मुम्बई इन्डियन्सले जित्याे आईपीएलको १२ औं संस्करणको उपाधि


काठमाडौं, ३० वैशाख । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आईपीएलको १२ औं संस्करणको उपाधि जितेको छ । हैदराबादमा आइतबार राति सम्पन्न रोमाञ्चक फाइनल भिडन्तमा चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गरी मुम्बई चौथो पटक आईपीएलको च्याम्पियन बन्न सफल भएको हो।

हैदराबादमा भएको खेलमा मुम्बईले टस जितेर ब्याटिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो । १५० रनको लक्ष्य पाएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाई १४८ रन बनायो।
अन्तिम ओभरमा जम्मा ९ रन चाहिएको थियो । श्रीलंकाका फास्ट बलर लासिथ मालिंगाले उत्कृष्ट बलिङ गरी मुम्बईलाई   जित दिलाए । चेन्नईका लागि ओपनर शेन वाटसनले  ८० रन बनाए पनि हारका कारण उनको सानदार इनिङ छायाँमा पर्‍यो । त्यसबाहेक डुप्लेसीले २६ र ब्राभोले १५ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर जोड्न सकेनन् । कप्तान धोनीले ८ बलको सामना गर्दा २ रन बनाएर आउट भए।

मुम्बईका लागि जसप्रिट बुम्राह र राहुल चहरले उत्कृष्ट बलिङ गरे दुवैले ४ ओभरमा १४–१४ रन मात्रै दिए । बुम्राहले २ र चहरले १ विकेट लिए।  त्यसअघि ब्याटिङ गरेको मुम्मबईका लागि किरन पोलार्डले सर्वाधिक ४१ बनाए । क्वीन्टन डिकोकले २९ र इशान किसनले २३ रन, हार्दिक पाण्डेले १६ तथा रोहित शर्मा र सूर्यकुमार यादवले १५–१५ रन बनाए।

सोम, बैशाख ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया