एकै परिवारका सात जनामा डेङ्गु सङ्क्रमण: के हो डेङ्गु रोग ? लक्षण, उपचार र बँच्ने उपायहरु


इनरुवा साउन १९ ।
सुनसरीको सदरमुकाम इनरुवामा एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेङ्गु नियन्त्रणमा आएको बताइए पनि पछिल्लो पटक इनरुवा –४ का एक परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण फेला परेको इनरुवा नगरपालिकाले जनाएको छ ।

वडा नं ४ निवासी सन्तोष गुप्ताको परिवारमा सातै जनामा सो रोग फेला परेको अस्पतालले जनाएको छ । योसँगै इनरुवामा ११ डेङ्गु सङ्क्रमित बिरामी फेला परेको इनरुवा नगरपालिकाले पुष्टि गरेको छ । नमूना परीक्षणका क्रममा २० जनाभन्दा बढीमा डेङ्गुको सङ्क्रमण फेला परेकाले सङ्क्रिमतको सङ्ख्या बढ्दो क्रममा रहेको इनरुवा अस्पताल आकस्मिक कक्षले जनाएको छ ।

ज्वरो आएर उपचारका लागि अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको भएकाले उक्त रोगको सङ्क्रमितको सङ्ख्या बढ्नसक्ने स्वास्थ्यकर्मीको अनुमान छ ।नगर क्षेत्रभित्र एकसाथ डेङ्गुका बिरामी फेला परेपछि नगरपालिकाको आपत्कालीन बैठकले शिक्षा शाखा प्रमुख डिल्ली निरौलाको संयोजकत्वमा डेङ्गु नियन्त्रण तथा प्रचारप्रसार समितिसमेत गठन गरेकोे छ ।

संयोजक निरौलाका अनुसार इनरुवा– ४ मा सात, वडा नं ५ मा चार र वडा नं ३ मा एक जनामा उक्त सङ्क्रमण देखिएकोे हो । जिवाणुका कारण सङ्क्रमण फैलने भएकाले नियन्त्रणका उपाय अवलम्बन गर्नाका साथै जनचेतना फैलाउन काम तत्कालै थाल्ने तयारी गरिएको बताइएको छ ।

के हो डेङ्गु रोग ?

डेङ्गु एक भाइरसद्वारा लाग्ने संक्रमण हो, जुन एडिज नामको लामखुट्टेको टोकाइबाट हुने गर्दछ। विभिन्न प्रकारका एडिजमध्ये एडिज एलवोपिक्टस र एडिज एजेप्टी मुख्य हुन्। डेङ्गु भाइरस चार प्रकारका हुने प्रमाणित भइसकेकोमा यी सबै नेपालमा पाइन्छन्, जसलाई डेङ्गु भाइरस १,२,३,४ भनिन्छ।

एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बाहरु हुन्छन्। त्यसैले गर्दा यसलाई टाइगर लामखुट्टे पनि भनिन्छ। यो लामखुट्टेको विशेषता अरु लामखुट्टेभन्दा फरक प्रकृतिको छ।यसले दिउसो टोक्दछ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ। पोथी लामखुट्टेले आफ्नो अण्डाको विकासका लागि रगत चुस्ने गर्दछ।

आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा यसले करिब ३ सयवटा अण्डा पार्दछ । सन् २००३–४ मा श्रीलंकामा गरिएको एक अनुसन्धानले यी लामखुट्टेहरु मुख्यत: पानी संकलन गर्ने कन्टेनर, फालिएका टायर, गमला, कुलो तथा पानी भरिएका खाल्डाहरुमा देखिएका थिए। थाइल्याण्डमा गरिएको एक अनुसन्धानले डेङ्गुको संक्रमण भएमा ५ सय गुणा बढी डेङ्गु हेमोरेजिक ज्वरो हुने पुष्टि भएको छ। डेङ्गु ज्वरोमा रगतसम्बन्धी असर भएर प्लेटलेट्सको संख्या अध्याधिक कम हुने जटिलता बढ्दछ।

एक वर्षभन्दा मुनिका बच्चाहरु र ६० वर्षमाथिका वृद्धवृद्धाहरु, मोटोपन भएका व्यक्तिहरु, गर्भवती महिला, पेप्टिक अल्सर भएकाहरु, रगत नजम्ने रोग भएका जस्तो: थ्यालेसेमिया, जन्मजात मुटुका रोगीहरु, मधुमेह, उच्च रक्तचाप, कलेजोको सिरोसिस, मृगौला फेलियर भएका दीर्घ रोगीहरु, स्टेरोइड, पेनकिलर आदि प्रयोग गरिरहेकाहरु उच्च जोखिममा पर्दछन्।

अहिलेसम्म डेङ्गु भाइरल मानिसबाट मानिसमा सरिसकेको छैन। डेङ्गु ज्वरो भएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा उसलाई पनि डेङ्गु सर्दछ। लामखुट्टेको कारणभन्दा पनि मानिसहरुको तीव्र बसाइसराइ र भ्रमणले यो सार्न सहयोग गरिरहेको छ।

डेङ्गुबाट बँच्ने उपायहरु

दिउसो टोक्ने लामखुट्टे एडिज हो। तसर्थ, यसको संक्रमणबाट बच्नु एकदम महत्वपूर्ण छ। थोरै र सफा पानी जम्न सक्ने भाँडाहरु जस्तो: गाडीका काम नलाग्ने टायर, खाली बट्टा, गमला, कुलर आदिमा पानी जम्न दिनु हुँदैन। गमलाहरुमा रहेका पानीलाई हप्ताको २ पटक परिवर्तन गर्नुपर्दछ। पानीका ट्याङ्कीलाई लामखुट्टे छिर्न नसक्ने गरी ढाकेर राख्नुपर्दछ। दिउँसो पनि पूरा बाहुला भएका शरीर पूरै ढाक्ने कपडाहरु प्रयोग गर्नुपर्दछ। लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम पनि दल्न सकिन्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुलभित्र सुत्नुपर्दछ। उच्च जोखिममा रहेका साना बालबच्चा र दीर्घरोगीले त जुनसुकै बेला झुलको प्रयोग गर्नुपर्दछ। घरका झ्याल–ढोकामा जाली लगाउनुपर्दछ। घरवरिपरि सफा–सुग्घर राख्नु, पानी जम्ने खाल्टाखुल्टी पुर्नु पर्दछ। डेङ्गुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण र उपचार गर्नुपर्दछ।

आइत, साउन १९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया