विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य प्रज्वलनलाई रिहा गर्न अदालतको आदेश


काभ्रे, ६ साउन ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी ताम्सालिङ इन्चार्ज विजय श्रेष्ठ ‘प्रज्वलन’लाई रिहा गर्न काभ्रे जिल्ला अदालतले आदेश दिएको छ ।

सोमबार भएको थुनछेकको बहसपछि अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो । गत जेठ १० गते ललितपुर जिल्ला अदालतको आदेशमा रिहा भएका नेता श्रेष्ठलाई प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरि काभ्रे पुर्याएको थियो ।

जिल्ला प्रहरी कार्यलय काभ्रेको हिरासतमा रहेका श्रेष्ठमाथि संगठित अपराध (आगो लगाएको) सम्बन्धि मुद्धा अभियोग लगाइएको थियो । सोहि मुद्धामा आज भएको बहसमा अदालतले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
बन्दीको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल लगायतले बहस गरेका थिए । यसअघि गिरफ्तारमा परेका ने.क.पा.का अन्य नेताहरु भने सोहि मुद्धामा बिना धरौटि रिहा भएका थिए ।

ने.क.पा.का स्थाइ समिति सदस्य तथा प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा ‘प्रकाण्ड’, पोलिटव्युरो सदस्यद्धय मोहन बहादुर कार्की ‘जीवन्त’, उमा भुजेल’शिलु’, केन्द्रीय सदस्य टेक बहादुर केसी’आजात’लाई समेत काभ्रे प्रहरीले सोहि अभियोग (संगठित अपराध सम्बन्धि मुद्धा) लगाईएको थियो ।

उक्त अभियोग पुष्टि हुन सक्ने कुनै आधार र कारण नभएको भन्दै सर्वोच्च अदालतले प्रकाण्डसहितका सबै नेताहरुलाई रिहा गर्न आदेश दिएको थियो । राजनीतिक पूर्वाग्रहकै कारण ने.क.पा.का नेताहरुलाई गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको मुद्धामा रिट जारी गरेको थियो ।

तर आज काभ्रे जिल्ला अदालतले भने नेता श्रेष्ठलाई धरौटिमा रिहा गर्न आदेश दिएको हो। आजको आदेश सँगै एउटै मुद्धामा सर्वोच्च अदालत र काभ्रे जिल्ला अदालतले फरक आदेश गरेको देखिएको छ ।

नेता श्रेष्ठलाई प्रहरीले गत चैत्र ८ गते काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र डाँडापारिको खानीखोलाबाट पार्टीका स्थाई समिति सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन)सँगै गिरफ्तार गरेको थियो ।

उनीहरुलाई हातहतियार तथा खरखजना, राजद्रोह, संगठित अपराध र विस्फोटक पदार्थ सम्बन्धी अभियोग लगाईएकोमा ललितपुर जिल्ला अदालतले जेठ १० गते केन्द्रीय सदस्य श्रेष्ठसहित चार जनालाई साधारण तारेखमा रिहा गरेको थियो । रिहा भएकामध्ये नेता श्रेष्ठ अदालत परिसरबाटै पुनः गिरफ्तारमा परेका थिए । नेता सुदर्शन भने नख्खु कारागारमा पूर्पक्षका लागि थुनामा छन् ।

सोम, साउन ६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया