पहिरोमा पुरिएर काठमाडौंमा तीन जनाको मृत्यु, सिंहदरवारको पर्खाल भत्कियो(फोटोसहित)


काठमाडौं, २७ असार ।
दुई दिनदेखि परेको अविरल वर्षाका कारण काठमाडौंमा ३ जनाको मृत्यु भएको छ । मुलपानीमा पहिरोले घर पुर्दा एकै परिवारको तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।
अहिले स्काभेटरको सहयोगमा पुरिएको शवलाई निकाल्ने काम भइरहेको उहाँले बताउनु भयो ।

काठमाडौंको ढुंगे अड्डामा रहेको होचो भागमा डुबानमा परेर ३ जना फसेका छन् । काठमाडौंमा ३ जनाको मृत्यु भएसँगै वर्षाका कारण मुलुकभर मृत्यु हुनेको संख्या ११ जना पुगेको छ ।
यता, लगातारको वर्षाले सिंहरदरबारको पर्खाल भत्किएको छ । स्थानीयले एक जना घाइते भएको बताएका छन् तर, प्रहरीले पुष्टि गरेको छैन ।


अनामनगरस्थित पूर्वीगेट नजिकै पर्खाल भत्किएको हो । पर्खाल भत्किँदा अनामनगर क्षेत्रमा केहीबेर सवारी आवागमन प्रभावित भएको थियो ।

सिंहदरबारभित्र भवन निर्माणका लागि जग खनेको माटो पर्खालसँगै थुपारिएको थियो । सोही माटोको भारले पर्खाल भत्किएको अनुमान गरिएको छ ।

शुक्र, असार २७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया