जेठ १९ अर्थात दरवार हत्याकाण्ड: बत्ति निभेकाे त्याे कहालिलाग्दाे रात


शुक्रबारको दिन बिहानैदेखि चर्को घाम लागेको थियो। २०५८ जेठ १९ गते बिहान आठ बजे सधैं झैं महाराजाधिराज सरकार ‘मर्निङ वाक’ मा निस्किबक्स्यो। त्यस दिन मौसुफको अनुहार अवसादले ढाकेजस्तो अलि अँध्यारो देखिन्थ्यो। लाग्थ्यो, कुनै किसिमको वलिष्ठ बोझ झेल्नु परिरहेको छ। शिष्टाचारले मिल्दो हो त म ‘के भयो सरकार’ भनी सोध्ने थिएँ। तर म त फगत एउटा पाश्र्ववर्ती मात्र न थिएँ ! मनमनै नियालें मात्र।

वीरेन्द्र सरकार दुई घण्टासम्म केही नबोली दरबारभित्र टहलिबक्स्यो। सरकार सामान्यतया कमै बोल्ने स्वभावका भए पनि अरू बेला केही न केही कुराकानी भइहाल्थ्यो। त्यस दिन त्यस्तो भएन। हामी चुपचाप हिँडिरह्यौं।

दुई घण्टाको हिँडाइपछि मौसुफ नारायणहिटी दरबारको पूर्वी भागमा रहेको ‘इन्डोर स्विमिङ पुल’ भित्र पसिबक्स्यो। सरकार शान्त तलाउमा मतापले तैरिँदा पानीका तरंगहरू उठे र बिलाए। दैनिक तालिकाअनुसार ११ बजे महाराजाधिराज पानीबाट बाहिर निक्लिबक्स्यो। मेरो ‘सिफ्ट’ पनि सकियो। मैले आफ्नो ‘ड्युटी’ टीका धमला जर्साबलाई बुझाएर निस्किएँ।

मध्य दिनमा घाम चर्किंदै गयो। दरबारबाट निस्किएर म नजिकैको भाटभटेनी सुपर मार्केटमा गएँ। मेरी पत्नी जानुका पनि त्यहीं आएकी थिइन्। मैले एउटा शीतल खालको सेतो सर्ट र एउटा हाफ पाइन्ट किनें। किनमेल सकेर हामी सीधै भक्तपुर घर गयौं। केहीबेर वि श्राम गरेर साँझ ६ः३० बजे फेरि दरबार फर्किएँ।

प्रमुख शाही पाश्र्ववर्तीका हैसियतमा बिहान झैं त्यस रात पनि म महाराजाधिराजको सुरक्षामा खटिएको थिएँ। मंगल सदनमा सवारी रहेछ। बेलुकाको ‘सिफ्ट’ साँझ सात बजेबाट सुरु हुन्थ्यो। मैले दिउँसो खटिनुभएका टीका धमला जर्साबबाटै ड्युटी जिम्मा लिएँ। ‘आज सरकारको सवारी कहाँ छ ? ’ काम सकेर जान लागेका एडीसीलाई सोध्ने चलन थियो। टीका जर्साबले भन्नुभयो, ‘त्रिभुवन सदनमा शुक्रबारे पार्टी छ। खटनपटन सबै भइसक्यो। अफिसपछि त्यहीं गइबक्सन्छ।’

हरेक महिनाको तेस्रो शुक्रबार दरबारमा एउटा पारिवारिक पार्टी आयोजना गर्ने गरिएको थियो। त्यो प्रायः नियमित रूपमा हुने गरेकाले खासै नयाँ कुरा थिएन। आमन्त्रित हुनेको सूची लगभग उही हुन्थ्यो। पहिला यस्ता पार्टी दरबारकै पूर्वी भागसँग जोडिएको त्रिशूल सदनमा आयोजना गरिन्थ्यो। दुई वर्षयताचाहिँ ज्यादाजसो युवराजाधिराजको निवास त्रिभुवन सदनको फराकिलो हलमा हुने गरेको थियो।

अचेल मेरो मनमा कहिलेकाहीं सोचाइ आउँछ— त्यो साँझको पार्टी त्रिशूल सदनमै गरिएको भए इतिहासको रथ सायद अर्कै ढंगबाट घुम्थ्यो कि ! पछि त्यहाँ जे अनिष्ट भयो, त्यसबाट जोगिन सकिन्थ्यो कि ! किनभने त्रिशूल सदनभित्र राजालाई भेट्न छिर्नुअघि परिवारकै सदस्यसमेत अंगरक्षकहरूबाट गुज्रिनुपथ्र्याे। युवराजको त्रिभुवन सदनमा चाहिँ त्यस्तो व्यवस्था थिएन। एडीसी कक्ष अलि बाहिर थियो, युवराजको खोपी अर्कोतर्फ। त्यहाँ भित्रभित्रबाटै आउजाउ गर्न सकिन्थ्यो।

सामान्यतया महाराज मंगल सदनस्थित आफ्नो कार्यालयमा राति नौ बजेसम्म काम गरिबक्सन्थ्यो। तर त्यस दिन ८ः३५ बजेतिर बाहिरिबक्स्यो। सरकारको साथमा सधैं झैं स्याम्सोनाइट कम्पनीको खैरो रङको ब्रिफकेस थियो, जसलाई हामी ‘अफिस ब्याग’ भन्थ्यौं। त्यो ब्यागभित्र के हुन्थ्यो, ठ्याक्क त थाहा हुन्थेन। तर सुनेअनुसार केही पैसा, कागजपत्र, पाइप पिउने सामग्री र एउटा सानो पिस्तोल राखिएको हुन्थ्यो।

मंगल सदन र त्रिभुवन सदनबीचको दूरी एक सय ५० मिटरजति छ। सरकारले उही सजिलो परिधान पहिरिबक्सेको थियो— सेतो कमिज सुरुवाल, वेस्ट कोट र खोल्दा–लाउँदा च्यार्रच्यार्र गर्ने फित्तावाल चप्पल। सरकार अघिअघि हिँडिबक्स्यो, सदा झैं छायाजस्तो बनेर मैले पछ्याइरहें।

हिँड्दै गर्दा महाराजाधिराजका पाइला अचानक रोकिए। म पनि पछाडि थामिएँ। सरकारले मास्तिर बिजुलीको खम्बातिर नजर फर्काइबक्स्यो। अनि मर्जी भयो, ‘यहाँको बत्ती किन बलेन ?       दीपेन्द्रको एडीसीलाई तुरुन्त खबर गर।’

त्रिभुवन सदन जाने बाटोका बत्तीहरू ठाउँठाउँमा बलेका थिएनन्। त्यो युवराजको निवासस्थान रहेको क्षेत्रमा पथ्र्यो। त्यसको मर्मत–सम्भारका लागि त्यतैको प्रशासनले अग्रसरता लिनुपर्ने हुन्थ्यो। के भएर त्यस रात त्यहाँका बत्ती निभेका थिए, मलाई थाहा भएन। महाराजाधिराज स्वयम्ले त्यसमा चासो देखाइबक्सेपछि मैले तदनुसारै मुन्टो हल्लाएँ र भनें, ‘हस् सरकार।’

त्यस क्षण मैले दीपेन्द्र सरकारको निवासबाहिर बत्ती जानुलाई कुनै आश्चर्यका रूपमा लिइनँ। अहिले फर्केर हेर्दा त्यहाँको अनपेक्षित अँध्यारोले केही भनिरहेको थियो। केही मिनेटपछि आउन लागेको अनिष्टको पूर्वसूचक बन्यो त्यो। उज्यालो दीपेन्द्र सरकारको आवास क्षेत्रमा होइन, राजपरिवारको जीवनबाटै जान लागेको रहेछ !

मैले सरकारको सवारी त्रिभुवन सदनको भुईंतलामा बिलियर्ड हलको अघिल्तिर मुमा बडामहारानी रत्न बसिबक्सेको कोठाको ढोकासम्म चलाएँ। अनि सोधें, ‘ब्याग के गरौं सरकार ? ’ सरकारबाट हुकुम भयो, ‘अर्दलीलाई देऊ !’ म त्यो खैरो ब्रिफकेस लिएर अलिकति वर रहेको त्रिभुवन सदनको एडीसी अफिसतिर लागें। अनि फोन गरेर मौसुफका निजी सहायक श्रीबहादुर बुढाथोकीलाई सरकारको ब्याग लिन आऊ भनें। श्रीबहादुर आइनपुग्दै त्रिभुवन सदनलाई अनिष्टको अँध्यारोले छोपिसकेको रहेछ। सम्भवतः महाराजको पिस्तोल पनि त्यही ब्यागमै रह्यो।

सरकार भित्र सवारी भएपछि शाही पाश्र्ववर्तीहरू बाहिरै बस्नुपथ्र्यो। भित्र जान, हेर्न पाइन्नथ्यो। केही पर्‍यो भने आन्तरिक फोनबाट बोलाउने गरिन्थ्यो। त्यो नारायणहिटीको पर्खालभित्र युवराजाधिराजको निवासस्थानमा पर्ने भएकाले बाहिरी सुरक्षा–खतरा थिएन। बाहिर छहारीमा सैनिक, प्रहरी र शाही रक्षक वाहिनीका जवानको पहरेदारी हुन्थ्यो।

सरकार दरबारका यस्ता आन्तरिक कार्यक्रममा भित्रिएपछि हामी एडीसी कार्यालयमा बसेर अन्य काम गर्न थाल्थ्यौं। आउने हप्ताको तयारीका साथै आवश्यक लेखपढ गर्ने समय यसै बेला जुथ्र्याे। त्यो गर्दागर्दै पनि चनाखो नजर भने हामीले लगाइरहेका हुन्थ्यौं।

म त्रिभुवन सदनको एडीसी कार्यालयभित्र पस्दा दीपेन्द्र सरकारका एडीसी गजेन्द्र बोहरा बसिरहेका थिए। मैले उनलाई बाहिर लगेर त्रिभुवन सदनअगाडि बिग्रेका सडक बत्तीहरू देखाएँ र महाराजाधिराजको हुकुम सुनाउँदै भनें, ‘यो तुरुन्त मर्मत गराइहाल।’

कोठामा फर्किएर हामी आआफ्ना कुर्सीमा बस्यौं। ‘सर, हेर्नुहोस् त’, गजेन्द्रले कम्प्युटर स्क्रिनतर्फ इसारा गर्दै देखाए। त्यहाँ मान्छेहरूको टाउको काटेर पर्खालमा राखिएको भयानक दृश्य थियो। इन्डोनेसियाको साम्पित क्षेत्रमा चलिरहेको जातीय हिंसाका क्रममा ठूलो नरसंहार भएको रहेछ। मैले त्यो हृदयविदारक तस्बिर धेरैबेर हेरिरहन सकिनँ। गजेन्द्रलाई ‘यस्तो नदेखाऊ है’ भन्दै आफ्नो डेस्कतिर फर्किएँ। कस्तो विचित्रको संयोग ! केहीबेरमा आफ्नै छेउमा दर्दनाक घटना हुन लागेको रहेछ।

आइतबार महाराजाधिराजसमक्ष मेरो नियमित जाहेरी भएकाले त्यसको केही तयारी गर्नु थियो। आउँदो साता राजासँग दर्शनभेट गर्न कोको आउँदै छन् भन्ने सूची पनि तयार पार्नु थियो। जेठ २४ गते रारा महोत्सवको समुद्घाटन गर्न राजा सवारी हुने भएकाले त्यसको चाँजोपाँजो मिलाउनु थियो। राजाका निजी सचिव सुदन पोखरेलसँग टेलिफोनमा त्यसबारे छलफल पनि गरें।

करिब ९ः०५ बजेको हुँदो हो, सचिव पोखरेलसँग कुराकानी सकेर सवारीका निम्ति हेलिकप्टरको समन्वय गर्न पाइलटलाई फोन गर्न खोज्दै थिएँ, सिसाको ढोका हल्लिएजस्तो थर्थराहटले मेरो ध्यान भंग गर्‍यो। मैले गजेन्द्रलाई भनें, ‘के आवाज आयो यस्तो, हेर त।’

गजेन्द्र बाहिर निस्किए। सिसाको झ्यालबाट बिलियर्ड हलभित्र हेर्दा त धीरेन्द्र सरकार ढलिरहेको देखेछन्। उनले आत्तिँदै सुनाए, ‘सर, धीरेन्द्र सरकार ढलिबक्स्योे, लौ बर्बाद भयो।’

घटनास्थल र एडीसी अफिस छुट्टाछुट्टै भवनमा रहेको, ढोकाहरू लागेका र ठूलाठूला आवाज निकाल्ने पुराना एयरकन्डिसनरहरू चलिरहेका कारण सुरुमा गोलीको आवाज अनौठो सुनिएको रहेछ। गजेन्द्रले ढोका खोल्नासाथ स्वचालित बन्दुक चलेको गोलीको परर्र आवाज प्रस्टै सुनियो।

‘गन ल्याऊ’, मैले चिच्याउँदै गजेन्द्रलाई भनें। हामीसँग पिस्तोल मात्र थिए। एउटा एमपी– ५ सब–मेसिनगन बाहिर दीपेन्द्र सरकारको गाडीमा थियो। युवराज अक्सर ‘एस्कर्टिङ’ बिनै बाहिरफेर निस्कने हुनाले मौसुफको मोटरमा त्यो राख्ने गरिएको थियो। गजेन्द्रलाई त्यो हतियार झिक्न पठाएको, उनीचाहिँ त्यता नगई ‘सपोर्ट’ खोज्न सेनाको ब्यारेकतिर लागेछन्।

गजेन्द्रले सुरुमा ढोका खोल्दा गोलीसँगै ‘डाक्टर चाँडो बोलाऊ !’ भन्ने स्त्री–स्वर सुनिएको थियो। यसरी चिच्याउने मानिस सम्भवतः बडामहारानी होइबक्सन्थ्यो। मैले शाही चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठलाई मोबाइलबाट ‘एसओएस कल’ गर्न खोजें, सम्पर्क भएन। अनि तुरुन्तै इन्टरकमको ‘वन टच बटन’ मा थिचेर फाइटिङ फोर्सलाई खबर गरें, ‘त्रिभुवन सदनमा गोली चल्यो, तुरुन्त सपोर्ट पठाऊ।’

शाही रक्षक सैनिक प्रहरीको ब्यारेक त्रिभुवन सदनबाट करिब पाँच सय मिटरको दूरीमै थियो। ‘सपोर्ट पठाऊ’ भनेर म जवाफसमेत नपर्खी बाहिरतिर हुर्रिएँ। स्वचालित हतियार नियन्त्रण गर्न स्वचालित हतियारै चाहिन्थ्यो। तर गजेन्द्रले अटोमेटिक हतियार ल्याउलान् भनेर पर्खिरहने समय थिएन, म आफ्नो ‘होल्स्टर’ मा रहेको पिस्तोल निकाल्दै बिलियर्ड हलतिर दगुरिहालें।

दगुर्दै जाँदा झ्यालबाट मेरा आँखा हलभित्र सरर्र पुगे, मान्छे पूरै सोत्तर भएर लडेको देखें। बिलियर्ड टेबलनजिक वीरेन्द्र सरकारको शरीर समातेर पूर्वअधिराजकुमार धीरेन्द्रका ज्वाइँ डा. राजीव शाही बस्नुभएको थियो। त्यहाँ छिर्ने एउटै मात्र ढोका पूर्वतिर थियो, प्यासेजपट्टि अलिकति घुमेर जानुपथ्र्यो म दगुर्दै भित्र पुग्दा केही क्षणअघि मात्र देखिएका डा. शाही त्यहाँ हुनुहुन्नथ्यो।

त्यसबेला हलको बाहिरपट्टि गोली चल्दै थियो। हलभित्र पुग्दा भएभरका मानिस भुइँमा लडेको देखें। त्यो रगताम्मे माहोलमा सुरुमा त तिरिमिरी भयो। तर तत्कालै आफूलाई सम्हालें। कोको लडे र कसलाई केके भयो भनेर सोच्ने–हेर्ने समय थिएन। एकएक सेकेन्डको महŒव थियो। मेरो ध्यान महाराजाधिराजतिर मात्र केन्द्रित थियो। लडेका मानिसलाई नाघ्दै म सरकार भएको ठाउँमा पुगें। सरकारलाई गोली लागेको प्रस्ट भइसकेको थियो। बिलियर्ड टेबलनजिक भुइँमा ढलेका राजालाई कसरी बाहिर निकाल्ने र अस्पताल लैजाने भन्ने मेरा लागि मुख्य चुनौती बन्यो।

अंगरक्षकहरूको सिद्धान्तअनुसार आपत्कालीन अवस्थामा भीभीआईपीलाई सुरक्षित स्थानमा लैजानु नै पहिलो कर्तव्य हो। गोली नलागेको भए मौसुफलाई म आक्रमणकारीबाट जोगाएर महाराजगन्जस्थित भैरवनाथ गणमा लैजान्थें होला। त्यो मैले काम गरिसकेको कमान्डो किल्ला हो, हत्यारा छिर्न सक्दैनथ्यो। तर महाराजलाई गोली लागिसकेको अवस्थामा हत्याराको खोजीमा दगुर्नुभन्दा जतिसक्दो छिटो अस्पताल लैजानु मेरो दायित्व हुन गयो। मैले हातको पिस्तोल फटाफट होल्स्टरमा राखें र महाराजलाई बोक्न खोजें। तर एक्लैले जतनसाथ उचाल्न र बाहिर मोटरसम्म पुर्‍याउन सम्भव देखिएन।

बिलियर्ड हलबाहिर पूर्वतिर बगैंचा छ, त्यताबाट गोलीको आवाज आइरहेको थियो। गोली कसले चलाएको हो, मैले देखेको थिइनँ। यो संहार कसले गरिरहेको हो, त्यो पनि थाहा थिएन। गोली हान्ने एकजना हो कि धेरैजना, त्यो पनि प्रस्ट थिएन। महाराजाधिराजलाई मूल ढोकाबाट निकाल्दा हत्यारासँग जम्काभेट हुन सक्ने र थप क्षति हुन सक्ने सम्भावना ज्यूँका त्यूँ थियो। हमलाकारी काम फत्ते भए–नभएको निश्चय गर्न वा राजालाई फेरि गोली हान्न पनि फर्कन सक्थ्यो।

भित्र छिर्दा मैले गोली नलागेको अवस्थामा राजीव शाहीबाहेक शाहज्यादा पारसलाई पनि देखेको थिएँ— एउटा गोलो सोफामा मुन्टो निहुर्‍याए बसिरहेको। नशाले लठ्ठिएको हाउभाउ देखिन्थ्यो। अलि अस्पष्ट लबजका साथ हात हल्लाउँदै बाहिर जाऊ भनेर इसारा गरेजस्तो लाग्यो। तर के भनेको हो सुन्न सकिनँ। सुन्ने समय पनि थिएन।

गोली चलिरहेको बेला राजालाई मूल द्वारबाटै बाहिर लैजाँदा खतरा देखेकाले अरू बेला सधैं बन्द हुने अर्काे सिसाको ढोका खोल्न खोजें, खुलेन। लात्तीले हानेर फोर्न खोजें, सम्भव भएन। अनि बिजुली गतिमा दौडेर बाहिर निस्किएँ। त्यतिन्जेल प्रफुल्लविक्रम शाह, पवन खत्रीलगायत जुनियर एडीसी पनि त्यहाँ आइसकेका रहेछन्। बाहिरपट्टिबाट त्यो ढोका फुटाउने काममा उनीहरूले पनि सघाए।

महाराजाधिराजको शरीर त्यो ढोकाको छेवैमा ढलेको थियो। जीउ रगतले छपक्कै भिजेको थियो। सरकारलाई एकातिरबाट मैले, अर्कोतिरबाट प्रफुल्ल र पवनले उठायौं र सिसा फुटाएको ढोकाबाट अप्ठ्यारो गरी बाहिर निकाल्यौं। निकाल्दै गर्दा बगैंचातिरबाट फेरि फायरिङको आवाज आयो। झस्कियौं। हामीलाई नै हानेजस्तो पनि लाग्यो। तर आफ्नै अगाडि आउँदा प्रतिकार गर्नुबाहेक आक्रमणकारीलाई खोज्न जाने समय हामीसँग थिएन। महाराजाधिराजलाई जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनु थियो।

महाराजाधिराज सरकारको एउटा ज्यागुअर कार दरबारमा सधैं ‘स्ट्यान्डबाई’ राखिएको हुन्थ्यो। त्यसको साँचो जहिल्यै गाडीभित्रै हुन्थ्यो। तर चालक भने राख्ने गरिएको थिएन। अटोमेटिक गियर भएको ४२ सय सिसीको त्यो कार चलाउन हतपत कसैलाई आउँदैनथ्यो। मलाईचाहिँ अमेरिका पढ्न गएका बखत त्यस्तो गाडी हाँकेको अनुभव थियो। संकटका बेला त्यो सीप काम लाग्यो।

दुईजना एडीसीहरू प्रफुल्ल र पवन मसँगै थिए। महाराजलाई हामीले कारको पछाडिको सिटमा हाल्यौं। रगत बगिरहेको थियो, हात र कपडाले रोक्ने कोसिस गर्‍यौं। तर कहाँ, कति गोली लागेको छ भनेर हेर्न वा अरू केही गर्न सक्ने अवस्था थिएन। हामीसँग समय छँदै थिएन।

मौसुफलाई पवनले समातेर बसे। उनले नाडी छामेर अत्तालिँदै भने, ‘सरकार जिउँदै होइबक्सन्छ, छिटो जाऊँ !’ मैले गाडी बेतोडसित हाँकेर छाउनीको सैनिक अस्पतालतिर लगें। त्यतिबेला वीर अस्पतालमा अहिलेजस्तो ट्रमा सेन्टर थिएन, न शिक्षण अस्पतालमै त्यो सुविधा थियो। फेरि आक्रमणकारी महाराजाधिराजलाई खोज्दै अस्पतालसम्मै आउन सक्ने खतरा पनि थियो। त्यसैले सुरक्षा व्यवस्था तथा उपचार उपलब्धता दुवै दृष्टिले सैनिक अस्पताल नै लैजानु उचित लाग्यो त्यस क्षण मलाई। यसअघि पनि राजपरिवारका सदस्यलाई केही हुँदा सैनिक अस्पतालमै लैजाने गरिएको थियो।

मैले त्यति तीव्र गतिमा गाडी न त्यसअघि चलाएको थिएँ, न त्यसपछि कहिल्यै चलाएको छु। मौसुफलाई मैले ६ मिनेटभित्रमै छाउनी अस्पताल पुर्‍याएँ। रातको नौ नाघिसकेकाले बाटामा गाडीहरू पातला थिए। त्यसैले दौडाउन ज्यादा मुस्किल भएन। त्यसै पनि सडकमा अचेल जस्ता धेरै गाडी हुँदैनथे। लगातार हर्न बजाउनुका साथै दुईजना एडीसीले झ्यालबाट मुन्टो निकालेर ‘बाटो छाड् ! बाटो छाड्’ भन्दै कराइरहेका थिए।

योभन्दा ठूलो संकट के हुन सक्थ्यो र ! हामी आत्तिएका थियौं। तर सन्तुलन गुमाएका थिएनौं। बाटोमा जाँदासम्म मलाई आशा थियो, छिटो अस्पताल पुर्‍याउन पाए राजालाई बचाउन सकिन्छ। त्यही आशाको त्यान्द्रो समात्दै मैले झन्डै गोलीकै गतिमा गाडी कुदाइरहेको थिएँ। अमृत साइन्स क्याम्पस, सोह्रखुट्टे हुँदै बालाजु चोक र त्यहाँबाट वनस्थली पुगेपछि सैनिक अस्पतालतिर जाने देब्रेतिरको छोटो बाटो रोजें। केही खाल्डाखुल्डी भए पनि अस्पताल छिटो पुगिन्थ्यो। ज्यागुअर कम ‘क्लियरेन्स’ को कार भएकाले त्यसको फेद बरोबर खाल्डाखुल्डीमा धस्सिन्थ्यो। त्यसलाई पर्वाह नगरी मैले सकेको गतिमा गाडी चलाइरहें।

केही पर एउटा ट्रक धीमा गतिमा कुदिरहेको देखियो। मैले बेस्सरी हर्न बजाएँ, एडीसीहरूले उसैगरी ‘बाटो छोड्’ भन्दै कराए। सुन्ने मान्छेहरूलाई के आपत् आइलागेर यिनीहरू कराएका होलान् भन्ने लाग्यो होला। तर हामी कराएको सुनेपछि सामान्यतया अटेरी बनेर ढसमस्स सडक ओगट्ने ट्रकले पनि हामीलार्ई तुरुन्त बाटो छाडिदियो।

हामी ‘नारायण ! नारायण !!’ भन्दै भगवान्लाई पनि पुकारिरहेका थियौं। आपत् पर्दा मानिसको सहारा भनेको देवताको नाम जप्नु नै हुँदो रहेछ। कहीं बाटो छोड् भनेर कराउने, कहिले भगवान्लाई सम्झिने, डाक्टरलाई फोन गर्ने कहिले दरबारभित्र ‘कन्ट्रोल रुम’ मा वाकिटकीबाट कुरा गरी आवश्यक प्रबन्ध मिलाउन लगाउने र कहिले पछाडिबाट आक्रमण त हुन आँटेको त छैन भनेर सतर्क हुने काम गर्दागर्दै सैनिक अस्पताल पुग्यौं। रातको ९ः१५ जति बजेको थियो।

वास्तवमा महाराजाधिराजलाई ६ मिनेटभित्रमै अस्पताल पुर्‍याउन सकेकोमा मैले सन्तोषको सास फेरेको थिएँ। आशा थियो— महाराजाधिराजलाई बचाउन सकिन्छ। अस्पताल पुगेर मोटरबाट निकाल्दासम्म महाराजाधिराजले हात चलाइबक्सेको थियो भन्दै थिए, एडीसी पवन। जीउबाट रगत बगिरहेको र शरीर पनि तातै भएकाले मलाई मौसुफ पीडाले बेहोस मात्र भइबक्सेको हो भन्ने लागेको थियो। तर सबै आशा एकैछिनमा तुषारापात भयो।

(तत्कालीन राजा वीरेन्द्रका प्रमुख एडीसी सुन्दरप्रताप रानाले लेखेको पुस्तक ‘दरबारको दुःखान्त’ बाट सम्पादनसहित साभार)

आइत, जेष्ठ १९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विचार-ब्लग समाचार

Like us On Facebook

Follow Us On Twitter