…….भएन भने साहित्य ‘न हाँसको चाल न बकुल्लाको चाल’ भनेझैँ हुन्छ: – अनिल शर्मा ‘विरही’


वर्गीय समाजमा साहित्य र कला विचारधारात्मक सङ्घर्षका रूपहरू हुन्छन् । त्यसैले मानवीय संवेदना पनि वर्गीय मापदण्ड, मूल्य र मनोविज्ञानमा आधारित रहन्छ । मानवप्रेम, अरूको पीडाबाट आहत हुनु, सहानुभूति पैदा हुनु, अर्को व्यक्ति या पक्षसँगै दुःख र पीडाबाट आहत भई त्यसबाट मुक्ति पाउन सामूहिक प्रयास गर्नु, सहानुभूति दर्शाउनु, उद्वेलित हुनु, असन्तुष्ट हुनु, मनमा हुण्डरी चल्नु र बलिदानका लागि तत्पर तथा उदात्त सपना देख्नु नै संवेदना हो । मानवीय संवेदना नै काव्यको मुहान र आधार हो । त्यसैले त संवेदनशील मान्छेहरू जगत्का साना– ठूला घटना तथा दृष्यहरूबाट प्रभावित र उद्वेलित रहन्छन् । प्रसिद्ध रुसी कवि पुस्किनले ‘कविताका लागि एकप्रकारको पागलपन चाहिन्छ’ भन्नुको अर्थ कल्पनाको उडान र संवेदनशीलताको गहिराइको महत्वमा निहीत छ । हामी कवि पुस्किनभन्दा अझ अगाडि बढेर के भन्न सक्छौँ भने हरेक सिर्जनाका लागि संवेदना अनिवार्य रहन्छ । हृदयमा छङछङ गर्दै संवेदनाको झरना नझरीकन अथवा बादलको घुम्टोभित्र भदौरे झरीझैँ हृदय नपग्लिकन सिर्जनारूपी रातो नानी जन्मनै सक्दैन । संवेदना तसलामा जन्मिएको राजकुमार नवराज होइन । त्यो वस्तुगत यथार्थको तिखो अनि तितो अनुभूति हो । यो एउटा प्रसव पीडा हो । धर्ती फाट्ने बेलाको थर्थराहट हो । ज्वालामुखीमा परे जीवन नास हुन्छ, बस्ती उजाडिन्छ । प्रसव पीडा पचाउन सके धर्तीपुत्र जन्मन्छ । संवेदनाको उडान माथिमाथि भर्न सके काव्य जन्मन्छ । कर्णालीझैँ जिन्दगीको धारा सलल बग्छ । संवेदनाले निकास पाएन भने जीवन कवि मायाकोब्स्कीको नियतिमा पुग्न सक्छ । संवेदनाका सम्बन्धमा सौन्दर्यचिन्तक चैतन्यको भनाइ छ, “मान्छे वस्तुगत रूपमा संवेदनशील प्राणी हो, त्यसैले त्यो दुःख खप्ने प्राणी हो र त्यसले अनुभूत गर्छ, दुःख सहन्छ, यो एक आवेगमय प्राणी हो । आवेग मानिसको त्यो सारभूत शक्ति हो, जुन ऊर्जामय बनेर लक्ष्यतर्फ झुकेको हुन्छ ।” संवेदनशीलताको विषयप्रतिको दायित्वबोधी चेतना हो । अनुभूतिको गहिराइ र सौन्दर्यबोधी चेतना पनि हो । संवेदनशीलताले नै मानिसलाई सपना देख्न प्रेरित गर्दछ ।

रूप, रस, गन्ध र स्पर्शद्वारा जुनप्रकारको भावना हृदयमा पैदा हुन्छ, मानव–मस्तिष्कमा त्यसैप्रकारको संवेदना पैदा हुने गर्दछ । भाषा र जीवनप्रतिको अनुभूतिले संवेदना पैदा गर्दछ । प्रेम र सपनाबिना कल्पना हुँदैन । कल्पनाबिना अनुभूति हुँदैन । प्रकृति र ब्रह्माण्डको कल्पना सागरमा पौडी नखेलीकन संवेदना पैदा हुँदैन । भनिन्छ जसमा सघन संवेदना, गम्भीर अनुभूति र गहिरो प्रसव वेदनात्मक शक्ति हुन्छ, त्यही व्यक्ति सामान्यतः कवि हो । कविताको सन्दर्भमा मात्र होइन, साहित्यका सबै विधाका लागि यी आवश्यक शर्त हुन् ।

पुँजीवादका लागि नाफाबाहेक सबै भ्रम हुन्, निरर्थक र त्याज्य छन् । त्यसैले त्यसले मानिसलाई संवेदनहीन तथा विचार शून्य बनाएर पशुवत् स्तरसम्म झार्दछ । मानव प्रेमको स्थानमा यौनलाई सर्वोपरि घोषणा गर्दछ । सञ्चारका साधनहरूलाई नियन्त्रित र अधिनायकत्व कायम गरेर आफ्नो पक्षमा सबैको अभिरुचिहरू बदल्दछ । मानवीय रुचिहरूलाई नियन्त्रित र निर्देशित गर्न सकिन्छ । पुँजीवाद कल्पना र संवेदनाको विरुद्धमा छ । त्यसअर्थमा पुँजीवाद कला–साहित्य विरोधी धारा हो ।

मानवीय मूल्यको रक्षा र विकासका लागि हुने छटपटाहट, चिन्ता, हुटहुटी, उद्वेलन र लगन नै संवेदना हो । संवेदना त्यो पाठेघर हो, जहाँ सिर्जनाको भ्रूण हुर्कन्छ । यद्यपि संवेदना वर्ग निरपेक्ष हुन सक्दैन । जहाँ वर्ग हितार्थ जीवन कौशल र छटपटाहट जन्मन्छ । त्यसैले संवेदना मान्छेलाई पशुचेतनाबाट मानव–चेतनामा उकाल्ने गोरेटो हो । प्रेम र सपनाबिना कल्पना हुँदैन । कल्पनाबिना संवेदना हुँदैन । संवेदनाबिना चिन्ता हुँदैन र चिन्ताबिना चिन्तन पनि हुँदैन । जीवन र जगत्प्रतिको चिन्ता र त्यो चिन्ताबाट निकासको खोजीको क्रममा नै मानव सभ्यताको विकास भएको छ । यसैमा मानव जातिको गौरव निहीत छ । त्यसैले त भनिएको छ– आत्मगौरवबिना कोही पनि उत्कर्षमा पुग्न सक्दैन । त्यसैले संवेदनहीनता पतन र विनासको मार्ग बन्न जान्छ ।

मानवीय संवेदनालाई कला–प्रतिभाद्वारा अभिव्यक्तिको रूप दिंदा त्यो काव्य कृति वा सिर्जना बन्दछ । हरेक संवेदना काव्यात्मक रूपमा अभिव्यक्त हुन्छ नै भन्ने कुरा अनिवार्य र निश्चित हुँदैन । झरना टुकुचामा मिसियो भने हृदय फोहोर हुन्छ । फोहोर हृदयबाट कुरूप काव्य सिर्जना हुन्छ । सिर्जना फोहोर हुन्छ कि हुँदैन ? सायद कचरा भन्नु उपयुक्त होला । त्यसैले संवेदना कुरूप यथार्थका विरुद्ध बलिदानका रूपमा अभिव्यक्त हुन्छ । उत्पीडनका विरुद्ध विद्रोह र क्रान्तिचेत सिर्जनाका लागि अनिवार्य शर्त हुन् । त्यसैले मानवीय संवेदना सिर्जना र बलिदानका आधार हुन् ।

संवेदनालाई कला–बिम्बद्वारा वा समाजका नायक पात्रद्वारा अभिव्यक्तिको रूप दिनु साहित्य हो । शैली शृङ्गार–पटार कला हो । भनिन्छ, ‘कोरीबाटी गरेपछि लाटी पनि पुतली बन्छे’ रे ! विचारलाई संवेदनाको शृङ्गार कोठामा लगेर शृङ्गार–पटार गरेपछि सम्प्रेषणीय बन्छ । सम्प्रेषणीयता नै लोकप्रियता हो र लोकप्रियता कला–मूल्यको मापदण्ड हो । कला–साहित्यको क्षेत्रमा आदर्शवादले कला मूल्यमा मात्र जोड दिन्छ र सङ्कीर्णतावादले विचारधारात्मक प्रश्नमा मात्रै ध्यान दिई कला– मूल्यको निषेध गर्दछ । माक्र्सवादी सौन्दर्य–चिन्तन यी दुबैका विरुद्धको सङ्घर्षमा विजयी बन्दै आएको छ । ‘कला कलाका लागि’ नाराद्वारा आदर्शवादले कलाको उपयोगिता केवल धनाढ्यवर्गको विलासको साधन मान्दछ र कलाको पक्षधरताको विरोधको नाममा जनपक्षधरता गुमाउँछ । ठालुवादको पक्षपोषण गर्दछ । सङ्कीर्णतावादले साहित्य र कलाको नाममा अर्थात् विचारको प्रधानताको नाममा कला–मूल्यको नै हत्या गर्दछ । विचार पक्षको अतिशय जोडमा संवेदनहीनता हुनु र संवेदना पैदा गर्ने नाममा विभ्रम पैदा गर्नु दुबै उत्तिकै हानिकारक छन् । संवेदनहीनता र संवेदनाको सिर्जनाको नाममा विभ्रम पैदा गर्नु दुबै कला–मूल्यका बैरी हुन् । त्यसले पाठकमा पलायन, निराशा, हीनताबोध, दास मनोवृत्ति, आशाहीनता र काव्यप्रति अरूचि पैदा गर्दछ ।

विज्ञान र प्रविधिको विकाससँगै मानवीय संवेदना व्यक्त गर्ने कलाका बान्कीहरूमा अथाह प्रगति र सम्भावना पैदा भएको छ । ध्वनि, तरङ्ग, स्वर, भाषणकला, वाचनशैली, चित्र वा रेखा, छाया, ध्वनि सङ्केत, नृत्य, अभिनय, रङ, प्रकाश वा किरणको अनुपातको उतार–चढाव, शब्द चयन, भाव–भङ्गीमा, मुखाकृति, भाव सम्प्रेषणजस्ता अनेकौँ माध्यमद्वारा संवेदना अभिव्यक्त हुन सक्छ । क्यामेरा र प्रकाशको मात्राअनुसार अपेक्षाअनुसारको भावचित्र सिर्जना गर्नु, भावको गहनता र मानव हृदयको स्पन्दनशीलताद्वारा पाठकलाई तान्नु संवेदना सिर्जनाका रूपहरू हुन् । झर्रा शैली, लोक–लय र नमूना नायकद्वारा पनि संवेदना जीवन्त बनाउन सकिन्छ । माटो र पसिनाको प्रेम जति घनिष्ट हुन्छ, त्यति नै सिर्जना जीवन्त बन्दछ । त्यसैले त ग्रामीण जनसंवेदना पानीका माछाझैँ सलल बग्छ नि । लोकप्रियता, जनभाषा, जनजिब्रो, जनमनोविज्ञान र चेतनास्तरमा निहीत रहन्छ । पुँजीवादले मान्छेको रुचिमा समेत विकृतीकरण, भ्रष्टीकरण, जङ्गलीकरण गरिरहेको छ । साहित्यको मापदण्ड मानवीय मूल्य नभएर नाफा हुने भएकोले पुँजीवादमा कला, साहित्य संवेदनहीन हुँदै गएको छ । त्यसरी पुँजीवादले कला–साहित्यलाई मसानघाटतिर घिसारिरहेको छ । रूप, रस, गन्ध, स्वर, स्पर्श, दृश्य आदिद्वारा जुनप्रकारको भावना हृदयमा प्रवेश गर्छ; मस्तिष्कले त्यसैअनुसाको प्रतिक्रिया जनाउँदछ किनकि मान्छेको मानसिक स्थिति उसका भौतिक अवस्थाहरूका अभिव्यक्तिहरू हुन् । जनताप्रति प्रेम, श्रमप्रति आस्था र लगन संवेदनाका स्रोतहरू हुन् । पुँजीवादी समाजमा बढ्दै गएको संवेदनहीनताप्रति तितो पोख्दै ऐन्थनी क्वीनको प्रतिक्रिया थियो, “हामी सबै गद्दार हौँ किनकि हामीले अरूप्रति प्रेम गर्न बिर्सिसकेका छौँ ।” श्रम र श्रमिकजनप्रति प्रेम, आदर गर्नु र श्रम सुन्दरताको सपना देख्नु साहित्य– कलाको प्रस्थान बिन्दु हो किनकि प्रेम र सपनाबिना कल्पना हुँदैन । त्यसैले त स्पेनका महान् कवि फेदरियो गार्सिया लोर्काले भनेका थिए, “सिङ्गो संसार डगमगाइदिने यो समयमा कला–कर्मीहरूले सबैसँग हाँस्न र रुन आवश्यक छ ।” त्यसैले सामाजिक सरोकारबिना साहित्यको औचित्य पुष्टि हुन सक्दैन ।

भनिन्छ, साहित्य र कलाको कुरा गर्दा आञ्चलिकतालाई भुल्नुहुँदैन । आञ्चलिकतालाई स्थानीय विशेषता र मौलिकता भनिन्छ । आञ्चलिकताले अन्यत्रका पाठकहरूलाई स्थान विशेषको सांस्कृतिक झलक दिन्छ । भूमण्डलीकरणले स्थानीयताको बध गरिरहेको छ । वर्तमान युरोपमा र अमेरिकामा दिनहुँ आञ्चलिकताको प्रभाव बढ्दै गएको देखिन्छ । जुन लेखनलाई त्यहाँ जमिनी यथार्थ लेखन भन्ने गरिन्छ । आञ्चलिकताले स्थान विशेषको संस्कृति, सभ्यता र समस्याहरूलाई सतहमा ल्याउँछ । स्थानीयताको रक्षा गर्छ र सिङ्गोभित्र अंशको अस्तित्वको खोजी गर्दछ । भूमण्डलीकरणले सिङ्गो (समग्र को नाममा अंश (विशिष्ट) को अस्वीकार गर्दछ । कवि पाब्लो नेरुदाले भनेका थिए, “जसले चिलीको जङ्गल देखेको छैन, उसले धरती देखेकै छैन ।” आञ्चलिकतामा संवेदनाको गहनता रहन्छ ।

साहित्य–कला मानव–सभ्यताका कसी हुन् र साहित्यको अध्ययन र ग्रहण गर्नका लागि साहित्यिक ज्ञान, संवेदना र संस्कारको आवश्यकता हुन्छ । साहित्य गणितको सूत्र होइन । साहित्य हृदयको झङ्कार हो । सुत्केरी आमाका दूधले भरिएका स्तनझैँ हृदय नरसाई साहित्य न बुझ्न सकिन्छ, न त लेख्न नै । त्यसैले त कलाकार प्रेम चन्दले “साहित्य पढ्न र बुझ्नका लागि खास किसिमको ज्ञान, संवेदना र संस्कारको आवश्यकता हुन्छ” भनेका छन् । त्यसो हुँदा हुँदै पनि साहित्य र कला हरदम विचारधारात्मक सङ्घर्षका सर्वश्रेष्ठ औजार हुँदै आएका छन् ।

आदर्शवादीहरूले प्रगतिवादी साहित्यलाई राजनीति र नारा आरोप लगाउँदै आएका छन् तर राजनीतिक क्षेत्रमा बढी प्रयोगमा आउने शब्दावलीको प्रयोग नै नारा होइन । पक्षधरता, विरोध, प्रतिरोध, असन्तुष्टि, विद्रोह सबै नारा होइनन् । नारा र राजनीतिको प्रकटीकरणलाई पर्दाभित्र लुकेको छद्म नारा र राजनीतिको निक्र्योल शब्दमा होइन, भावमा खोजिनुपर्छ । ‘मन्दबुद्धिको फुच्चे बुस’ को स्तुति नारा नहुने, कालापानीका हत्याराहरूको स्तुतिगान राजनीति नहुने तर लेनिनको प्रशंसामा कविता लेख्दा पाब्लो नेरुदाहरू नारावादी हुन्छन् भने भन्नैपर्छ – नारा नै कला हो ।

साहित्य र कला जसरी वर्ग–सापेक्ष हुन्छन्; त्यसरी नै संवेदनाका कारण र अवस्थामा पनि विधिवत् तथा वर्गीय प्रभाव हुन्छन् । दरबारिया तथा कुलीन सरोकारका विषयले त्यसैप्रकारको भाषा र शैलीको माग गर्दछ । त्यसले त्यही कुलीनवर्गको संवेदनालाई प्रतिनिधित्व गर्दछ । श्रमिकजनको विषयले उनीहरूकै भाषा, दिनचर्या र शैलीको माग गर्दछ । शैली र विषयीलाई पृथक गर्न सकिन्न । त्यसैले भोजपुरी भाषी कवि दिनकरले “विषय र शैलीलाई चिरेर अलग–अलग गर्न सक्ने कारखाना अहिलेसम्म बनेकै छैन” भनेका हुन् । विषयअनुसार शैली र शैलीअनुसारको विषयको छनोट भएन भने साहित्य ‘न हाँसको चाल न बकुल्लाको चाल’ भनेझैँ हुन्छ ।

पुँजीवादले मानवीय मूल्य, साहित्य र कलाका कतिपय पक्षसँग अन्तर्विरोध राख्छ; जसको कारण त्यसले सामन्ती युगका कतिपय मानवीय मूल्यको समेत नष्ट गर्दछ । यसबेला मानवीय मूल्यबोधको सङ्कुचन हुँदै गएको छ; जसको कारण असंवेदनशीलता, बेसरोकार, त्रूmरता, द्वन्द्व, उत्पीडन बढ्दै गएका छन् । आर्थिक, राजनीतिक दमन मात्रै होइन, मानवीयताको स्खलन र अमानवीयकरण तथा पशुजन्य उपभोक्तावादी दृष्टिकोण पनि यसका कारण रहेका छन् । उत्तर–आधुनिकतावादले दृश्यहरूको विष्फोटक प्रचारद्वारा भ्रम सिर्जना गर्दछ र पुरातनलाई नूतन देखाएर वा विभ्रम पैदा गरेर आफ्नो आयु लम्ब्याउने कोसिस गरिरहेको छ । उसले भाषा, संस्कृतिक, दर्शन, संवेदना सबथोकको अन्त र केवल पुँजी र प्रविधिको वकालत गरिरहेको छ । कार्ल माक्र्सले “पुँजीवादी उत्पादन आत्मिक उत्पादनका कतिपय रूपहरूसँग उदाहरणका लागि कला र काव्यसँग सत्रुतापूर्ण सम्बन्ध राख्दछ” भनेझैँ संवेदनासँग पनि सत्रुतापूर्ण सम्बन्ध राख्दछ; जसका कारण समाजमा असंवेदनशीलता बढिहेको छ ।

आफ्नो वर्गको सेवा गर्नु, सौन्दर्यानुभूति सिर्जना गर्नु, तिनको आत्मिक उत्थान र सन्तुष्टि दिनु र सपना देख्नु साहित्य र कलाको कर्तव्य हो । भावना र सङ्केतद्वारा कलात्मक लालित्यको सहारामा यथार्थको सौन्दर्यकरण गर्नु र सम्प्रेषणीय बनाउनु श्रमवादी कला–साहित्यको दायित्व र अपेक्षा हो । आजको संवेदनाले यथार्थको गीत गाएर मात्र सन्तुष्ट हुँदैन । तिनले सामाजिक पूर्णताप्रति इच्छा र उत्साह सिर्जना गर्न सक्नुपर्दछ । गोर्की भन्छन्, “श्रम संसार क्रान्तिको आवश्यकताको बोधसम्म पुगेको छ । साहित्यको कर्तव्य त्यसलाई सहायता गर्नु हो; जसले विद्रोहको झन्डा उठाएको छ । जति सफलतापूर्वक त्यो सहयोग गरिनेछ, त्यत्तिकै छिटो ‘डगमगाइरहेको स्वर्ग’ सधैँको लागि पतन हुनेछ ।” एक्काइसौँ शताब्दीको साहित्य र कला समाजवादी भूमण्डलीकरणको नीतिगत आलोकमा अगाडि बढेर मात्रै आफ्नो औचित्य र सार्थकता पुष्टि गर्न सक्नेछ; तब मात्र साँघुरिंदै गएको संवेदनालाई सुल्ट्याउन सकिएला ।

संवेदना आत्मगत पक्ष हो तर त्यसले मान्छेको भौतिक अवस्थामा प्रभाव पार्दछ र भौतिक विकासले संवेदनामा प्रभाव पार्दछ । श्रवण अङ्ग र मस्तिष्क नभएको भए मान्छेमा संवेदना हुँदैनथ्यो । माक्र्सको भनाइ छ “… मानिसको प्राकृतिक सत्तामा वस्तुगत समृद्धिको आत्मसात भएपछि (राम्ररी ग्रहण भएपछि) नै आत्मगत मानवीय संवेदना समृद्ध हुनेछ । जस्तो– सङ्गीतका निम्ति कान, कला–रूपका निम्ति आँखा त्यतिखेर मात्र पहिलोपटक प्रशिक्षित होलान् वा वस्तुतः निर्मित होलान् । सङ्क्षेपमा मानवीय आनन्द उपभोगका लायक इन्द्रियहरूको, मनुष्यका रूपमा, मनुष्यको सारभूत गुणहरूका रूपमा स्थापित इन्द्रियहरूको, त्यतिखेर नै पहिलोपटक विकास हुनेछ ।” माक्र्सको भनाइबाट के स्पष्ट हुन्छ भने इन्द्रियबोधको सीमा र स्तरले संवेदनात्मक पक्ष निर्धारण हुन्छ । संवेदना विशुद्ध आत्मगत विषय होइन । फरक–फरक भौतिक अवस्था र पृष्ठभूमिले संवेदनात्मक पक्षमा पनि फरक पार्दछ । चेतनाको गहिराइसँगै अनुभूति र संवेदनाको गहिराइ पनि निर्धारण हुँदै जान्छ ।

(स्रोत : समकालीन साहित्य र संस्कृति संस्कृति पुस्तकबाट)

आइत, साउन १९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य कला-साहित्य समाचार