एकीकृत जनक्रान्तिको सार्थकता र अनिवार्यताः – उमा भुजेल ‘शिलु’


‘विचारधारात्मक र राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबैथोकको निर्धारण गर्दछ । जब पार्टीको कार्यदिशा सही हुन्छ, त्यसबेला सबै चीज प्राप्त हुन्छन् । कार्यकर्ता छैनन् भने ती पनि प्राप्त हुन सक्छन् । राजनीतिक सत्ता छैन भने त्यो पनि प्राप्त हुन सक्छ । पार्टीको कार्यदिशा गलत छ भने सबै कुरा गुम्दछ । कार्यदिशा भनेको जालको डोरी हो, जब यो तानिन्छ पूरै जाल खुल्दछ ।’
–माओ त्से तुङ, माक्र्सवादी दर्शन र एकीकृत जनक्रान्ति, शैक्षणिक पाठ्यपुस्तक, पृष्ठ ८९ ।

‘आखिरमा गएर समाजवादी व्यवस्थाले पुँजीवादी व्यवस्थाको ठाउँ ओगट्नेछ । यो मान्छेको इच्छाभन्दा बाहिरको वस्तुगत नियम हो । प्रतिक्रियावादीहरू इतिहासको पाङ्ग्रालाई पछाडि धकेल्न जतिसुकै कोसिस गरून्, छिटो वा ढिलो क्रान्ति भइछाड्छ र यसले विजय पनि पाइछाड्छ ।’
– महान् अक्टोबर क्रान्तिको ४० औँ वार्षिकोत्सव समारोहमा सो.स.ग.स. को सर्वोच्च सोभियतको सभामा भाषण, (नोभेम्बर ६, १९५७)

(क) भूमिका

आज विश्वभरिका कम्युनिस्ट क्रान्तिकारीहरूसामु एउटा प्रश्न खडा भएको छ– सोभियत सङ्घ र चीनका समाजवादी सत्ताहरू किन विघटन भए ? चीनको क्रान्तिपछि किन विश्वमा क्रान्ति भएको छैन ? पछिल्लोपटक नेपालमा विजयको सन्निकट पुगेको क्रान्ति प्रतिक्रान्तिमा बदलिएको छ । के यी सबै घटनाको कारण कम्युनिस्ट सिद्धान्त तथा विचारकै असफलता हो त ? यी आरोप पुँजीवादी विचारकहरूले माक्र्सवादमाथि थोपरेका छन् । त्यसैलाई सहयोग पुग्ने गरी संशोधनवादीहरूले विश्व–साम्राज्यवाद, अझ सूचना र प्रविधिमा भएको अकल्पनीय विकासका कारण अबको विश्वमा क्रान्ति असम्भव छ, क्रान्ति अनिवार्य छैन भनिरहेका छन् । उनीहरू रातो झन्डाका विरुद्ध रातो झन्डा नै उठाएर आक्रमण गरिरहेका छन् । संशोधनवाद भनेको माक्र्सवादी आन्दोलनभित्र घुसेको पुँजीवाद हो । यसले माक्र्सवादको मूल मर्ममाथि प्रहार गर्दछ र जनतालाई भ्रमित गरेर पुँजीवादको सेवा गर्दछ । पुँजीवादीहरू न्वारनदेखिको बल लगाएर माक्र्सवादका विरुद्ध लडिरहेका छन् भने अर्कोतिर कम्युनिस्टको मुकुन्डो लगाएका संशोधनवादीहरू (नेपालमा ओली–प्रचण्डमण्डली) दुस्मनलाई नै बल पुग्ने गरी काम गरिरहेका छन् । उनीहरू सारतः सामाजिक दलाल पुँजीवादी धारामा हिँडेका छन् जसको कारण क्रान्ति गर्न र जनताको सत्ता टिकाउन निकै चुनौतीपूर्ण कार्य भएको छ ।

आजका कम्युनिस्टहरू के कुरामा गम्भीर हुनुपर्दछ भने विरोधीहरूका आरोप मात्र होइन, सत्ता प्राप्त गर्नु र प्राप्त भएको सत्ता टिकाउन नसकेको कुरा यथार्थ भैसकेको छ । त्यसकारण अबका कम्युनिस्टहरूले कसरी सत्ता प्राप्त गर्ने, त्यसको रक्षा कसरी गर्ने ? भन्ने प्रश्नमा सङ्केन्द्रित हुन आवश्यक छ । अब विरोधी पक्षलाई आलोचना र आरोप लगाएर मात्र उम्कन सम्भव छैन । विश्वका कम्युनिस्टहरूले समस्या समाधानको खोजी, अनुसन्धान र प्रयोगलाई अध्यक्ष माओले भनेझैँ अनुसन्धान भनेको ‘गर्भ रहेको बेलाका लामा महिनाहरू’ झैँ ठानेर समस्याको समाधान गर्न ध्यान केन्द्रित गर्नुपर्ने भएको छ । अनुसन्धान गर्न र समाधान दिन आवश्यक भएको छ । अहिलेको अवस्थामा न जडसूत्रवादी ढङ्गले न त संशोधनवादी तरिका र चिन्तन लिएर अगाडि बढ्न सम्भव छ । यी सोचाइ र तरिकालाई परास्त गर्दै अगाडि बढ्न आवश्यक छ ।

“एकीकृत जनक्रान्तिको कार्यदिशाभित्र राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै आयामहरू अन्तरनिहित छन् । नेपाली क्रान्तिको साथै विश्व– कम्युनिस्ट आन्दोलनका समस्याहरूको जबाफ दिनुपर्छ भन्ने हाम्रो सपना छ । यसले एकपटक फेरि प्रतिक्रियावादीहरूको निद्रा हराउनेछ र संसारका सबै उत्पीडित समुदाय र श्रमिकहरूलाई नयाँ ऊर्जा र उत्साह प्रदान गर्नेछ प्रतिक्रान्तिमाथि नयाँ क्रान्तिकारी लहर चल्नेछ ।”

माक्र्सवाद गतिशील समाज विज्ञान हो । यो गतिशील, परिवर्तनशील र विकासशील हुन्छ । संशोधनवाद र जडसूत्रवाद यसको विकासका बाधक तत्वहरू हुन् । माक्र्सवादको विकासभित्र रक्षा खोज्नुपर्छ । विकास गर्नु भनेको रक्षा गर्नु पनि हो । विचारमा विकास गरेर मात्र रक्षा गर्न सकिन्छ । हिजोको विचार, सिद्धान्त र कार्यदिशाले आजका समस्याहरूको समाधान दिन सक्दैन । वस्तुगत अवस्थाको तुलनामा चेतना पक्ष धेरै पछाडि परेका कारण वस्तु र चेतना अन्तरविरोधी बन्न गएका छन् । लेनिन र माओका कालको कार्यदिशा र विचार सही हुँदाहुँदै पनि आज अपूरा–अधुरा भएका छन् किनकि अन्तरविरोध बदलिएको छ । वस्तुजगतमा  परिवर्तन आएको छ । शोषण, दमनका रूपहरू बदलिएका छन् । त्यसकारण सिद्धान्त र कार्यदिशामा विकास गर्न जरुरी भइसकेको छ जसले दुस्मनको आरोप खण्डन मात्र गर्नेछैन, विश्वभरि कम्युनिस्ट पार्टीले केही नयाँ खोज, नयाँ विचार र सैद्धान्तिक मान्यतासहित नेपाली क्रान्तिको बाटो ‘एकीकृत जनक्रान्ति’ कार्यदिशा तय गरेको छ । यसले न मालेमाको आधारभूत सिद्धान्त छोडेको छ, न त नेपालको विशिष्टतालाई नै बेवास्ता गरेको छ जसको कारण दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न सम्भव छ ।

नेपाली क्रान्तिको समस्या समाधान गर्न खोज्दा विश्वक्रान्तिका समस्या समाधान हुने र विश्वक्रान्तिका समस्या समाधान गर्न खोज्दा नेपाली क्रान्तिका समस्या समाधान हुनु त विज्ञानको नियम नै हो । त्यसकारण एकीकृत जनक्रान्तिको कार्यदिशाभित्र राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै आयामहरू अन्तरनिहित छन् । नेपाली क्रान्तिको साथै विश्व– कम्युनिस्ट आन्दोलनका समस्याहरूको जबाफ दिनुपर्छ भन्ने हाम्रो सपना छ । यसले एकपटक फेरि प्रतिक्रियावादीहरूको निद्रा हराउनेछ र संसारका सबै उत्पीडित समुदाय र श्रमिकहरूलाई नयाँ ऊर्जा र उत्साह प्रदान गर्नेछ प्रतिक्रान्तिमाथि नयाँ क्रान्तिकारी लहर चल्नेछ । हाम्रासामु त्यसप्रकारको सम्भावना र चुनौती छ ।

(ख) चीन र रुसको अनुभव

कार्यदिशाको प्रश्नमा सबै ध्यान चीन र रुसका क्रान्तिका अनुभवमा केन्द्रित हुने गरेका छन् तर विश्वका अरू देशका पनि आआफ्ना अनुभवहरू रहेका छन् । नेपालमा दलाल पँुजीवादी वर्ग सत्तामा छ र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने छ । त्यसका लागि कस्तो बाटोबाट हिँड्ने ? अथवा कस्तो प्रकारको कार्यदिशा अपनाउने भन्ने बहस गर्दा चिनियाँ र रुसी अनुभव (Model) का विषयमा छोटो चर्चा गरौँ–

लेनिनले रुसमा अल्पकालीन सशस्त्र विद्रोहमार्फत केन्द्रीय सत्ता कब्जा गर्नुभयो । रुस पुँजीवादी देश थियो जसले मजदुर र साना छिमेकी देशहरूलाई शोषण, दमन गथ्र्यो र आफैँ ठूला पुँजीवादी देशहरूको शोषण–दमनमा परेको थियो । जहाँ सहरी मजदुर वर्ग र वैधानिक कानुनी सङ्घर्षलाई जोड दिँदै केन्द्रीय सत्ता कब्जा गरियो । दुमामा क्रान्तिकारीहरूले कब्जा गरिसक्दा पनि ग्रामीण भेगमा जारको सत्ता चलिरहेको थियो । रुसमा केन्द्रीय सत्तालाई गाउँसम्म विस्तार गरियो । चीन अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुक थियो । त्यहाँ दीर्घकालीन जनयुद्धको माध्यमबाट गाउँले सहर घेर्दै, ग्रामीण इलाकामा आधारइलाका निर्माण र विस्तार गर्दै अन्तिममा केन्द्रीय सत्ता कब्जा गरियो । चीन भूमिहीन, सुकुमबासी र गरिब किसान बहुल देश थियो । गाउँ र किसान सशस्त्र सङ्घर्ष चिनियाँ विशेषता बन्न गएको थियो जसलाई दीर्घकालीन जनयुद्धको कार्यदिशाका रूपमा बुझिन्छ ।

नेपाली क्रान्तिको कार्यदिशा तयार गर्दा ऐतिहासिक अनुभव (Model) हरूको अध्ययन आवश्यक छ । त्यसैगरी नेपालको जनयुद्ध कसरी अगाडि बढ्यो ? कसरी असफल भयो ? त्यसको गहिरो अध्ययन आवश्यक छ नेपालको जनयुद्ध रुसी र चिनियाँ दुवै अनुभवको नक्कल नभएर मौलिक प्रकारको थियो । यो चिनियाँ–रुसी अनुभवको समायोजन (मिश्रण) नभएर त मौलिक थियो । यद्यपि चिनियाँ विशेषता अनुपातमा बढी थियो तर हुबहु चिनियाँ नक्कल थिएन ।

२०५२ साल फागुन १ गते नै विद्रोहात्मक शैलीमा चीनमा जस्तो एउटा होइन, धेरै स्थानमा आधार इलाका बनाउने नीति लिइयो । एकै दिन हजारौँ साना–ठूला कारबाहीहरू भए । वैधानिक र सहरी सङ्घर्षका रूपहरू प्रयोग गर्न जोड दिइयो । नेपाली जनयुद्धको विद्रोहात्मक चरित्रका कारण जनयुद्धको विस्तारले तीव्रता लियो । यातायात, सञ्चार र प्रविधिमा आएको तथा ने.क.पा. (माओवादी) ले प्रयोग गरेको पहलकदमीले त्यसलाई तीव्रता दिएको थियो । तर मूल नेतृत्वले गद्दारी र धोका दिएको कारण त्यसले रक्षात्मक हुनुपर्यो । जनताको सपना र बलिदानको उपलब्धिमाथि बज्रपात भयो । त्यसकारण क्रान्ति सम्भव छैन, क्रान्ति आवश्यक छैन, क्रान्ति हुँदैन, सबै उस्तै हुन्जस्ता नकारात्मक सोचाइहरूले टाउको उठाउन थाले । त्यसकारण चीन र रुसको अनुभव मात्रले नेपाली क्रान्ति सम्भव छैन । त्यसैले त ‘ क्रान्तिको विकास हुन्छ, पुनरावृत्ति हुँदैन’ भनिन्छ ।

(ग) वस्तुगत अवस्थामा परिवर्तन

‘ठोस परिस्थितिको ठोस विश्लेषण’ माक्र्सवादको मुटु हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय परि स्थितिको सही विश्लेषण नगरी वा सही निष्कर्ष ननिकालेसम्म कार्यदिशाको सही निक्र्योलमा पुग्न सकिन्न । परिस्थिति तथा अन्तरविरोधहरू सधैँ एउटै रहँदैन । नेपालको आजको सन्दर्भमा पनि त्यो त्यत्तिकै सत्य हो किनकि आजको नेपालको स्थिति माओ र लेनिनको समयभन्दा निकै फरक भैसकेको छ । नेपालको आफ्नो विशिष्टता छ । आज विश्व एक ध्रुवीयबाट बहुध्रुवीय बन्दै गएको छ । साम्राज्यवाद निगम पुँजीवादमा बदलिएको छ । उसबेला भूगोल कब्जा गर्थे, अहिले वित्तीय फौजले अर्थतन्त्र (समाजको आधार) कब्जा गरेर दलालमार्फत औपनिवेशिकता विस्तार गरिन्छ । विश्व भूमण्डलीकरण भएको छ । त्यो भनेको विश्व एकीकृत हुनु हो । पछिल्लो समयका महान् वैज्ञानिक हकिङले भौतिक जगत् एकीकृत भएको बताएका छन् । गाउँ र सहर एउटै जस्तो भएका छन् किनकि औद्योगिक विकासको सुरुमा भौतिक सुविधा सम्पन्न भएका र नभएका स्थानको फरकफरक नाम (गाउँ र सहर) भएका थिए । एकीकृत हुनु भनेको पृथक अस्तिइभ्व निषेध हुनु र नयाँ अस्तिइभ्व प्रकट हुनु पनि हो । अब एउटा जात, क्षेत्र वा समुदायको समस्या उठाएर क्रान्ति सम्भव छैन । उदाहरणका लागि एउटै मोबाइलमा पुस्तकालय, रेडियो, बत्ती, पात्रो, शब्दकोश, दिशासूचक यन्त्र, सयौँ चीज र सयौँ टन सामान पाउन सकिन्छ । यसलाई वैज्ञानिक हकिङले ‘ भौतिक जगत्को एकीकृत स्वरूप’ भनेका छन् ।

अर्कोतिर पुँजीवाद चरम वैचारिक, आर्थिक सङ्कटमा फस्दै गएको छ । चीन र अमेरिकाबीचको व्यापारयुद्ध र रुस–पश्चिमी देशहरूबीचको तनाव त्यसको उदाहरण हो । अमेरिका पश्चिमी मूल्य– मान्यताबाट विचलित हुँदै जानु वैचारिक र आर्थिक सङ्कटकै सङ्केत हो । उदाहरणका लागि अमेरिकाको ट्रम्प प्रशासन उदार अर्थनीतिबाट विचलित भएको छ जब कि उदार अर्थनीति पश्चिमी पुँजीवादको मेरुदण्ड (Back Bone) हो । पश्चिमी समाजको आर्थिक सङ्कटले चौतर्फी निराशा, असन्तोष, अन्धराष्ट्रवादले टाउको उठाउन थालेको छ । पुरानो विचार, नेतृत्व र संस्थापनविरोधी जनमत बढ्दैछ । मङ्सिरको मध्यमा फ्रान्समा भएको ‘पहेँलो जर्सी’ विद्रोहले कार्ल माक्र्सको शब्दमा ‘बूढो युरोप’ लाई नराम्ररी झस्काएको छ । जनताको मनोबल उठाएको छ । जहाँ पेट्रोलियम पदार्थमा गरिएको कर वृद्धिका विरुद्ध भएको विद्रोहमा चारजनाको ज्यान गयो । सयौँ घाइते भए र करोडौँ सम्पत्ति नष्ट भयो । त्यो विद्रोहमा जनताले सरकारलाई झुकाएर छाडे । त्यसकारण पछिल्लो परिस्थितिले निम्नसङ्केत गरेको छ –
(१) साम्राज्यवाद र उत्पीडित राष्ट्र तथा जनताका बीचमा प्रधान अन्तरविरोध रहेको छ ।
(२) साम्राज्यवादी मुलुकमा एकाधिकार पुँजीवाद र सर्वहारा वर्गका बीचमा अन्तरविरोध रहेको छ ।
(३) अन्तरसाम्राज्यवादी अन्तरविरोध विस्फोटक बन्दै गएको छ ।
(४) साम्राज्यवाद र समाजवादी सत्ताका बीचमा अन्तरविरोध रहेको छ ।

विश्वमा यी चार प्रकारका अन्तरविरोधहरू रहेको भए पनि साम्राज्यवाद र उत्पीडित राष्ट्र तथा जनताबीचको अन्तरविरोध नै आजको विश्वको प्रधान अन्तरविरोध हो । प्रधान अन्तरविरोधले अरू सबै अन्तरविरोधको निर्धारण गर्दछ । त्यसकारण साम्राज्यवादको विरुद्ध बलियो सङ्घर्षको आधार बन्दै गएको छ । त्यसकारण विश्वको मूल चरित्र क्रान्ति हो । त्यसका लागि वस्तुगत अवस्था अनुकूल बन्दै गएको छ । क्रान्ति सम्भव र अनिवार्य बन्दै गएको छ ।

“प्रचण्ड–बाबुरामहरू चुनावद्वारा विद्रोहको कुरा गर्थे । त्यसको अर्थ जनसेना आवश्यक हुँदैनथ्यो । हामीले जनविद्रोह जनयुद्धको जगमा भन्नुको अर्थ जनसेना आवश्यक छ भन्ने थियो । जनसेना बचाउने कि विघटन गर्ने ? भन्ने बहस पार्टीभित्र आयो । प्रचण्ड– बाबुराम नै प्रतिक्रियावादी वर्गको नारा लिएर आए । अन्ततः उनीहरूले जनसेना विघटन गरेपछि हामीले विद्रोह गर्यौ ।”

नेपालको राजनीतिक क्षितिजमा नयाँ परिदृष्यहरू देखा पर्न थालेका छन् । देशमा सामन्ती राजतन्त्र छैन । जसले २०६३/०६४ सम्म दलाल पुँजीवाद सत्तारूढ भएको छ र त्यसले सामन्तवादको समेत नेतृत्व गरिरहेको छ । सामाजिक दलाल पुँजीवाद सत्तामा छ । न जनता सुखी छन्, न त देश समृद्ध बन्ने सम्भावना छ । जनतामाथि २५ सय प्रतिशतसम्म कर वृद्धि गरिएको छ भने सेवासुविधा खोस्दै, कटौती गर्दै गएको छ । मूल्य वृद्धि, कालोबजारी, दमन, सामाजिक असुरक्षा, भ्रष्टाचार चरम बनेको छ । सङ्क्षिप्तमा भन्दा चौतर्फी राज्यआतङ्क र शोषण छ । राज्यविहीन अवस्था छ । अरुण ३, माथिल्लो कर्णाली, जनकपुरमा भारतीय प्रम मोदीको भ्रमण, नागरिक उड्ययन प्राधिकरणमा जहाज खरिदमा भएको भ्रष्टाचारजस्ता भ्रष्टाचार र राष्ट्रघातले देश बर्बादीकरण भएको छ । देशले नयाँ राजनीतिक व्यवस्था र नेतृत्व खोजिरहेको छ । ‘नयाँ बोतलमा पुरानै रक्सी’ भनेझैँ देशको शासन प्रणाली र व्यवस्था फेरिएको छैन, कारिन्दाहरू मात्र फेरिएका छन् । जनताको अवस्था ‘तावाबाट हाम्फालेर भुङ्ग्रोमा’ भनेझैँ भइरहेको छ । त्यसकारण सामाजिक दलाल पुँजीवादका विरुद्ध जनतामा व्यापक असन्तुष्टि बढ्दै गएको छ । क्रान्तिप्रति आशावाद बढेर गएको छ । देशभक्त शक्तिहरू क्रान्तिप्रति आकर्षित र आशावादी बन्दै गएका छन् । क्रान्तिको अनिवार्यता र सम्भाव्यता झनै बढेर गएको छ । अर्कोतिर साम्राज्यवाद र दलाल पुँजीवाद क्रान्तिको बिरुवालाई हुर्कन नपाउँदै निमोठ्न अनेक प्रयत्न र षड्यन्त्र गरिरहेका छन् । देशभक्त र प्रगतिशील शक्तिहरूबीचको बृहत् संयुक्त मोर्चाको सम्भावना टड्कारो देखिएको छ । त्यसकारण राष्ट्रिय परिस्थिति सङ्कटतिर धकेलिएको छ । यसलाई क्रान्तिकारी सङ्कट भन्न सकिन्छ ।

(घ) नयाँ कार्यदिशाको बहस

तत्कालीन ने.क.पा. (माओवादी) को २०६४ मा भएको विस्तारित बैठक (भेला) मा तत्कालीन कार्यनीति (चुनाव कि विद्रोह) का विषयमा बहस भएको थियो तर त्यो कार्यनीतिको बहसभित्र कार्यदिशाकै बहस थियो । कार्यशैलीमा बहस केन्द्रित त्यो भेलालाई बालाजु विस्तारित बैठक भनिएको छ । खरीपाटी भेलामा पुग्दा कार्यदिशाकै विषयमा बहस भयो । कमरेड किरण र प्रचण्डले अलग–अलग राजनीतिक प्रस्तावहरू प्रस्तुत गरेका थिए । प्रचण्डले लोकतान्त्रिक गणतन्त्र र कमरेड किरणले जनगणतन्त्रको प्रस्ताव प्रस्तुत गरे । ती दुई प्रस्तावका बीचमा व्यापक बहस भयो । अन्त्यमा दुवै प्रस्ताव मिलाएर ‘जनताको राष्ट्रिय सङ्घीय लोकतान्त्रिक जनगणतन्त्र’ नामक दस्ताबेज पारित भयो । तर त्यसलाई कसैले पनि जिम्मा लिएन । आआफ्नो डम्फु बजाउने काम भयो । कार्यदिशा भागबन्डाका विषय होइन । त्यहाँ मोलतोल भएको थियो । सम्झौता भएको थियो । प्रचण्ड– बाबुरामसँगको सङ्घर्षमा क्रान्तिकारीहरूले शक्ति सञ्चय गर्न आवश्यक ठानिएको थियो । पालुङटार बैठकमा प्रचण्ड, बाबुराम र किरणका अलग अलग तीनवटा प्रस्ताव पेश भएका थिए । कुनै पनि प्रस्ताव पारित भएनन् ।

सेना, सत्ता र पार्टी विसर्जनको प्रचण्डको हर्कतले प्रचण्ड–बाबुरामको नियत छर्लङ्ग भएको छ । भीषण सङ्घर्षपछि पनि रूपान्तरण सम्भव नभएपछि २०६९ असारमा प्रचण्ड–बाबुरामसँग विद्रोह गरेर कमरेड किरणको नेतृत्वमा ने.क.पा.– माओवादी गठन गरिएको थियो । त्यसबेला ‘ जनयुद्धको जगमा जनविद्रोह’ कार्यदिशा थियो । प्रचण्ड–बाबुरामहरू चुनावद्वारा विद्रोहको कुरा गर्थे । त्यसको अर्थ जनसेना आवश्यक हुँदैनथ्यो । हामीले जनविद्रोह जनयुद्धको जगमा भन्नुको अर्थ जनसेना आवश्यक छ भन्ने थियो । जनसेना बचाउने कि विघटन गर्ने ? भन्ने बहस पार्टीभित्र आयो । प्रचण्ड– बाबुराम नै प्रतिक्रियावादी वर्गको नारा लिएर आए । अन्ततः उनीहरूले जनसेना विघटन गरेपछि हामीले विद्रोह ग¥यौँ । त्यसपछि नै कार्यदिशाका विषयमा गहन बहस सुरु भयो ।

प्रचण्ड–बाबुरामसँग विद्रोह गरेपछि पनि क्रान्तिकारी कदम चाल्न सकिएन । किरण– बादलसँग प्रचण्डसँग हुँदाकै बहस दोहोरियो । छद्म संशोधनवाद सतहमा आयो । चुनावपरस्त धारा हाबी भयो । त्यसका विरुद्ध पेचिलो सङ्घर्ष उठाउने विषयमा उदासीनता र अकर्मण्यता देखाप¥यो । उदासीनता र अकर्मण्यताको धमिलो पानीमा बादल– गुरुङमण्डली प्रचण्डतिर फर्कने वातावरण बनाउन थाल्यो । त्यसकारण २०७२ साल मङ्सिर ८ गते क. विप्लवको नेतृत्वमा विद्रोह गरेर ने.क.पा. (माओवादी) गठन गर्यौँ । त्यसपछि दाङमा भएको प्रथम राष्ट्रिय सम्मेलनले ‘एकीकृत जनक्रान्ति’ कार्यदिशा पारित ग¥यो भने २०७३ मा रोल्पा, थबाङमा भएको आठौँ महाधिवेशनले ‘एकीकृत जनक्रान्ति’ कार्यदिशालाई औपचारिक रूपमा पारित गर्यो । यो कार्यदिशा पारित गर्नुको पछाडि निश्चित मूल्यहरू, अनुसन्धान र तर्कहरू रहेका छन् ।

(ङ) एकीकृत जनक्रान्ति कार्यदिशा

हरेक देशका विशिष्टताहरूले त्यस देशको कार्यदिशा निर्धारण गरेको हुन्छ । अन्तर्राष्ट्रिय परिस्थितिले ती विशिष्टताहरू प्रभावित हुन्छन् । कार्यदिशा निर्धारणका सम्बन्धमा माओ त्से तुङ भन्नुहुछ, ‘सबै राष्ट्र समाजवादमा पुग्ने नै छन् । प्रत्येकले जनवादको कुनै न कुनै रूपमा सर्वहारा अधिनायकत्वको केही अनेकतामा सामाजिक जीवनका विभिन्न पक्षहरूमा हुने समाजवादी रूपान्तरणको विविधतापूर्ण विकासमा केही न केही आफ्नै कुरा थप्नेछन्… … चीनका विशिष्ट विशेषताहरूबाट अलग माक्र्सवादको कुरा खोक्रो माक्र्सवाद हो ।’
(माओ त्से तुङ, सङ्कलित रचना, भाग ३, पृष्ठ ४९, ८ फरवरी, १९४२) ।

माओको यो भनाइले के साबित गरेको छ भने हरेक देशको क्रान्ति आफ्नै देशको विशेषतामा भिन्न र मौलिक ढङ्गले अगाडि बढ्छ । त्यही कारण हाम्रो पार्टी नेपाली विशिष्टताअनुसार मौलिक ढङ्गले क्रान्ति सम्पन्न गर्न दृढ छ र एकीकृत जनक्रान्ति कार्यदिशा पारित गरेको छ । दाङको प्रथम राष्ट्रिय सम्मेलनले २०७१ सालमा कार्यदिशा प्रस्ताव ग¥यो । देशव्यापी बहसमा गयो । त्यसपछि २०७३ सालमा भएको आठौँ महाधिवेशनले ‘एकीकृत जनक्रान्ति’ कार्यदिशा पारित ग¥यो । यो कार्यदिशा माक्र्सवादको सार्वभौम पक्ष र नेपाली विशिष्टताको योग हो । त्यसैले यो कार्यदिशाबाट मात्रै नेपाली क्रान्ति सम्भव छ । यो कार्यदिशा ठोस परिस्थितिको ठोस विश्लेषण हो ।

(च) एकीकृत जनक्रान्तिका विशेषता

चीन, रुस, क्युबालगायत देशमा प्रयोग भएका कार्यदिशाका आआफ्नै विशेषताहरू थिए । नेपाली क्रान्ति पनि आफ्नै मौलिकतामा हुनेछ । माक्र्सवाद सधैँ स्थानीय विशेषता वा विशिष्टतासँग मिलेर नै लागू हुन्छ । एकीकृत जनक्रान्ति कार्यदिशाका विशेषता वा विशिष्टताहरूलाई निम्नबुँदाहरूमा उल्लेख गर्न सकिन्छ–
(अ) गाउँ र सहरको भेद
(आ) दलाल पुँजीवादी सत्ता
(इ) नयाँ श्रमिक वर्ग (मध्यम वर्ग को उदय
(ई भूपरिवेष्ठित अवस्था
(उ) जातीय, क्षेत्रीय, लैङ्गिक उत्पीडन
(ऊ) विज्ञान र प्रविधिमा क्रान्ति

अ) गाउँ र सहरको भेद

आज नेपालसहित विश्वमा गाउँ र सहरको फरक घट्दै नगर समाजको विकास हुँदै गएको छ । त्यसको अर्थ गाउँ र सहर एकीकृत हुँदै गएको छ । दास युगमा स्थानविशेषलाई ‘जनपथ’ भन्ने गरिन्थ्यो । सामन्ती समाजमा भौतिक सुविधा शासक भएका स्थानमा केन्द्रित हुन थाले । ती स्थानलाई नगर (सहर) भन्न थालियो । जनताको ठूलो पङक्ति भौतिक सुविधाबाट अलग पारियो । ती स्थानलाई गाउँ (देहात) भन्न थालियो । नगर समाजको उदयले गाउँ र सहर शब्द नै शब्दकोषबाट हट्ने दिन धेरै टाढा छैन । माओ र लेनिनको समयमा जसरी आज सहर र गाउँको भूमिका सीमित गर्ने भौतिक परिस्थिति आजको विश्वमा छैन । आजको नेपालको समाज विकासको चरण र अवस्थाको विश्लेषण गर्दा गाउँ र सहर दुवैलाई एकीकृत ढङ्गले बुझ्न र समाधान गर्न आवश्यक छ । भौतिक जगत्मा आएको परिवर्तनले मानवीय चिन्तन र व्यवहारमा पनि परिवर्तन आउनु अनिवार्य छ । कार्ल माक्र्सले ‘मानिसको चेतनाले उनीहरूको सत्तालाई निर्धारित गर्दैन, बरु त्यसको उल्टो सामाजिक सत्ताले उनीहरूको चेतनालाई निर्धारित गर्दछ’ भन्नुभएको छ । त्यसकारण गाउँ र सहरलाई एउटै स्तर र महइभ्वका साथ हेर्नुपर्छ किनकि गाउँ र सहरको भिन्नता घट्दै गएका छन् । नेपालमा नगरपालिका बढ्दै र गाउँपालिकाको सङ्ख्या घट्दै जानुले त्यसैलाई बल पुर्याउँछ । अर्को शताब्दीसम्म पुग्दानपुग्दै विश्व पूरै नै नगर समाजमा प्रवेश गर्नेछ । त्यसैले गाउँ र सहरलाई आजैदेखि एकीकृत गरेर बुझ्नुपर्छ ।

आ) दलाल पुँजीवादी सत्ता

नेपालमा दलाल पुँजीवाद सत्तामा रहेको छ । दलाल पुँजीवाद भनेको अनुत्पादक क्षेत्रमा लगानी गर्नु, दलालीद्वारा (श्रम र पुँजी लगानी नगरी वा नगन्य गरेर) अकूत आम्दानी गर्नु हो जसले उत्पादक र उपभोक्ता दुवैको चरम शोषण गर्दछ । त्यसैले दलाल पुँजीवाद भनेको परजीवी पुँजीवाद हो । यसले साम्राज्यवादको निर्देशनमा काम गर्छ । आफ्नो देशको उद्योग बन्द गराउँछ र देशको कच्चा पदार्थ (पानी, विद्युत्, जडीबुटी, काठ तथा बन पैदावार, पत्थर, खाद्य पदार्थ, प्रशोधन नगरिएका कृषि उत्पादन आदि) विदेश निर्यात गरेर साम्राज्यवादी देशद्वारा नियन्त्रित बहुराष्ट्रिय निगमका लागि बजार विस्तार गर्दछ । त्यसबापत सरकारमा थमौती र कमिसन कुम्ल्याउँछ । त्यसकारण साम्राज्यवादको सेवा र जुठो हाडमा जीवनयापन नै दलाल पुँजीवादको चरित्र हो । त्यो जनताप्रति जबाफदेही हुँदैन । हेरौँ एउटा उदाहरण– एकजना किसानले प्रतिकिलो सुन्तला २५ रुपैयाँमा बेच्दछ भने उपभोक्ताले १५० रुपैयाँमा खरिद गर्दछ । प्रत्येक किलोमा १२५ रुपैयाँ दलालले खान्छ । न उत्पादकले परिश्रमको फल पाउँछ, न त उपभोक्ताले सस्तोमा खान पाउँछ । बिचौलियाले लगानी र श्रमबिना नै लुटपाट गर्छ । त्यसकारण दलाल व्यापारी, दलाल नेता, दलाल कर्मचारीसँग नेपाली जनताका बीचमा अन्तरविरोध छ । बाँसबारी छालाजुत्ता उद्योग, भृकुटी कागज कारखाना, जनकपुर चुरोट उद्योग, विराटनगर जुट मिल, हेटौँडा कपडा उद्योग, हेटौँडा– काठमाडौँ रोप वे, उदयपुर सिमेन्ट उद्योग २०४६ सालपछि दलाल पुँजीवादका प्रतिनिधि काङ्ग्रेस र एमालेले बन्द गराए । नेपाली बजार विदेशीका लागि खुला गरे । त्यसबापत सत्ता स्वार्थ र कमिसन थापे जसको कारण देशको ऋण बढ्दै, परनिर्भर हुँदै गएको छ र नेताहरूको निजी सम्पत्ति बढ्दै गएको छ । जनताको जीवन कष्टकर बन्दै र देशको प्रतिष्ठा घट्दै गएको छ । राष्ट्रिय पुँजीपतिहरू सडकमा पुगेका छन् र मध्यम वर्ग चरम शोषणमा परेको छ । देशको अर्थतन्त्र नै दलालतन्त्रमा पतन भएपछि परनिर्भर अर्थतन्त्रको विकास नभएर आत्मनिर्भर अर्थतन्त्रको विकास कसरी हुन्छ त ? त्यसकारण मुट्ठीभर दलालहरू एकातिर र क्रान्तिकारी शक्तिहरू, देशभक्तहरू, प्रगतिशील शक्तिहरू, राष्ट्रिय पुँजीपतिहरू, आममध्यम वर्ग अर्कोतिर आमनेसामने भइरहेका छन् । यो राजनीतिक ध्रुवीकरणको शान्तिपूर्ण समाधान भएन भने शान्तिपूर्ण राजनीतिक सङ्घर्षले हिंसात्मक स्वरूप ग्रहण गर्न सक्छ । कम्युनिस्ट क्रान्तिकारीहरूले त्यसप्रकारको वस्तुगत परिस्थिति (क्रान्तिकारी सङ्कट) समाधान गर्न आत्मगत तयारी गर्नुपर्छ ।

“चीन र भारत दुवै देशद्वारा घेरिएर रहे पनि नेपालमा चीनको प्रभाव नगन्य रहेको छ । आर्थिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा भारतीय प्रभाव नै एकछत्र रहेको अवस्था छ । सन् १९५० को नेपाल–भारत ‘शान्ति तथा मैत्री सन्धि’ को माध्यमले भारतले नेपाललाई स्वतन्त्र भूमिका निर्वाह गर्न अवरोध गरिरहेको छ । अर्थतन्त्र, राजनीति, सुरक्षा, संस्कृति सबै क्षेत्रमा भारतीय दबाब छ र उसका दलालहरू छन् । त्यसकारण नेपाली क्रान्तिले सुरुदेखि नै भारतीय दबाब र हस्तक्षेपको सामना गर्नुपर्ने हुन्छ ।”

इ) नयाँ श्रमिक वर्ग (मध्यम वर्ग को उदय

चिनियाँ क्रान्ति छिटो सफल हुनुका विभिन्न कारणहरूमध्ये बुद्धिजीवीहरूको परिचालन एक हो भनेर किम इल सुङले भनेका छन् । नेपालको आजको सन्दर्भमा त्यसको महत्व अझ बढेको छ । नेपालको महान् जनयुद्धमा बुद्धिजीवी समुदायको गौरवशाली भूमिका रहेको थियो । नगर समाजको विकास, विज्ञान र प्रविधिमा भएको विकास, शारीरिक श्रमको स्थान मानसिक वा बौद्धिक श्रमले विस्थापित गर्नु, समाजको पुँजीवादीकरण आदि कारणले मध्यम वर्गको सङ्ख्या बढेको छ । अदक्ष श्रमिकको भन्दा दक्ष श्रमिकको माग श्रम बजारमा बढेको छ । त्यसकारण मध्यम वर्गको सङ्ख्या पनि नेपालसहित विश्वभरि बढेको छ । निगम पुँजीवादले सबैभन्दा बढी शोषण पनि यही वर्गलाई गरिरहेको छ । त्यसकारण मध्यम वर्गलाई नयाँ श्रमिक वर्ग पनि भन्न थालिएको छ । रुस र चीनमा जसरी किसान र मजदुरलाई मुख्य शक्ति र सहायक शक्ति बनाएर अथवा त्यसैमा मात्र भरपरेर नेपालमा क्रान्ति सम्भव छैन । नेपालको श्रमिक वर्ग (किसान–मजदुर) ले नयाँ सहयोगीहरूसँग एकता गर्नैपर्छ । त्यो नयाँ मित्रशक्ति भनेको मध्यम वर्ग पनि हो । मित्रशक्तिसँग एकता गर्न नसक्ने कुनै पनि आन्दोलनले विजय प्राप्त गर्न सक्दैन । शत्रुको घेरालाई साँघुरो पार्नु र मित्र पक्षको घेरालाई फराकिलो पार्नु नै संयुक्त मोर्चाको सफलता हो । क्रान्ति पेचिलो बन्दै जाँदा मध्यम वर्गको माथिल्लो तह प्रतिक्रान्तिका पक्षमा जान्छ भने ठूलो पङ्क्ति क्रान्तिका पक्षमा उभिन्छ । त्यसकारण एकीकृत जनक्रान्ति कार्यदिशाले मध्यम वर्गलाई नयाँ श्रमिक वर्गमा राख्दै भाबी क्रान्तिमा सहभागी गराउने र सर्वहारा वर्गको मित्रशक्तिका रूपमा हेरेको छ ।

ई) भूपरिवेष्ठित अवस्था

नेपाल भारत–चीनजस्ता विरश्वकै दुई ठूला देशहरूले घेरिएर रहेको छ । विश्वका अरू देशहरूसम्म पुग्न नेपालले भारत वा चीनको भर पर्नुपर्ने बाध्यता छ । यसप्रकारको भौगोलिक अवस्थाले नेपाली क्रान्तिमा अन्य देशहरूको तुलनामा फरक चरित्र र अवस्थाको सामना गर्नुपर्ने हुनजान्छ । त्यसकारण पृथ्वीनारायण शाहले नेपाललाई ‘दुई ढुङ्गाको तरुल’ भनेका थिए । चीन र भारत दुवै देशद्वारा घेरिएर रहे पनि नेपालमा चीनको प्रभाव नगन्य रहेको छ । आर्थिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा भारतीय प्रभाव नै एकछत्र रहेको अवस्था छ । सन् १९५० को नेपाल–भारत ‘शान्ति तथा मैत्री सन्धि’ को माध्यमले भारतले नेपाललाई स्वतन्त्र भूमिका निर्वाह गर्न अवरोध गरिरहेको छ । अर्थतन्त्र, राजनीति, सुरक्षा, संस्कृति सबै क्षेत्रमा भारतीय दबाब छ र उसका दलालहरू छन् । त्यसकारण नेपाली क्रान्तिले सुरुदेखि नै भारतीय दबाब र हस्तक्षेपको सामना गर्नुपर्ने हुन्छ । त्यसकारण नेपाली क्रान्ति न दीर्घकालीन प्रकृतिको, न त अल्पकालीन नै हुन सम्भव छ । नेपाली क्रान्ति चीन र रुसको भन्दा भिन्न मध्यम प्रकृतिको हुनसक्छ । यसलाई ‘मध्यम दूरी’ पनि भन्न सकिन्छ । त्यसकारण नेपाली क्रान्तिको बहस गर्दा देशको राजनीतिक नक्सा र त्यसले पार्ने प्रभावलाई पनि हेर्नुपर्छ । भौगोलिक अवस्था र अवस्थितिले क्रान्तिमा पार्ने प्रभावबारे माओ त्से तुङ भन्नुहुन्छ, ‘चीन एउटा विशाल मुलुक हो । चीनको पूर्वमा अँध्यारो हुँदा पश्चिममा उज्यालै रहन्छ, दक्षिणमा अन्धकार हुँदा उत्तरमा उज्यालै रहेको हुन्छ । त्यसैले दाउपेचका लागि ठाउँ नहोला भनेर चिन्ता गर्नु पर्दैन ।’
(माओ त्से तुङ, सङ्कलित रचना, भाग १, पृष्ठ ….., चीनको क्रान्तिकारी युद्धका रणनीतिक विषयमा समस्याहरू, डिसेम्बर, १९६३) ।

माओले चीनको सन्दर्भमा भन्नुभएझैँ भूपरिवेष्ठित देशको शक्ति सन्तुलन र सङ्घर्षको स्थितिलाई ख्याल राख्दै कुनै पनि देशको भौगोलिक अवस्थितिलाई विश्लेषण गर्नु र त्यसअनुसार परिस्थितिको ठोस विश्लेषण गर्न आवश्यक छ ।

उ) जातीय, क्षेत्रीय, लैङ्गिक समस्या

नेपाल भौगोलिक रूपले भारत र चीनको तुलनामा धेरै सानो मुलुक हो तर यो विविधता र विशिष्टताले भरिएको देश हो । मिश्रित भाषा, संस्कृति र बसोबास रहेको छ । नेपालबाट शाह वंशको उदयदेखि २५० वर्षसम्म ब्राह्मण, क्षेत्री समुदायले शासन गर्दै आए जसको कारण जनजाति, दलित, महिला र कतिपय भूगोलका जनता उत्पीडनमा परेका छन् । ती क्षेत्र र समुदाय मुक्ति चाहन्छन् । दलाल पुँजीवादी व्यवस्थाले उनीहरूलाई स्वतन्त्रता र अधिकार दिन सक्दैन, बरु भारतीय साम्राज्यवादसँग साँठगाँठ गरेर शोषण–दमन गरिरहन्छ । त्यसकारण दलाल पुँजीवादी सत्ता र नेपाली उत्पीडित समुदायका बीचमा पनि अन्तरविरोध बढ्दै गएको अवस्था छ । यसकारण जनजाति, क्षेत्र, महिला र दलित समुदाय नेपाली क्रान्तिका मित्रशक्तिहरू हुन् ।

ऊ) विज्ञान र प्रविधिमा क्रान्ति

आज विज्ञान तथा प्रविधिका क्षेत्रमा क्रान्ति नै भएको छ । प्रविधिमा नियन्त्रण गरेर बस्न अब परम्परागत शक्तिहरूलाई मुस्किल हुन थालेको छ । सूचनाप्रविधिका कारण शासकमा निहित युद्धप्रविधि जनताको हातसम्म पुगेको छ । सूचनाप्रविधिमा भएको क्रान्तिको मद्दतले जनता र उत्पीडित राष्ट्रहरूले शासकको हतियारको एकाधिकार तोड्न थालेका छन् । जनवादी गणतन्त्र कोरिया त्यसको पछिल्लो उदाहरण हो । हरेक प्रविधिले मानव समाज, मानव सम्बन्ध र युद्धको स्वरूपमा समेत अनिवार्य रूपमा प्रभाव पार्छ । त्यसैले प्रविधिका क्षेत्रमा आएको परिवर्तनले कार्यदिशामा प्रभाव पारिरहेको छ । त्यस सम्बन्धमा फ्रेडरिक एङ्गेल्स भन्नुहुन्छ, ‘ जब प्रविधिमा कुनै सुधार हुन्छ र त्यो सैनिक सेवामा प्रयोग हुन योग्य हुन जान्छ तथा त्यहाँ वस्तुतः त्यसको प्रयोग गर्न थालिन्छ, तब युद्धका पद्धतिहरूमा तत्काल र लगभग बलपूर्वक गम्भीर परिवर्तन कहाँसम्म भने क्रान्तिकारी परिवर्तन हुन जान्छन् ।’
(फ्रेडरिक एङ्गेल्स, ड्युहरिङ मत खण्डन, पृष्ठ २२३) ।

प्रविधिमा विकास हुनासाथ युद्धको स्वरूपमा मात्र होइन, उत्पादन सम्बन्धमा पनि परिवर्तन हुन्छ । तसर्थ एकीकृत जनक्रान्ति कार्यदिशाले प्रविधिका क्षेत्रमा भएको क्रान्तिलाई महइभ्वसाथ हेरेको छ ।

सारांशमा नेपालमा क्रान्ति सम्भव छ तर त्यसका लागि विचारमा विकास अपरिहार्य छ । नयाँ र मौलिक कार्यदिशा आवश्यक छ । अरू देशका सबै क्रान्तिकारीहरूले जसरी नै कसैले नहिँडेको कठिन बाटोमा हिँड्नुपर्ने बाध्यता छ । भौतिक जगत्मा सार्वभौमिकता र विशिष्टताको एकत्व भएझैँ नेपाली क्रान्तिमा पनि नेपाली विशिष्टता र माक्र्सवादका आधारभूत पक्ष (सार्वभौम पक्ष) का बीचमा संयोजन गरेर अथवा तालमेल गरेर मौलिक कार्यदिशाको माध्यमले नेपाली क्रान्ति सफल पार्न सकिन्छ किनकि दलाल पुँजीवादी शासनप्रणालीले नेपाली जनता र मुलुकको रक्षा र मुक्ति सम्भव छैन । राजनीतिक समस्या ‘घाँटीको सुर्केनी गाँठो’ झैँ झन्झन् जेलिँदै गएको छ । तसर्थ क्रान्ति सम्भव र अनिवार्य छ ।

बिहि, बैशाख २६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया