लद्दाख केन्द्रशासित रूपमा स्वीकार्य छैन: चीन, यस्ता छन् मंगलवारका अन्तराष्ट्रिय घटनाहरू


एजेन्सी, २१ साउन ।

जम्मु कश्मीरबाट धारा ३७० हटाएर लद्दाखलाई केन्द्र शासित प्रदेश बनाउने निर्णयकाे चीनले विरोध गरेको छ। चिनियाँ विदेश मन्त्रालयले लद्दाख केन्द्रशासित रूपमा स्वीकार्य नहुने जनाएकाे छ ।

चिनियाँ समाचार पत्र ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘भारत सरकारले चिनियाँ क्षेत्र आफ्नो राज्यमा सामेल गरेको छ। यसको हामी विरोध गर्छौं। भारतीय कदमबाट चीनको क्षेत्रीय अखण्डता र सम्प्रभुता उल्लंघन भएको छ। यो अस्वीकार्य छ।’ जम्मु कश्मीरको भूभाग हाल भारत, पाकिस्तान र चीनको अधीनमा छ।

भारतले आफ्नो आन्तरिक मामिलामा नबोल्न चीनलाई सचेत गराएको छ। अरूको आन्तरिक मामिलामा आफू पनि नबोलेको र आफ्नोमा पनि नबोल्न उसले भनेको छ।

चिनियाँ भनाइको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले जम्मु कश्मीर भारतको आन्तरिक मामिला भएकाले यसबारे चीनको भनाइको अर्थ नभएको बताए।  उनले भने, ‘भारत–चीन सीमा विवादमा दुवैले निष्पक्ष, व्यावहारिक र पारस्परिक स्वीकार्य समाधान गर्ने सहमति गरिसकेका छौं।’ लद्दाखको कतिपय क्षेत्रमा भारत र चीनले आ–आफ्नो भूमि भएको दाबी गर्ने गरेका छन्।

यस्तै ,  हङकङमा दुई महिनादेखि जारी आन्दोलनमा सहभागीमध्ये १ सय ४८ प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५३ जना महिला र ९५ जना पुरुष छन् । जसमध्ये १३ वर्षसम्मका बालबालिका समेत परेका छन् ।

दुई महिनादेखि यहाँ ‘प्रो डेमोक्रेट्स’को आन्दोलन नियमित चल्दैआएको छ । प्रहरीले भने अश्रुग्याँस आक्रमण गर्दैआएको छ । एक अध्यागमन विधेयकको विरोध गर्दै सुरु भएको यहाँको आन्दोलनले विश्वकै ध्यान तान्न थालेको छ । पछिल्लो समय चीनले पनि प्रदर्शनकारीलाई हिंसा भड्काउने तत्वको संज्ञा दिँदै धम्की दिँदैआएको छ ।

उत्तर कोरिया जानेलाई अमेरिकाको कडाइ

वासिङ्टन : उत्तर कोरिया भ्रमण गरिसकेका यात्रुका लागि अमेरिकाले विना अनुमति प्रवेशमा कडाइ गरेको छ । २०११ यता उत्तर कोरिया जाने मानिस यदी अमेरिकामा भएको खण्डमा उसले अब पर्यटक वा बिजनेस भिसाको लागि आवेदन दिनुपर्ने छ ।

पछिल्लो ८ वर्षमा उत्तर कोरिया जाने यात्रुका लागि अमेरिकाले सहज अनुमतिमा कडाइ गरेको हो । २०११ यता उत्तर कोरिया, लिबिया, सिरिया सहित ८ देश भ्रमण गर्नेहरुले फेरि अमेरिकामै रहनको लागि टुरिस्ट वा बिजनेश भिसाको आवेदन दिनुपर्ने भएको हो ।

अफगानिस्तानमा तालिबानको धम्की

अफगानिस्तानमा हुने भनिएको निर्वाचनका लागि गरिएको प्रचारको विरोध गर्दै तालिबानले धम्की दिएको छ । सेप्टेम्बर २८ मा हुने भनिएको राष्ट्रपतीय चुनाव रोक्न तालिबान समूहले चेतावनी दिएको हो । राजनीतिक दलका नेताहरुले चुनावी प्रचार गरिरहँदा तालिबानको धम्की आएको हो । अफगानिस्तानमा एक वर्षको अवधिमै २ पटकसम्म चुनावको मिति सारिँदैआएको हो ।

कंगोमा डुंगा दुर्घटना हुँदा ११ को मृत्यु

कंगोमा एक डुंगा दुर्घटना हुँदा ११ जना को मृत्यु भएको छ । अरु दर्जनौँ हराइरहेका छन् । यात्राको क्रममा रहेका १६ जना भने पौडिएर बाँच्न सफल भएका छन् । स्थानीय मिडियाका अनुसार ११ जनाको मृत शरीर भेटिएको र ५० जना हराएका हुन् । राजधानी किन्साला नजिकै मंगलबार दुर्घटना भएको हो ।

वार्ताको लागि प्रतिबन्ध फुकाउनुपर्ने इरानको शर्त

इरानका राष्ट्रपति हसन रौहानीले यदी अमेरिकाले इस्लामिक गणतन्त्रमाथिको प्रतिबन्ध फुकुवा गरेको खण्डमा वार्ता गर्न आफू तयार रहेको बताएका छन् । वार्ताको लागि अमेरिकाले सबै किसिमका प्रतिबन्ध फुकुवा गर्नुपर्ने उनको शर्त छ । यसअघिको प्रयास असफल भए पनि अबको वार्ता सम्भव भएको उनले शंकेत गरेका थिए । यदी अमेरिकाले यदी साँच्चिकै वार्ता गर्न तयार भए प्रतिबन्ध फुकुवा गर्नुपर्ने शर्त उनले अघि सारेका हुन् ।

भेनेजुएलामाथि अमेरिकाको आर्थिक प्रतिबन्ध, ट्रम्पले गरे हस्ताक्षर

अमेरिकाले भेनेजुएलामाथि आर्थिक प्रतिबन्ध लगाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्प्ले यससम्बन्धी आदेशमा हस्ताक्षर गरेका हुन् । आदेशपत्रमा भेनेजुएलाका राष्ट्रपतिले मानवअधिकार उल्लंघन गरेको तथा शक्तिको दुरुपयोग गरेको भन्दै प्रतिबन्ध लगाइएको उल्लेख छ ।

भाजपा हिटलरको नाजी जस्तै भयो: इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको सत्तारुढ दल भारतीय जनता पार्टीलाई हिटलरको नाजी पार्टीजस्तै भएको टिप्पणी गरेका छन् ।
मंगलबार खानले संसदलाई सम्बोधन गर्दै यसो भनेका हुन् । भारतले कश्मीरको विशेषधिकार कटौती गरेपछि त्यसलाई पाकिस्तानी नेता खानले गम्भीर खतराको शंकेत भन्दैआएका छन् । उनले संयुक्त राष्ट्रसंघीय प्रावधानलाई समेत भारतले उल्लंघन गरेको औंल्याएका छन् । यसका लागि अन्तर्राष्ट्रिय मध्यस्तता चाँडै खाँचो भएको उनले बताए ।

मङ्ल, साउन २१, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया