एसीसी यू १९ इस्टर्न रिजन क्रिकेटः नेपालले आयोजक मलेसियाको सामना गर्ने


काठमाडौं, २१ असार ।

एसीसी यू १९ इस्टर्न रिजन क्रिकेटको सेमिफाइनलमा नेपालले सोमवार आयोजक मलेसियाको सामना गर्ने भएको छ ।

समूह ’ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपालले समूह ’बी’ को उपविजेता मलेसियासँग खेल्ने भएको हो ।

प्रतियोगिता अन्तर्गत आज समूह ’बी’ को अन्तिम लिग खेलमा हङकङसँग ३ रनले पराजित भएपछि मलेसियाले नेपालसँगको भेट पक्का गरेको हो ।

नेपाल शुक्रबार सिंगापुरलाई पराजित गर्दै समूह विजेता बनेको थियो । नेपालले २ खेलबाट ४ अंक जोडेको थियो । २ अंक जोडेको सिंगापुर उपविजेता बनेको थियो ।

यस समूहबाट हङकङ विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । हङकङले सेमिफाइनलमा उपविजेता सिंगापुरसँग खेल्नेछ । यस समूहबाट भुटान र थाइल्याण्ड समूह चरणबाट बाहिरियो ।

यस्तै नेपालको समूहबाट चीनले समूह चरण पार गर्न सकेनन ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा हङकङले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको मलेसिया ४९ ओभर १ बलमा अलआउट हुँदै १६९ रनमा समेटियो ।

यसअघि हङकङले ५० ओभरमा ९ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

शनि, असार २१, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया