विपी प्रतिष्ठानका उपकुलपति डा. रौनियार ८ लाख घुससहित निवासबाटै रंगेहात पक्राउ


२६ असार, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार घुससहित रंगेहात पक्राउ परेका छन् ।  राजधानीबाट खटिएको अख्तियारको टोलीले उपकुलपति निवासबाट बिहीबार रौनियारद्वयलाई  ८ लाख घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

उनीसँगै डा. रामहरि रौनियारलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो ।

प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेपछि अख्तियारको टोली धरान पुगेको थियो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुलाई उपकुलपतिको निवास धरानबाट रंगेहात पक्राउ गरिएको हो ।

‘प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत दुई जनाले सेवाग्राहीसँग ८ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो’, कोइरालाले भने ।अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुमाथि अनुसन्धान सुरु भएको छ ।

अख्तियारले भनेको छ, ‘निजहरु प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारलाई सेवाग्राहीसँग रू.८,००,०००।– (आठ लाख) घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित कार्यालय परिसरस्थित निज उपकुलपतिको निवास, धरानबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भैरहेको छ ।’

यसअघि प्रतिष्ठानका सहकुलपति समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सिफारिसको आधारमा कुलपति एवं प्रधानमन्त्री केपी शर्माओलीले रौनियारलाई पदबाट हटाउने निर्णय गरेका थिए। यसअघि फागुन १६ र १७ गते बालुवाटारमा बसेको प्रतिष्ठानको संचालक समिति सिनेट बैठकले सर्बसम्मतिबाट प्रतिष्ठानका उपकुलपति पदबाट डा रौनियारलाई हटाउने निर्णय सिफारिस गर्ने निर्णय गरेको थियो। तर, उनी त्यो निर्णय विरुद्ध सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले उनलाई हटाउने निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

बिहि, असार २६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया