मेडिकल कलेजको शैक्षिक र भौतिक अबस्था अनुसार शुल्क निर्धारण गर्नुपर्छ:  स्वास्थ्यमन्त्री यादव


काठमाडौं, असार २९ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द यादवले मेडिकल कलेजहरुको शैक्षिक र भौतिक अबस्था अनुसार शुल्क निर्धारण गरिनु पर्ने बताउनु भएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

सरकारले काठमाडौं उपत्यकाभित्रका सबै मेडिकल कलेजमा ३८ लाख ५० हजार र बाहिरका मेडिकल कलेजमा भने ४२ लाख शुल्क निर्धारण गरेको छ । स्वास्थ्यमन्त्री यादवले मेडिकल कलेजहरुको क्षमता अनुरुप सिट निधारण हुनु पर्ने भन्दै एउटा कलेजले १ सय भन्दा बढी विद्यार्थी पढाउन पाईदैन भनेर विद्यार्थी संख्या घटाउन नहुने समेत बताउनुभयो ।

उहाँले एमबीबीएस प्रवेश परीक्षा सबै मेडिकल कलेजहरुको संयुक्त रुपमा हुनु पर्ने भन्दै यसलाई प्रदेश तहमा पनि लैजानु पर्ने धारणा राख्नुभयो । चिकित्सा शिक्षा आयोग शिक्षा वा स्वास्थ्य कुन मन्त्रालय अन्तर्गत रहेको स्पष्ट पार्न सरकारलाई उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले लगानी नबढाइ सरकारी मेडिकल कलेजहरुले ७५ प्रतिशत छात्रवृत्ति दिने व्यवस्था लागु गराउन नसक्ने बताउनु भयो । कार्यक्रममा शुल्क निधारण,सिट निधारण लगायतका विषयमा भएका अध्ययन र सुझावहरु प्रस्तुत गरिएको थियो ।

आइत, असार २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया