‘बिरामीलाई निजी अस्पतालमा लाने प्रवृत्ति रोक्न माग’


काठमाण्डौ २९ जेठ ।
प्रतिनिधिसभाका सांसदहले बिरामीलाई सरकारीबाट निजी अस्पतालमा लाने प्रवृत्ति रोक्न सरकारसंग माग गरेका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा सांसदहरुले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न पुगेका बिरामीलाई त्यहाँ कार्यरत चिकित्सकले निजी अस्पतालमा र्पुयाउने प्रवृत्ति बढेकामा पनि चिन्ता व्यक्त गरेका छन ।

यस्तो प्रवृत्तिले सरकारी अस्पतालको खिल्ली उठाएको भन्दै सांसदहरुले तत्काल अस्पतालभित्रको विकृति अन्त्य गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

यसैगरी सुदूरपश्चिमका विभिन्न जिल्लाका हावाहुरीका पीडितलाई अहिलेसम्म राहत पुुग्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराउँदै तत्काल राहत तथा पुनःस्थापनाका कार्यक्रम ल्याउन समेत माग गरेका छन् ।

त्यस्तै सांसदहरुले गल्छी–रसुवागढी सडक प्रभावितले अहिलेसम्म मुआब्जा नपाएको र काठमाण्डौ उपत्यकाका सडक विस्तारमा ढिलाइ भएको तर्फ सरकारको ध्यानाकर्षण गराएका छन । साथै बैठकको विशेष समयमा सांसदहरुले लोकसेवा आयोगबाट प्रकाशित कर्मचारी भर्नासम्बन्धी विज्ञापन रोक्ने संसदीय समितिको निर्देशनपछि सरकारको धारणा पनि मागेका छन् ।

सांसदहरुले प्रदेश लोकसेवा आयोग गठनमा ध्यान दिन सरकारलाई सुझाव दिँदै आयोगको विज्ञापन समावेशी र समानुपातिक बनाउन सुझाव दिएका छन । सांसदहरुले प्रधानमन्त्रीको यूरोप भ्रमणका बारेमा सदनलाई जानकारी दिन सरकारको ध्यानाकर्षण गराएका छन ।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया