विरोध प्रदर्शनमा प्रहरी दमनबारे काग्रेसले गृहमन्त्रीको जवाफ मागेपछि प्रतिनिधिसभाको बैठक नै स्थगित


काठमाडौं, २७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सोमबार मध्यान्ह १२ बजेर ५ मा १५ मिनेटका लागि स्थगित बैठक मंगलबार बिहान ११ बजे बोलाइएको छ ।
कांग्रेसले आइतबार गुठी विधेयकको विरोधमा माइतीघरमण्डलमा भएको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरेको भन्दै गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गरेको थियो ।
सभामुख कृष्णबहादुर महराले गृहमन्त्री आएपछि जवाफ दिन समय दिने गरी पटक पटक बैठक चलाउन खोजेपनि संविधानबमोजिम गरिएको शान्तिपूर्ण विरोधमा भएको दमनको यथार्थ विवरण नआएसम्म बैठक अघि बढ्न नसक्ने कांग्रेसको अडान पछि बैठक भोलीसम्मका लागि स्थगित गरिएको हो ।
प्रमुख प्रतिपक्षी दलले नमानेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको थियो । निर्धा्रित समयमा गृहमन्त्री जवाफ दिन आउन नसक्ने भएपछि मंगलबारसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ ।
सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची थियो ।

सोम, जेष्ठ २७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter