होम एण्ड अबे दुबै खेल कुवेतमा नै गर्ने एन्फाको निर्णय, कार्य समिति बैठकबाट अनुमोदन हुन बाँकी


काठमाडौं, १५ साउन ।

अखिल नेपाल फुटबल संघ एन्फाले होम एण्ड अवे दुबै खेल कुवेतमै गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै नेपालले आसन्न विश्वकप फुटबलको दोस्रो चरणका सुरुवाती २ खेल कुबेतमै खेल्ने भएको छ ।

एन्फाको आपतकालिन बैठकले मैदानको अभावका कारण कुबेतसँगको होम एण्ड अबे दुबै खेल कुबेतमै खेल्ने निर्णय गरेको हो । यद्यपी उसको निर्णय कार्य समिती बैठकबाट भने अनुमोदन हुन बाँकी छ ।

निर्माणाधीन दशरथ रंगशाला खेल्न योग्य बनाउन समय लाग्ने तथा विकल्पमा अर्को मैदान पनि नभएकाले एन्फाले कुवेतसँगको होम एण्ड अवे दुबै खेल कुवेतमै गर्ने निर्णय गरेको हो ।

कुवेतसँग सेप्टेम्बर ५ का लागि तय गरिएको अवे खेलपछि नोभेम्बर १९ मा हुने होम खेल पनि कुबेतकै मैदानमा गर्ने निर्णय एन्फाको आपतकालिन बैठकले गरेको हो । त्यस्तै घरेलु मैदानमा तय गरिएको चाईनिज ताईपेई र जोर्डनबिरुद्धको खेल पनि कहाँ र कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

प्रवक्ता राईका अनुसार मैदान तयार नभएसम्म सुरुवातमा हुने होम म्याचको सट्टा अवे खेल खेलेर मैदानको निर्माणपछि घरेलु मैदानमा म्याच खेल्ने गरी अन्य मुलुकसँग छलफल भइरहेको छ ।

कुवेतसँगको खेलका लागि भने एएफसी र कुबेत फुटबल संघले पनि स्वीकृति प्रदान गरिसकेका छन् । अन्य मुलुकसँग पनि आवश्यक समन्वय भइरहेको एन्फाले जनाएको छ ।

बुध, साउन १५, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया