विप्लव निकट अखिल (क्रान्तिकारी)का विद्यार्थी नेता रिहा गर्न मसालको माग


काठमाण्डौं, २९ जेठ ।
नेकपा(मसाल)ले कास्कीबाट गिरफ्तार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेकोछ ।

मसाल प्रवक्ता रामप्रकाश पुरीले आज विज्ञप्ति जारी गरी यही जेष्ठ २६ गते कास्कीको अन्नपूर्ण गाउँपालिकामा बैठक बसिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेका सबै नेताहरुको रिहाईके माग गरेका हुन् ।

शान्तिपूर्ण रुपमा बैठक गरिरहेका बिद्यार्थी नेताहरुलाई राजनीतिक वैचारीक आधारमा नै गिरफ्तार गरेको भन्दै मसालले आपत्ति समेत जनाएको छ ।
प्रवक्ता पुरीले शान्तिपुर्ण रुपमा भेला भएका विद्यार्थीहरुलाई गिरफ्तार गरेर सरकारले प्रजातान्त्रिक मूल्य, मान्यता तथा संविधानको उल्लंघन गरेको बताएका छन् ।

सरकारले संवैधानीक अधिकारमाथि हस्तक्षेप गरेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण रुपमा भेला भई आफ्ना राजनीतिक गतिविधि गर्न पाउने अधिकार नेपालको संविधानमा व्यवस्था भएको मौलिक अधिकारभित्रको कुरा हो ।

नेकपा मसालले सरकारलाई मानवअधिकार र मौलिक अधिकारहरुको सम्मान गर्न अपिल गर्दै गिरफ्तार विद्यार्थीहरुलाई तत्काल रिहा गर्न पनि आग्रह गरेको छ । प्रहरीले कास्कीबाट ने.क.पा.का कास्की सेक्रेटरी आक्रोश सहित संगठनका सचिवालय सदस्य तथा भेरी ब्युरो संयोजक पुष्प न्यौपाने, गण्डक ब्युरो संयोजक मिलन राई, केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष मदन चन्द, केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला अध्यक्ष प्रेम शाही, केन्द्रीय सदस्य तथा धादिङ जिल्ला अध्यक्ष अटल पाण्डे, केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, कैलाली जिल्ला अध्यक्ष बबरजंगसिंह, पृथ्वीनारायण क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला, पर्सा जिल्ला अध्यक्ष राधेश्याम साह, बारा जिल्ला अध्यक्ष भुपती साह, मुगु जिल्ला संयोजक नरसुर बुमी, पिएन जिल्ला उपाध्यक्ष आस्था नेपाली लगायतलाई गिरफ्तार गरेको थियो ।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया