ नेता नेपालको निवास कोटेश्वरमा शनिबार बिहान भएको भेटवार्तामा नेता झलनाथ खनालले पार्टीभित्र वरीयताको विषयमा राखेको लिखित प्रस्ताव र पार्टीका आन्तरिक विषयमा छलफल भएको स्रोतको भनाइ छ ।

पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थाल्यो : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थालेकेा बताएका छन् । उनले पार्टी एकताका लागि पनि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको बताएका छन् ।

राष्ट्रिय चिकित्सक संघ नेपालले शनिबार काठमाडौमा गरेको अन्तरक्रियामा उनले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थालेको बताए । नेकपाको सचिवालय बैंठकको लामो छलफलपछि महत्वपूर्ण कुराहरुमा निर्णय लिएको भन्दै अध्यक्ष दाहालले कतिपय बिषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको स्पष्ट पारे ।

कम्युनिष्ट पार्टीका लागि अवसर र चुनौति दुबै भएको भन्दै उनले अहिले केही गर्न नसकिए इतिहासले धिकार्ने बताए । अध्यक्ष दाहालले यस्तो अवसर सधै नआउने भन्दै सरकारका कामलाई व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । अध्यक्ष दाहालले विश्वमै स्वास्थ्य क्षेत्र पूँजीपतिले चलाएको भन्दै स्वास्थ्य क्षेत्रलाई समाजवाद उन्मुख गराउने चुनौति रहेको बताए ।

कार्यक्रममा नकेपाका महासचिव विष्णु पौडेलले स्वास्थ्य सेवा सर्वसुलभ हुनु पर्नेमा जोड दिए । कार्यक्रममा सहभागी चिकित्सकहरुले भने गुणस्तरीय स्वास्थ्य सेवाका लागि सुरक्षित पेशा आवश्यक रहेको भन्दै सरकारी नीति प्रष्ट हुनु पर्ने माग गरे ।

मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया