चुरेको सुख्खा क्षेत्रमा सिचाई हुने भएपछि किसान हर्षित


इलाम, २६ वैशाख ।

कुलो मर्मत गर्ने खर्च अभावमा खेतियोग्य जमिन बाँझै रहेको इलामको चुलाचुली गाउँपालिकामा नहर निर्माण शुरु भएको छ । २०५८ सालदेखि बन्द भएको कुलो भएको क्षेत्रमा नहर निर्माण शुरु भएसँगै किसानमा खुसियालि छाएको हो । चुलाचुली ५ का भत्तिमान तामाङ यो वर्षदेखि खेतमा चार बालि लगाउन पाइनेमा ढुक्क छन् । २०५८ सालमा बन्द भएको रतुबा खोला साना सिचाई योजना विस्थापित गरि सरकारले नहर निर्माण गरेपछि खाध्यबालिसँगै तरकारी खेती गर्ने तामाङको योजना छ ।
सिचाई हुँदा चार बालि उत्पादन दिने जग्गा भएपनि २ बालिमै चित्त बुझाएकि दिलमाया लिम्बुले नहर संचालन पछि ४ बालि खेतीको योजना छ । झापासँग जोडिएको चुरे क्षेत्रमा पर्ने चुलाचुलीमा सरकारले १३ करोडमा रतुवा खोला सिंचाई आयोजना निर्माण गरेपछि किसान उत्साहित भएका हुन् ।
१ हजार ३ घरधुरी रहेको चुलाचुलीको ६, ७ र ८ को ७ सय हेक्टर क्षेत्रफल सिचाई पुग्ने गरि पक्कि नहर निर्माणको काम अहिले ६० प्रतिसत सकिएको छ । १० किलोमिटर मुख्य नहरबाट रतुवा खोलाको पानी तानेर बाँकि १३ किलोमिटरमा १० वटा शाखा नहर निर्माणको काम अहिले भइरहेको छ ।

१२ महिना प्रति सेकेण्ड ७ सय ४१ लिटर पानी किसानको बारिमा पुग्ने नहरको अहिले मुख्य संरचना निर्माणको काम सकिएको छ । २०७४ असारमा रमन एपेक्स सफल जेभिसँग निर्माण संझौता भएको नहर चालु आर्थिक वर्षमै सक्नेछ ।

जलश्रोत तथा सिचाई विकास डिभिजनको सुपरिवेक्षणमा काम हुँदै आएको नरहबाट चुलाचुलीमा बसोबास गर्ने १० हजार बढी जनसंख्या प्रत्यक्ष लाभान्वित हुने चुलाचुली गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताउनुभयो । चुरे क्षेत्रको जंगल फडानीका कारण पानीका श्रोतहरु सुकेपछि खानेपानीकै समस्या भोग्दै आएका किसानहरु नहर संचालनमा ल्याउन चाँडो निर्माण सम्पन्न गर्न निर्माण कम्पनीको काममा श्रमदान समेत गर्दै आएका छन् ।

रतुवा खोला सिचाई आयोजनाको निर्माणका लागि स्थानीय उपभोक्ताले ७० लाख ५७ हजार ४ सय ५७ रुपैयाँ बराबरको जनश्रमदान गर्नुपर्नेछ । नहर निर्माण सम्पन्न गर्न इन्टेकमा बाँध बाधेर ५ सय २५ मिटर मुख्य पक्कि नहर मार्फत किसानलाई पानी विरतण गरिने जलश्रोत तथा सिचाई विकास डिभिजन इलामका इञ्जिनियर राम बालक साहाले बताउनुभयो । सिचाई सुविधा नभएर खेतबारीमा खेती गर्न आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेको चुलाचुलीमा रतवा खोला सिंचाई आयोजनाको नहर निर्माणपछि किसानमा उत्साहा छाएको चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले बताउनुभयो ।

चुरे क्षेत्र भएपनि समथर खेतीयोग्य जमिन भएको चुलाचुलीमा सिंचाई सुविधा पुगेपछि किसानले मौसमि र बेमौसमि तरकारी खेती गरि आम्दानी लिनेछन् । झापाको दमक बजार नजिकै पर्ने भएकाले किसानले उत्पादन गरेको तरकारी र कृषि उपज सहजै बजारसम्म पुग्ने गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले बताउनुभयो ।

बिहि, बैशाख २६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter