सडक पेटिको बास भएकाको सारथी बन्दै प्रहरी, उद्धारपछि पारिवारिक पुनर्मिलन र पुनरस्थापना अभियान सन्चालन


काठमाडौं, २१ जेठ ।

वर्षाको झरी होस वा प्रचण्ड गर्मी, पुसमाघको चिसो मौसम होस वा काठमाडौंको धुलोधुँवा, कलिलो तथा वुढ्यौली उमेर त्यसमाथि खुला आकाशमुनीको कहर सँहदै बस्न कस्लाई पो मन लाग्ला र ! तैपनि काठमाडौंका सडक किनारा, कुनाकाप्चा, फोहोरको छेउछाउ क्षेत्रमा कतिपय बालबालिका, असक्त, असहाय र वृद्धवृद्धाहरू कठिन अवस्थामा बस्न वाध्य छन् । यस्तो दृश्यले कस्को मन चसक्क नछोला ! आफ्नै वाध्यताले काभ्रेका रमेश तामाङ (नाम परिवर्तन) ५० वर्षको उमेरमा यस्तै निष्ठुरी सडकमा बास बस्न आइपुगे । गत वर्षको दशैं आउन लाग्दा उनी निकै खुशी थिए । तर दशैं मनाउन नपाउँदै घर छोड्न वाध्य भएपछि उनको जीवन भयानक निराशामा वद्लियो । रमेश जस्तै वाध्यतामा पर्नेहरू अन्य धेरै छन् ।

गत माघमा सडकमा फेला परेको एक वेवारिसे शवको अनुसन्धानको क्रममा सडक नजिकै पेटीमा बसेका तामाङलाई प्रहरीले फेला पार्‍यो । ‘मलाई आफ्नै परिवारले ठगे । सबैको हेलाहोचो कति सहनु ! अब यही सडकबाहेक मेरो कुनै ओत लाग्ने ठाउँ नै छैन,’ तामाङले भने । आफ्नै घरपरिवारको तिखो वचन र तिरस्कार खप्न नसकेर उनले सडक रोजेको उनको भनाईबाट प्रष्ट हुन्छ । प्रहरीले उद्धार गरेपछि एक बृद्धाश्रममा पुनर्स्थापना गरिएका उनी अहिले खुशी छन् ।

२०७५ पुस १ देखि माघ १६ गतेसम्म ४५ दिनभित्रको अवधिमा खुला आकाशमुनी बस्दै आएका वृद्धवृद्धामध्ये २५ जना मृत अवस्थामा भेटिए । निमोनिया तथा फोक्सोको संक्रमण र चिसोको कारण अधिकांशको मृत्यु भएको पोष्टमार्टम रिपोर्टबाट पुष्टी भएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा घटनास्थल पुग्ने प्रहरीलाई यस्तो हृदयविदारक घटनाले नछुने कुरै भएन । जसको कारण समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस्ता वृद्धवृद्धा, रोगी, सडक बालबालिका एवम् असहायको उद्दारमा प्रहरी जुट्यो ।

प्रहरी उद्धार कार्यमा जुटसकेपछि २०७५ पुस १८ देखि माघ १७ गतेसम्म १ महिनाको अवधिमा मात्रै १ सय ८१ जनालाई प्रहरीले उद्धार गर्‍यो । तीमध्ये १ सय ३५ जना पुरूष र १९ जना महिला गरी जम्मा १ सय ५४ जना वृद्धवृद्धा रहेका छन् भने उद्धारकै क्रममा २० जना किशोर र ७ जना किशोरी गरी जम्मा २७ जना किशोरकिशोरीको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये १ सय २४ जना मानव सेवा आश्रम वुढानिलकण्ठ, १३ जना हिमाली वृद्धआश्रम गोंगबु र ८ जनालाई वरिष्ठ नागरिक समाज सोह्रखुट्टेमा लगि पुनर्स्थापना गरियो भने २७ जना किशोरकिशोरीलाई सोभर रिकभरी सेन्टरमा पुनर्स्थापना गरियो । उद्धार गरिएका ९ जना वृद्धलाई आफ्नै घरपरिवारको जिम्मा लगाइएको छ । यसरी उद्धार गरिएका व्यक्तिहरू १६ देखि ८२ वर्षसम्मका छन् ।

काठमाडौं भृकुटीमण्डपस्थित बालबालिका खोजतलास समन्वय केन्द्रको तथ्याङ्क अनुसार चालू आवको १० महिनाको अवधिमा २ सय ७१ जना बालक र १ सय ३८ जना बालिका गरी जम्मा ४ सय ९ जना बालबालिका वेवारिसे अवस्थामा फेला परेका छन् । तीमध्ये १ सय ४८ जना बालक र ८१ जना बालिका गरी जम्मा २ सय २९ जनालाई पारिवारिक पुनर्मिलन गराइयो । १ सय २३ जना बालक र ५७ जना बालिका गरी १ सय ८० जना बालबालिकालाई बाल संरक्षणगृहमा राखियो ।

चिसो सडक, खुला आकाश, खानेपिउने समस्या, लुगाफाटोको साथै स्वास्थ्य सुविधाको अभावको कारण सडकमा रात विताउनेहरूको जीवन जोखिममा रहन्छ । यस्ता मानिसहरूलाई मानवियताको आधारमा उद्दार गरी पुनर्स्थापना गर्न आवश्यक देखियो र यस कार्यलाई नेपाल प्रहरीले अभियानकै रुपमा संचालन गर्‍यो । अभियानबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता/सूचना अधिकारी प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल भन्नुहुन्छ, ‘नागरिकको जीवन र अधिकार रक्षाको काम गर्ने प्रहरी संगठनले यस्तो दु:खमा परेका नागरिकको बाँच्न पाउने अधिकारको संरक्षण गर्नुपर्छ भन्ने उद्धेश्यले अभियान थालिएको हो । यसले केही उपलब्धी हासिल गरेको छ  । भावी दिनमा पनि अभियानलाई निरन्तरता दिन्छौं ।’

सडक, मन्दिर पेटी र भत्केका संरचनामुनी कष्टकर जीवन बिताउनु मान्छेको रहर होइन । वाध्यतामा परेका यस्ता असहायको उद्दार गर्नु मानवीय कार्य हो । यस्ता उद्दारबाट एकातर्फ मानवीय सेवा र असहायलाई राहत त हुन्छ नै । अर्कोतर्फ राजधानीको सडक व्यबस्थापनको साथै सडक मर्यादा कायम र सभ्यता प्रदर्शन गर्न टेवा पुग्छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत थालनी गरिएका काममध्ये यो पनि एउटा सराहनीय काम हो । सडकमा बस्न वाध्य हुनुको कारण, उद्दारको उद्देश्य र प्राप्त उपलब्धीबारे प्रहरी नायब महानिरीक्षक पोखरेल भन्नुहुन्छ, ‘विपन्नता, परिवारसँग बेमेल र सामाजिक पीडाको कारण केही मानिस सडकमा आउने गरेको पाइएको छ । यस्तो अवस्था आउन नदिन र आएकाहरुको संरक्षण गर्ने उद्देश्यले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतना फैलाउने, घरमै सम्मान गर्ने र बाँच्ने वातावरण सिर्जना गर्न प्रहरी सक्रिय छ । यसका लागि राज्य, आमनागरिक र प्रहरीले एउटै योजनाकासाथ काम गरेमा थप उपलब्धी हासिल हुन्छ ।’

खुला आकाशमा कसैको वेवारिसे जीवन र मरण नहोस् । ओत नपाएकाले बास पाओस् । कसैको पीडा र व्यथाको अन्त्य होस् । प्रहरी, स्थानीय तह, सरोकारवाला, सङ्घसंस्थाको साथै आमनागरिकले अपनत्वको महसुस गरुन् । दीगो रुपमा मानवीय सेवाको पुन्य कार्यले निरन्तरता पाओस् । नेपाल प्रहरीको ध्येय यही हो । यस सम्बन्धमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी भन्नुहुन्छ, ‘बालबालिका, वृद्धवृद्धा, रोगी, वेसहारा भएर मान्छेहरू सडकमा आएको पाइएपछि उद्धारमा लागिएको हो । सामाजिक विकृति र घरायसी कारणबाट यस्ता समस्या उब्जिने गरेका छन् । समस्या समाधानका लागि स्थानीय सरकार, विभिन्न सामाजिक सङ्घसंस्थाको सहयोगमा उद्धार गर्ने र पुनर्स्थापना गर्ने गर्दछौं । खाद्यान्न, लत्ताकपडा लगायतको व्यवस्थापनमा पनि हाम्रो सहयोग रहन्छ । ठूलो शहर र धेरै जनघनत्वको कारण एकैपटक पुरै समस्या समाधान हुन कठिन भए पनि विस्तारै समाधानका लागि अभियानलाई निरन्तरता दिँदै जानेछौं ।’

यो अभियानमा लायन्स क्लव अफ काठमाडौं, जिल्ला रेडक्रस काठमाडौं, पशुपति क्षेत्र विकास कोष र महानगरीय प्रहरी परिसर काठमाडौंका साथै थुप्रै आश्रम लगायत सामाजिक सङ्घसंस्थाहरूको साझेरदारिता छ । जसबाट उनीहरूका लागि खाद्यान्न, नगद, लत्ताकपडा, साबुनपानी लगायत दैनिक उपभोग्य सामाग्री व्यवस्थापनमा सहयोग जुटेको छ । नेपाल प्रहरी अस्पतालबाट स्वास्थ्य जाँच र केही औषधी ब्यवस्थापनमा सहयोग पुगेको छ ।

कुनै पनि समस्याको दीर्घकालीन व्यवस्थापन हुनुपर्छ । यसका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको सहकार्य, समन्वय र साझेदारी आवश्यक छ । घर फर्कन प्रोत्साहनका लागि परामर्श गर्ने र सडकमा बस्दा हुने नकारात्मक असरबारे सम्झाउनेतर्फ ध्यान जानुपर्छ । मागी खाने पेशा बनाउनेलाई कानुनी दायरामा ल्याउन पहल जरूरी छ, जसका लागि प्रहरी सक्रिय छ ।

यसरी विविध कारण सडकमा आएका व्यक्तिहरूलाई यस अभियानले सघाएको छ । पुनर्स्थापनापछि उनीहरू सामान्य जीवनमा फर्कने छन् । आफ्नो उत्पादनशील कर्ममा लाग्न योग्य हुनेछन् । ‘अव मेरो जीवनले नयाँ मोड लिन्छ,’ रमेश तामाङले उत्साहित भएर भने, ‘यस्तो पुनित कामका लागि प्रहरीलाई धन्यवाद छ ।’

मङ्ल, जेष्ठ २१, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया