शिक्षामा सुधार नआएसम्म धेरै सदीक्षा र सलिनाले अनाहकमा जीवन गुमाउन बाध्य हुनेछन् – मीरा राजभण्डारी अमात्य


एसइइ परीक्षामा कम ग्रेड आएकोमा दुःखी हुंदै आत्म हत्या गरेकी दुई किशोरीहरु सदीक्षा पौडेल र सलिना ढकालका दुःखान्त कथाले हाल शैक्षिक क्षेत्रको नीति र परिवार समाजको मनोविज्ञान र परम्परालाई सोच्न बाध्य बनाएको छ । अर्को तर्फ निशव्द बनेको छ किशोहरुको जमात । कलकलाउंदो कोपिला र उदाउंदो सुर्य जे नाम दिनुस तर भविश्यका योग्य नागरिक, सफल छोरी र योग्य आमाहरुलाई अनाहकमा राज्य र परिवारले गुमाउनु परेको छ । तर संवेग र भावना विहिन राज्यका संयन्त्र र शैक्षिक नीतिहरु जस्ता अभौतिक संयन्त्रले सम्मवेग र भावनामा जिउने मर्ने मानव प्राणी ती नानीहरुका आमा परिवारहरु माथि परेको बज्रपातलाईे महशुस गर्न असमर्थ छ । नत यो क्षतिको परिपुर्ति हुने वा गर्ने कुनै माध्ययम नै छ ।

कुनै समय थियो जुनबेला म नेपालको इन्जिनियरिंग क्षेत्र संग सरोकार राख्ने निकायमा काम गर्थे । नेपालका वरीष्ठतम इन्जिनियरहरुको शैक्षिक योग्यता लगायतको नाली बेली राख्ने काम थियो । पुराना र तात्कालिन समयमा सचिव सरहको दर्जामा पुगी सकेका एक वरिष्ठ इन्जिनियरको प्रमाण पत्रमा एसएलसीमा तेश्रो दर्जा अर्थात पास मार्क देख्दा म अचम्ममा परें । खोज्दै जांदा थुप्रै त्यस्ता प्रमाण पत्र भेटें जुन पास मार्क अर्थात तेश्रो दर्जा र दोश्रो दर्जा लगायतको । ती नेपालका मात्र होइन अन्र्तराष्ट्रिय संगठनहरुसम्म आवद्ध भई काम गरी रहेका वरिष्ठ इन्जिनियरहरु समेत थिए । यो विषयमा मेरा तत्कालीन हाकिम जो सडक विभागका डिजी पद खाई सकी रिटार्यड अफिसर थिए संग प्रश्न गरें कसरी तेश्रो डिभिजन आउनेले पनि इन्जिनियरिंग पढ्न सके ? उहांको उत्तर थियो “एसएलसी होस वा अन्य कुनै परीक्षाको नम्बर वा ग्रेडले आगामी शिक्षाले कुनै प्रभाव पार्ने होइन, प्रभाव पार्ने त आत्म विश्वासले हो, नम्बर कम आउनु वा फेल हुनु ठुलो कुरा होइन, ठुलो कुरा त हिम्मत हो”

उहांको यो उत्तर सुनेपछि आफु एसएलसीमा दोश्रो श्रेणी आउंदा तैले अव आर्टस पढ्, इन्जिनियरिंग पढ्न सक्दैनस, प्राइभेट वा विदेशमा पढ्न पैसा कहांबाट ल्याउने जस्ता मेरो मनोवल गिराउने साथीहरु र केही आफन्तको टिप्पणी पश्चात आर्किटेक्चर इन्जिनियरिंग पढ्ने मेरो चाहना सदाको लागि सपना मात्र बनेको मेरो शैक्षिक इतिहासले मन दुखायो । मलाई याद छ, जव पद्मकन्या कलेजमा आइए पढ्न शुरु गरें बाटामा ड्राफट गर्ने टीसेट व्यागमा पछाडी बोकदै साइृकल चढेर इनिजीनियरिंग क्याम्पस तिर जांदै गरेका विद्यार्थीहरुलाई फर्कि फर्कि हेर्थे । त्यसपछिको छनोट भयो भुगोल विषय किनकि कमसेकम त्यसमा टीसेट चलाउनु र भवन लगायतका केही नक्सा बनाउनु पथ्र्यो, संन्तोष त्यसैमा गरें । कथा एक मेरो ।

दोश्रो कथा । भखरै आइए दोश्रो वर्षको परिक्षा सकेको खुशियालीमा रमाईलो मनाई रहेको दिनहरु थिए । परिक्षा सकेपछि साथीहरुसंग बाकलो भेटघाट हुन्थ्यो । विशेष काठमाडौ बाहिरका साथीहरु डेरामा बस्ने र फ्रि हुन्थे । हाम्रो पहिलो प्राथमिकता ती साथीहरुकोमा जाने लिष्टमा पथ्र्यो । यसै क्रममा विराटनगरकी चीज कुमारी (थर भुलें) जो धोबी खोला तिर बस्थिन, भेट्न गयौं । दिनभर जुनेलो, मकै, घरकै घिउ हालेको रोटी तीलको छोप चाख्यौं, घरबाट ल्याएको भन्दै मिठा गुलिया अम्बा खान र कोसेली समेत हाली दिईन चीजले । दिनभर रमाईलो गरी हामी फक्यौं । उनको बानी संधै हास्नु पर्ने, रमाइली चीज कुमारी चीजकै थिइन् ।

परीक्षा फल प्रकासित भयो । म फेरी दोश्रो श्रेणीमा पास भएं । परीक्षाफल प्रकासित भएको केही दिन पछि कलेजमा हल्ला फैलियो कि चीज कुमारीले आत्म हत्या गरिन, कारण फेल हुनु । दोश्रो बर्षको परीक्षामा नेपाल परिचय एक विषयमा उनी फेल भएकि रहिछिन् , के गरेको चीज यस्तो ? आफनो सुसाइट नोटमा उनले लेखेकी रहिछिन् “मीरा, पुष्पा सव पास भए होलान्, म मात्र …. । घर संगैको अम्बाको बोटमा झुण्डेर आफनो देह त्याग गरेकी हाम्री सखिलाई मात्र फेल हुनुको दुःख थियो । शायद मलाई कोशेली पठाएको अम्बा त्यही बोटको थियो होला जसले उसको किशोरी प्राण ह¥यो । यस्तै सोच्दै कैयो दिन सम्म चिजको सम्झना आई रह्यो, सवै साथी दुखी थियौ । अहिले जस्ता क्याम्पसहरुमा खादा र शोक सभा गर्ने चलन त्यो बेला थिएन । विस्तारै हामीले चीजलाई विस्र्यौं । त्यो घटना संधै सम्झेर दुःखी हुने चीज पनि थिएन ।

तेश्रो कथा हामीसंग पदमकन्या स्कुल पढ्ने साथी सेन्टअप (दश कक्षा ) परीक्षामा असफल भईन् । एक वर्षपछि एसएलसी उत्तीर्ण दोश्रो श्रेणिमा गरे पश्चात उनले संस्कृति इतिहास लिएर पढिन् प्रमाणपत्र तहमा । पछि उनका आफन्तले अमेरिकामा पढ्ने व्यवस्था मिलाई दिए । अमेरिका पुगेपछि उनको सोच बदलियो । उनले कम्पयुटर साईन्स पढिन् र नेपाल फर्किन । अहिले उनी आईटी अफिसर छिन् महिनामा लाखौं कमाउछिन् नेपालमै ।

यी तीन वास्तविक कथा घटना प्रंसंगले हाम्रो समाजको व्यवहार र मनोविज्ञानले मानिसको आत्म विश्वास र जीवनको दायरालाई कत्तिको प्रभाव पर्छ भन्ने प्रमाणित गरेको छ । फेरी प्रसंग हालै एसइइ परीक्षामा कम ग्रेड आएकोमा दुःखी हुंदै आत्म हत्या गरेकी दुई किशोरीहरु सदीक्षा पौडेल र सलिना ढकालका दुःखान्त कथा । यो दुःखान्त कथा र्सिजित गर्न र हुन हाम्रो सामजिक र पारिवारीक मनोविज्ञानको दोष पहिलो नम्बरमा परेको देख्छु म । स्कुलहरुमा १० कक्षा पुग्ने वितिक्कै अभिभावक र स्कुल दुवले होस्टलमा बन्दी कैदीलाई जस्तै थुनेर जवरजस्ति पढाइमा तनाव दिने काम गर्छन् केही स्कुललाई छोडेर । एक त एसइइ दिने विद्यार्थी किशोरावस्थाका हुन्छन् । किशोरावस्थाका मनोविज्ञान अत्यन्त जटील हुन्छ, शाररिक र मानसिक हिसावले । थप आफनो शैक्षिक भविश्यका लागि उनीहरु आफै पनि तनावमा हुने गर्छन । अभिभावक चाहन्छ आफना नानीहरुले परीक्षामा उत्कृष्टता हासील गरुन् । स्कुल चाहन्छन् उनका सवै विद्यार्थीले उत्कृष्ट नम्बर ल्याउन् स्कुलको साख बनोस, आगामी दिनमा बढी भन्दा बढी विद्यार्थी आउन स्कुल भर्ना होउन् । यसरी एउटा निरिह किशोर किशोरीको योग्यता क्षमता कति छ, उसको मानसिक हालत कस्तो छ भन्ने सोच र अध्ययन विवेक राख्नु भन्दा उसले हासील गर्ने परिक्षाको प्राप्तांकले अभिभावक र स्कुलका इज्जत बेइज्जत र आर्थिक कारोवारसंग सरोकार राख्ने हुन्छ ।

विद्यार्थीको हकमा संगैका साथीको परीक्षामा प्राप्त गरेको माकर्, उनीहरुले पाई रहेका र नपाई रहेका भौतिक आवश्यक पुर्वाधारहरु कम्प्युटर लगायतले पनि उनीहरुको मनोबल बलियो वा कमजोर बनाई रहने हुन्छ । किनकि सवै अभिभावक ती पुर्वाधार दिन असमर्थ हुन्छन् ) । अर्को थप म देख्छु आफु पप्लु खेलेर समय बिताउने, नानीकै अगाडी टिभी सिरियल हेरेर समय कटाउने अनि नानीहरुलाई पढेन भनेर हकार्ने थुप्रै आमा बुबाहरुलाई छोरा छोरीहरु डिस्टिंक्शन ल्याएको हेर्न चाहन्छन् वा नल्याएकोमा सराप्छन् ।

अन्तमा, शिक्षा शक्ति हो । आफु शक्तिशाली हुन फरक जीवन जिउन र अरुका जीवन बदल्न शिक्षाको जरुरत रहन्छ । शिक्षा आर्जनको फिलोसफी वा दर्षंण विज्ञान यसरी परिभाषित छ । हरेक अभिभावक आफनो जीवन असहज संघर्षमय भएको कारण आफना नानीहरुको जीवन आफनो भन्दा सहज र अनुकुल तथा स्तरीय होउन् भन्ने चाहन्छन् । अभिभावकको आफना सन्तानको जीवन प्रति यो जीवन दर्शन रहनु गलत पनि होइन । तर फरक के हो भने समय अनुसार संसारको माग बजार र शिक्षाको दायरा पनि फरक फरक हुंदै गई रहेको बारे अभिभावक वर्ग र वर्तमान पुस्ताको बुझाई र ज्ञान वा नलेज फरक हुन्छ ।

हिजोका दिनमा डाक्टर कम थिए । उनीहरुको बजारमा माग र राज्यले दिने स्तर र सम्मान फरक थियो । तर अहिले डाक्टर वा इन्जिनियर र शिक्षक जस्ता पेशामात्र सम्मानित वा स्तरीय मानिदैन । अहिले हरेक पेशाको महत्व आफनै छ र हरेक पेशा संग अन्य पेशाहरु टीम वर्क को रुपमा परिभाषित हुन्छ । जस्तो अस्पतालमा डाक्टरको भुमिका र अस्पताल संयन्त्र चलाउने व्युरोक्रेसी वा कर्मचारी संयन्त्रको त्यतिकै महत्व रहन्छ । राज्य सरकार चलाउन हरेक पेशाको आवश्यकता रहन्छ । तसर्थ हरेक शिक्षाको महत्व राज्य संचालनका लागि खास अर्थ राख्दछ । त्यसैले परीक्षामा खास ग्रेड ल्याउनेले खास विषय पढ्ने र भविश्यमा खास पेशा गर्न पाउने जस्ता परम्परागत मानसिकता अव त्याग्न आवश्यक हुन्छ विद्यार्थीले, अभिभावकले र शिक्षक तथा शैक्षिक संस्थाले । होइन भने विगतमा चीज कुमारी र वर्तमानमा सदिक्षा र सलिनाहरुले अनाहकमा कलकलाउंदो जीवन गुमाउन बाध्य हुने छन् ।

बिहि, असार २६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया