सरकारविरुद्ध आन्दोलन चर्काउने देउवाको चेतावनी


काठमाडौं ६ साउन ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिनुभएको छ । सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धि विधेयक परिमार्जन नगरे संसद बैठक नै अवरुद्ध पार्ने पार्टीको अडान पनि दोहोर्याउनु भएको छ ।

विपी जयन्तिको अवसर पारेर सहीद स्मृति प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाले सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहे आफ्नो पार्टी सडक आन्दोलनमा जान बाध्य हुने पनि स्पष्ट पार्नुभएको हो ।
सभापति देउवाले विपी कोइरालाले मुलुकको राष्ट्रियता र सामाजवादका लागि प्रजातन्त्रलाई अनिवार्य सर्तका रुपमा अघि सारेको उल्लेख गर्दै सोही मान्यताबाट अघि बढदा मात्रै मुलुकमा समृद्धि आउने विश्वास पनि व्यक्त गर्नुभएको छ । त्यस अवसरमा सभापति देउवाले विपी कोइरालाको बहुआयामिक व्यक्तित्वको पनि चर्चा गर्नुभएको छ ।

यस्तै देउवाले सरकारले ल्याउन लागेको दूरसञ्चारसम्बन्धी विधेयकमार्फत् टेलिफोन प्रयोगकर्तामाथि गर्न लागिएको कडाइप्रति आपत्ति जनाउनु भएको छ । टेलिफोनबाट गाली बेइज्जती गरे कारबाही गर्ने बहाना बनाएर सरकारले नागरिकको गोपनियताको हक माथि धावा बोल्न लागेको आरोप लगाउनु भयो ।

कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले विपी कोइरालाले कम्युनिष्टहरुको अधिनायकवादी शासनविरुद्ध प्रजातान्त्रिक समाजवादी विचारधारालाई अघि सारेको बताउनु भयो ।

सोम, साउन ६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया