टिपरको ठक्करबाट पत्रकार नन्दबहादुर गेलांङको मृत्यु, घटनाको छानविन गरी दोषीमाथि कारबाही गर्न पत्रकार महासंघको माग


काठमाडौं, २९ जेठ ।
सुर्खेतमा टिपरको ठक्कराबाट पत्रकार नन्दबहादुर गेलाङ्गको मृत्यु भएको छ । आज सुर्खेतको भेरीगंगा नगरपालिका–८ लोदेमा टिपरको ठक्करबाट नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव गेलांङको मृत्यु भएको हो ।

रुकुम पश्चिमबाट आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले छिन्चुदेखि मेहलकुनातर्फ जाँदै गरेका पत्रकार गेलाङ्ग सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिनुभएको छ ।

प्रहरीको प्रारम्भीक अनुसन्धानबाट आफ्नो साइडमा गुडिरहेको मोटरसाइकललाई टिपरले ठक्कर दिएको र ठक्कर लगत्तै ब्याक गरेर किचेको हुनसक्ने प्रहरीको भनाइ छ । टिपर चालक भने फरार रहेको भन्दै खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

सुर्खेत पहिचान दैनिकका सम्पादक समेत रहेका उनी पत्रिकाको काम विशेषले मेहलकुना जाने क्रममा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।

यसैबीच, नेपाल पत्रकार महासंघले गेलांङको सवारी दुर्घटनामा निधन भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले बुधवार बिज्ञप्ति जारी गरी उक्त घटनाको सत्य–तथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न समेत माग गरेका छन् ।

साथै पीडित परिवारलाई क्षतिपूर्ति दिन पनि सम्बन्धित निकायसँग महासंघले माग गरेको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव गेलाङको सवारी दुर्घटनामा निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ जारी विज्ञप्तीमा भनिएको छ ।
महासंघले स्वर्गीय गेलाङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना समेत गरेको छ । साथै शोककूल परिवारजनमा गहिरो समवेदना व्यक्त पनि गरेको छ ।

डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका गेलाङ सुर्खेतबाट प्रकाशित हाम्रो पहिचान दैनिकका सम्पादक÷प्रकाशक स्वर्गीय गेलाङका श्रीमती र एक छोरी छन् ।

यस्तै नेपाल पत्रकार महासंघ प्रदेश कर्णाली प्रदेश समितिले पनि पत्रकार गेलाङको निधनप्रति दुःख व्यक्त गर्दै घटनाको निश्पक्ष छानविन गरी दोषीलाई कार्वाहि गर्न माग गरेको छ ।

 

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter