न्यूरोडमा आगलागी हुँदा करोडौंको क्षति


पोखरा,२८ साउन । 

पोखराको न्यूरोडमा मंगलवार दिउँसो आगलागी हुँदा करोडौंको क्षति भएको छ। न्यूरोडस्थित भाटभटेनी सुपरमार्केट नजिकै रहेको शुभ युनिक होम डेकोरेसन सहितको एस  मिनिमार्केटमा आगलागी हुँदा करोडौंको क्षति भएको हो।

शुभ युनिक होम डेकोरेसनमा विद्युत सट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

आगलागी हुँदा मिनिमार्केटभित्र व्यसाय गर्ने ७ व्यवसायीका २३ सटरमा रहेका सामानमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले बताए। मिनिमार्केटमा एउटै व्यवसायीका ९ वटासम्म व्यवसायिक सटर रहेका थिए।

आगलागी समयमै नियन्त्रणमा लिएकोले मिनिमार्केटसँगै रहेका बैंक, अन्य पसलमा क्षति हुनबाट जोगिएका छन्। आगलागी भएको दुई घण्टामा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख कार्कीले बताए।

मिनिमार्केटमा होम डेकोरेसन, चस्मा पसल, इलेक्ट्रिक पसल, किराना पसल, खाजा पसल, फलफुल पसल लगायतका व्यपारिक पसल रहेका थिए।

मिनिमार्केटको फोम पसलमा आगो सल्किएपछि नियन्त्रणामा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयकाे सहयाेगमा पाेखरा महानगरका ४ वटा दमकल सहित २० भन्दा बढी पानी ट्यांकर परिचालन गरिएको थियो।

दमकल, पानी ट्यांकरको प्रयोग गरी आगो नियन्त्रणमा आएको हो। आगलागीबाट भएको क्षति मूल्यांकन भइसकेको छैन।

मङ्ल, साउन २८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया