सरकारको नेतृत्व आलोपालो नै हुन्छ: प्रचण्ड

क्रिकेट रंगशाला निर्माणमा सरकारले सहयोग गर्ने


काठमाडौं, जेठ २९ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व आलोपालो नै हुने बताउनु भएको छ । आज चितवन पुग्नु भएका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व सहमति अनुसार आलोपालो हुने प्रतिक्रिया दिनुभएको हो ।

सोही क्रममा उहाँले पार्टी्भित्र पर्याप्त छलफल नगरी विधेयकहरु ल्याइएकाले विरोधको सामना गर्नुपरेको बताउनुभयो । विधेयकको सन्दर्भमा आवश्यक गृहकार्य नपुगेको भन्दै उहाँले यसबारे सरकार र पार्टी सतर्क भएको बताउनुभयो ।

उहाँले लोकसेवाको कर्मचारी भर्ना प्रक्रियाबारे संसदीय समितिले एक खालको निर्णय गरेको बताउँदै प्रधानमन्त्री फर्किएपछि छलफल गरेर सकारात्मक ढंगले टुंग्याउने बताउनुभयो ।

गुठी विधेयकका सन्दर्भमा भने आन्दोलनरत पक्षसँग वार्ता, छलफल गरी परिमार्जन गरिने उहाँले स्पष्ट पार्नूभयो । भरतपुर महानगरपालिका–१६ मा बन्न लागेको क्रिकेट रंगशाला देशकै गौरवको आयोजना भएकाले केही उल्झन, साना–मसिना समस्या आउने बताउँदै सबैसँग सहमति, छलफलबाट टुंगो लगाइने उहाँको भनाइ थियो

प्रचण्डले गौतम बुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशाला निर्माणमा सरकारले आवश्यक सहयोग गर्ने पनि बताउनुभयो । उहाँले गौरवका ठूला आयोजना सम्पन्न गराउन प्रोत्साहन गर्ने भनेर सरकारले नीतिगत रुपमा नै व्यवस्था गरिसकेकाले निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयाे । उहाँले भन्नुभयाे, ‘ठूला आयोजना सम्पन्न गराउने क्रममा सहयोग संकलन जे जति उठ्छ, त्यतिले नपुगे सरकारले सहयोग गर्छ ।’

‘केही साना समस्या आउँछन्, तर विचलित नभईकन अगाडि बढ्नुपर्छ, चाँडै अगाडि बढाउने छलफल भइसकेको छ’ अध्यक्ष प्रचण्डले भन्नुभयाे। उहाँले यस्ता आयोजनाले मुलुकको समृद्धिमा सहयोग पुग्ने भएकाले आआप्mनो स्थानबाट सकेको सहयोग गर्न सबैलाई आग्रह पनि गर्नुभयाे ।

 

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार