बीपी प्रतिष्ठानको उपकुलपति र रेक्टरको कार्यालय प्रवेश गर्ने मुल चेनगेटमा नै तालाबन्दी


असार १२, सुनसरी ।

जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति र रेक्टरको कार्यालयमा तालाबन्दी लगाएको छ ।

चिकित्साशास्त्रको स्नातकोत्तर (एमडिएमएस) को कोटामा विदेशी विद्यार्थीलाई बढी प्राथमिकता दिएर सिट छुट्याएको भन्दै सोसाइटीले उपकुलपति प्रा डा राजकुमार रौनियार र शिक्षाध्यक्ष प्रा डा गुरु खनालको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

प्रतिष्ठान व्यवस्थापन पक्षलाई विदेशी कोटामाथि पुनरावलोकन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएलगतै सोसाइटीले उपकुलपति र रेक्टरको कार्यालय प्रवेश गर्ने मुल चेनगेटमा नै तालाबन्दी गरेको हो ।

तालाबन्दी गरेर धर्नामा बसेका उनीहरुले आकर्षक विभागहरु मेडिसिन, सर्जरी, इएनटी र पेडियाट्रिक्सको स्नातकोत्तर तहमा नेपाली विद्यार्थीको कोटा बढी हुनु पर्नेमा विदेशी कोटा बढी छुट्याइयोले आन्दोलनमा उत्रनुपरेको बताएका छन् ।

सोसाइटीका अध्यक्ष डा.कविराज पौडेलले स्नातकोत्तर तहका आकर्षक विभागमा विभागमा विदेशी दक्ष चिकित्सक उत्पादन गरेर नेपालीलाई फाइदा नभएकोले उक्त निर्णयको पुनरावलोकन गर्न प्रतिष्ठानलाई आग्रह गरेपनि वेवास्ता गरेकाले तालाबन्दी गरेर धर्नामा बसेको बताउनु भयो ।

सबै विभागको सिट संख्यालाई एकिकृत मानेर कुल सिट संख्याको एक तिहाई भन्दा कम सिटमा मात्र विदेशी विद्यार्थी कोटा छुट्याएपनि सोसाइटीले प्रत्येक विभागको सिट संख्यालाई कुल सिट मानेर नेपाली र विदेशी कोटा छुट्याउनु माग गरेको छ ।

उता प्रतिष्ठानले भने ऐनले भने बमोजिम नै कुल सिट संख्याको एक तिहाईभन्दा कम सिट संख्या विदेशीलाई छुट्याएको दाबी गर्दै आएको छ ।

चिकित्सा ऐनको परिच्छेद ६, दफा १७ को उपदफा ५ मा ‘स्नातक तथा स्नातकोत्तर तहका लागि तोकिएको कुल सीट संख्यामध्ये विदेशी विद्यार्थीको संख्यामध्ये विदेशी विद्यार्थीको संख्या एक तिहाई भन्दा बढी हुने छैन’ भन्ने व्यवस्थालाई प्रतिष्ठानले पालना गरेको जनाएको छ ।

कुल १२४ सिटमा विदेशी कोटामा मात्र २६ सिट छुट्याइएको छ । उर्तीण भएका विद्यार्थीहरुको आउँदो सोमबार काउन्सिलिङ गर्ने प्रतिष्ठानको तयारी छ ।

आन्दोलनरत जुनियर रेसिडेन्टहरु तथा विद्यार्थीहरुले भने कुल सिट संख्याको नभइ प्रत्येक विभाग (बिषय) को एक तिहाई सिट मात्र विदेशीलाई हुनुपर्ने माग गरेका छन् ।

यस्तै नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षा आयोगलाई पत्र काट्दै त्यहाँको विवाद सुल्झाउन भनेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हालै लिएको पी.जी प्रवेश परीक्षाको प्रकाशित सूचनामा तोकिएको सिट संख्यामा विदेशी नागरिक कोटाको विषयलाई काउन्सिलमा विभिन्न जनगुनासो आएको पत्रमा उल्लेख छ ।

‘प्ररीक्षाको प्रकाशित सूचना चिकित्सा शिक्षा ऐनले तोकेको व्यवस्था अनुसार भए नभएको सम्बन्धित आयोगले प्रतिष्ठानसँग निक्र्यौल गरी सो बमोजिम निर्देशन दिनुहुन काउन्सिल विनम्र अनुरोध गर्दछ’, पत्रमा भनिएको छ ।

यता, प्रतिष्ठान पदाधिकारीहरुले भने संस्थालाई धरासायी बनाउने नियतले गतल हल्ला फैलाइरहेको दाबी गरेका छन् ।

उपकुलपति डा.राजकुमार रौनियारले सरकारले चिकित्सक र कर्मचारीको तलब खर्च उपलब्ध गराउने हो भने विदेशी कोटा नछुट्याई सबै निःशुल्क नेपाली कोटा छुट्याउन तयार भएको बताउनुभयो ।

बिहि, असार १२, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य स्वास्थ्य समाचार

Like us On Facebook

Follow Us On Twitter