पौडेलको हत्या प्रकरणमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रतिपक्षीद्धारा संसद अबरुद्ध


काठमाडाैं, असार २५ ।
नेपाल कम्युनिष्ट पार्टिका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने नगर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षी दलबीच सहमती जुटन नसक्दा प्रतिनिधि सभाको आजको बैठक पनि प्रभावित भएको छ ।

पौडेलको मृत्यु प्रहरीसँगको भिडन्तमा नभई प्रहरिले गोलीहानि हत्या भएको दाबी गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपा नेपालले संसदीय छानबिनको माग गर्दै आएका छन् ।

दिउँसो एक बजेका लागि बोलाईएको आजको बैठक झण्डै साढे एक घण्टा ढिला गरी सुरु भएपनि प्रतिपक्षी कांग्रेस र राजपा नेताहरुले बेल घेराउ गर्दै नाराबाजी गरेका थिए । नाराबाजीका बीच सभामुख कृष्णबहादुर महराले प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई राष्ट्रिय सभाबाट प्राप्त सन्देश सुनाउन समय दिनुभएको थियो ।

सचिव योगीले नाराबाजीका बीच सन्देश सुनाएपछि सभामुख महराले आगामी सोमबारसम्मका लागि बैठक स्थगित गर्नुभयो । संसदको कार्यव्यवस्था समितिको बैठकमा प्रतिपक्षी दलले संसदले नै छानबिन समिति गठन गर्नुपर्ने अडान दोर्होयाएका थिए ।

प्रतिपक्षीको मागमा असहमति जनाउँदै सत्तापक्षका सांसदले छानविनको जिम्मा संसदीय समितिलाई दिनुपर्ने बताउँदै आएका छन् । दलहरुबीच सहमति हुन नसकेपछि प्रतिनिधि सभाको बैठक आज दोस्रो दिनपनि प्रभावित भएको हो ।

संसदको राज्य व्यवस्था समिति घटनाबारे छानबिन गर्दै प्रहरीसँगको भिडन्तमै पौडेलको मृत्यु भएको निष्कर्ष निकालेको थियो । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको हिजोको बैठकलाई सम्बोधन गर्दै भिडन्तमै पौडेलको मृत्यु भएको बताएपनि उहाँले संसदमा झुट बोलेको भन्दै प्रतिपक्षी दलले रोष्ट्रम घेराउ गर्दै विरोध गरेका थिए ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा कृष्णबहादुर महराले प्रतिपक्षी दलको मागबारे छलफल गर्दै सहमतिको प्रयास जारी राखेपनि संसद बैठक अवरुद्ध नगर्न आग्रह गर्नुभएको थियो ।

यसैबीच, संघीय संसदले आगामी आर्थिक वर्षको पूर्ण बजेट पारित गरेको छ । प्रतिनिधि सभामा सचिव योगीले बजेट आश्रित चारै वटा विधेयक राष्ट्रियसभाबाट पारित भएको सूचना प्रस्तुत गरेसँगै आर्थिक वर्ष सुरु हुन एक साता बाँकी हुँदै पूर्ण बजेट पारित भएको हो ।

प्रतिनिधि सभाले पारित गरेर पठाएको विनियोजन, आर्थिक, राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत तेईसौं संशोधन विधेयक राष्ट्रिय सभाले बिना संशोधन पारित गरेको थियो ।

बुध, असार २५, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter