बाढीपहिरो प्रभावितको उद्धार तथा राहत कार्य तीव्र: गृहमन्त्री


काठमाडौं, असार २९ ।
गृहमन्त्री रामबहादुर थापाले मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरो प्रभावितको उद्धार तथा राहत कार्य तीव्र रुपले भईरहेको बताउनु भएको छ ।

आज राज्य व्यवस्था समितिको बैठकमा सांसदहरुले बाढी प्रभावितहरुको उद्धार तथा राहत कार्यबारे जिज्ञासा राखेपछि गृहमन्त्री थापाले सम्पूर्ण स्रोत परिचालन गरी उद्धार तथा राहतका काम भइरहेको जानकारी दिनु भएको हो ।

उहाँले प्रभावितहरुको उद्धारको लागि तीनवटै सुरक्षा निकाय परिचालन भएको तथा हवाई, स्थल र जल मार्गबाट उद्धारको जारी रहेको बताउनुभयो । उहाँले प्रभावित र थप खतरामा रहेको क्षेत्रमा पूर्वसूचना प्रणाली सक्रिय बनाइएको, सामाजिक सञ्जाल र एसएमएसबाट जोखिमबारे जानकारी गराउने काम भइरहेको बताउनुभयो ।
गृहमन्त्री थापाले सर्लाही र रौतहटमा पानीको निकासका लागि विभिन्न उपाय अपनाइएकाले विस्तारै पानीको सतह घट्दै जाने बताउनुभयो । उहाँले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक सामाग्री पठाईसकिएको जानकारी समेत दिनुभयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुलाई जिल्ला दैवीप्रकोप समन्व्य समिति र स्थानीय समितिसँग समन्वय गरेर राहत वितरण गर्न निर्देशन दिइएको गृहमन्त्रीले बताउनुभयो । 000

आइत, असार २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया