कीर्तिपुरबाट गिरफ्तार अखिल (क्रान्तिकारी)की नेतृ सर्वोच्चको आदेशमा रिहा


काठमाडौं, २ असार ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)की नेतृ सन्ध्यादेवी पुन ’सपना’ सर्वोच्चको आदेशमा सोमबार रिहा भएकी छन् ।

राजधानीको त्रिचन्द्र कलेजमा मानवीय संकाश तेस्रो वर्षमा अध्ययनरत २३ वर्षीया नेतृ ’सपना’लाई गएको जेठ १७ गते काठमाडौंको कीर्तिपुरस्थित जनसेवा मावि नजिकबाट बाटोमा हिँडिरहेको अवस्थामा सादा पोशाकका प्रहरीले गिरफ्तार गरेको थियो । रुकुमको बाफिकोट गाउँपालिका वडा नम्बर २ घर भएकी उनलाई सोधपुछका लागि भन्दै गिफ्तार गरिएको थियो ।

पछि काठमाडौं जिल्लाबाट म्याद थप गरी उनलाई महानगरीय प्रहरी परिसर टेकु राखिएको थियो । तर ठाँटीकाँध गाउँपालिका १ का दैलेखका उमेश विकले नेतृ सपनालाई गृह प्रशासनको निर्देशनमा प्रहरीले बिनाकारण आस्था र विचारकै आधारमा पक्राउ गरी गैरन्यायिक तरिकाले प्रहरी हिरासतमा राखेको भन्दै तत्काल रिहाईको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेका थिए ।

सोही रिट निवेदनमाथि आइतबार र सोमबारको बहसपछि न्यायाधिस कुमार रेग्मी र ईश्वर खतिवडाको संयुक्त इजलासले नेतृ सपनालाई बिना आधार र ठोस प्रमाणबिना हिरासतमा बन्दी बनाइएको ठहर गर्दै तत्काल रिहा गर्न आदेश दिएपछि आजै रिहा भएकी हुन् ।
रिट निवेदनका विपक्षी बनाइएका जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो आइतबार म्याद थपको लिखित कारण नपठाएपछि आज मात्र बहस सकिएको हो । जेठ २९ मा सर्वोच्चले रिटका विपक्षी गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी प्रधान कार्यालय नक्साल, टेकु परिसर लगायतलाई पक्राउ गर्नाका कारण ३ दिनभित्र लिखित रुपमा पेश गर्न आदेश दिएको थियो ।

सोम, असार २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter