वडा केन्द्र तोकेपछि मुगुमा झडप,  घाइतेलाई हेलिकप्‍टरबाट नेपालगञ्‍ज पुर्याइयाे


मुगु, २९ असार । 

खत्याड गाउँपालिकाको पाँचौ गाउँसभाको बहुमतले वडा केन्द्र तोकेपछि असन्तुष्ट पक्ष र अर्को पक्षबीच झडप भएको छ। साे क्रममा खत्याड गाउँपालिका ७ कि ३२ वर्षीया गाउँ कार्यपालिका सदस्य उम्मकला भियाल र वडा नम्बर ४ का कार्यालय सहयोगी २८ वर्षिय गणेश थापा घाइते भएका छन् ।

निर्णय आफनो पक्षमा नभएको भन्दै असन्तुष्ट पक्षले विरोध गरेपछि झडप भएको हो। झडपमा दुई जना घाइते भएका छन्।

खत्याड गाउँपालिकाको पाँचौ गाउँसभालले गाँउपालिकाको ३, ६, ७, ९ र १० वडाको वडा केन्द्र स्थापना गर्ने  प्रस्ताव बहुमतबाट पास गरेको थियो। निर्णयमा असन्तोष जनाउँदै वडा नम्बर ३ रोलगाउँका युवाले गाउँपालिकाको सभा सञ्चालन भइरहेका बेला ढुङ्गामुढा गर्दा दुई पक्षबीच झडप भएको हो।

शनिबार पाँचौ गाउँसभाले वडा नम्बर ३, ६, ७, ९ र १० को वडा केन्द्र प्रस्तावित स्थानमा कायम गरिने  बहुमतबाट निर्णय गरेको थियो। घाइते दुबैजनालाई शनिबार खत्याड गाउँपालिका ४ माथिचौरमा रहेको निजी मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि आइतबार सिम्रिक एयरको हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको छ।

घटनामा संलग्नको खोजीका लागि इलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी नायव निरीक्षकको कमान्डमा ५ प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर ऐरले बताए।

आइत, असार २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया