पौडेल हत्या प्रकरण: संसदीय छानविन समिति बनाउन काग्रेसको माग, नेकपाले मानेन- गृहमन्त्रीले दिए यस्तो जवाफ


२४ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाहि इन्चार्ज कुमार पौडेलको हत्या प्रकरणबारे छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गरेको छ ।
तर गृहमन्त्रीले घटनाबारे सुरक्षा निकायबाट भएको कमजोरीलाई ढाकछोप गरेको भन्दै प्रतिपक्षी दलले समिति गठनको माग गरेपनि
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले असहमति जनाएको छ ।
दलहरुबीच सहमति नजुटेपछि आजको संसद बैठक सूचना टाँसेर स्थगित भयो । आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सर्लाही घटनाबारे जानकारी गराउदैँ पौडेलको मृत्यु प्रहरीसँग भिडन्तमा भएको र सरोजनारायण यादवलाई हवाई फायर गर्दा गोली लागेको बताए । तर गृहमन्त्रीको जवाफमा चित्त नबुझेको भन्दै कांग्रेस र राजपाले संसदीय छानबिन समिति गठन गर्न माग गरेका हुन् ।

सभामुख कृष्णबहादुर महराले आफू सकारात्मक रहेको तर सबै दलसँग परामर्श गरेर निर्णय लिने बताए । सभामुखले रुलिङ गर्नुपर्ने माग गर्दै दुबै दलले रोष्टम घेराउ गरेपछि संसद स्थगित गरेर सभामुखले दलहरुसँग छुट्टाछुट्टै र सामूहिक छलफल गरेका थिए । संयुक्त छलफलमा नेकपाका प्रतिनिधिहरुले सर्लाही घटनामा संसदीय छाननविन समिति बनाउनुपर्ने अवस्था बनिनसकेको तर्क गरेका छन् ।
‘कुमार पौडेललाई नियन्त्रणमा लिएर गोली हानेको जस्तो देखिन्छ । उनको हात भाँच्चिएको छ । त्यस्तो हातले कसरी फायर गर्छ ? अर्को घटनामा पनि एलएलआरबाटै गोली चलाएको स्वयं गृहमन्त्रीले स्वीकार गर्नु भएको छ’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले भने, ‘तर गृहमन्त्रीले एकतर्फी कुरा मात्र राख्नु भयो र कमजोरी ढाकछोप गर्नुभयो । त्यसैले संसदीय समिति चाहिने देखियो ।’

उनले अघि भने, ‘सत्तारुढ दल नेकपाका प्रतिनिधिहरुले संसदीय समिति बनाउनुपर्ने अवस्था बनिसकेको छैन भन्नुभयो । त्यसैले आज सहमति जुट्न सकेन ।’
बैठकमा कानुनमन्त्री भानभक्त ढकालका साथै नेकपा प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी र सांसद कृष्णभक्त पोखरेल सहभागी भएका थिए ।

लोकतन्त्रको रक्षा गर्न गोली चल्योः गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा बादलले लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाहीमा प्रहरीले फायरिङ गर्दा कुमार पौडेलको मृत्यु भएको स्पष्टिकरण दिएका छन् ।

पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको दाबी गर्दै कांग्रेसले सरकारको जवाफ मागेपछि आज गृहमन्त्रीले सो जवाफ दिएका हुन् । पौडेलको ५ असारमा सर्लाहीमा प्रहरीले गोली प्रहारबाट मारिएका थिए ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि प्रमुख सचेतक पुष्पा भुसालले सर्लाही घटनाबारे छानविन गर्न माग गरिन् ।
लगत्तै गृहमन्त्री थापाले सदनलाई जवाफ दिए । राज्य व्यवस्था समितिको निर्देशनपछि बनेको छानविन समितिले समेत पौडेलको मृत्यु दोहोरो भिडन्तमा भएको रिपोर्ट बुझाएको मन्त्री थापाले बताए ।
पौडेलले मिस फायरिङ गरेको र प्रहरीको जवाफी कारबाही गर्दा उनको मृत्यु भएको गृहमन्त्रीले बताए । तर, सांसदहरुले पौडेलको हात भाच्चिएको भन्दै त्यस्तो हातले कसरी गोली चलायो भन्ने प्रश्न गरे । जवाफमा गृहमन्त्री थापाले त्यसबारे कुनै जवाफ नदिई शान्ति सुरक्षा कायम गर्ने र लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाही घटना घटेको बताए ।
यसैवीच, गृहमन्त्रीको अभिव्यक्तिप्रति प्रमुख विपक्षी कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसका प्रमुख सचेतक बालृकष्ण खाँडले लोकतन्त्रको रक्षाका लागि गोली चलाइयो भन्नु आपत्तिजनक भएको बताए ।

मङ्ल, असार २४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter