नेकपा विरुद्ध सरकारले गरिरहेको प्रचारयुद्धकाे प्रभावकारी प्रतिरोध गर्नुपर्छः अनिल शर्मा ‘विरही’


माक्र्सवादका प्रणेताहरू मूलतः अध्यक्ष माओले क्रान्तिका ३ जादुगरी हतियार पार्टी, सेना र संयुक्त मोर्चालाई भन्नुभएको छ । आजको युगमा यो अपूरो र अपूर्ण भएको छ । अब क्रान्तिका जादुगरी हतियारमा ‘सञ्चार’ लाई जोड्नुपर्छ । सञ्चारको महत्वमा उचित दृष्टिकोण नबनेका कारण आन्दोलनमा समस्या भैरहेको छ । पर्याप्त जनमत बनेको छैन र विभ्रमको शासन चलिरहेको छ । ‘लो टेक र हाई टेक’ को उचित समायोजनसमेत भएको छैन । नेकपा र उसमाथि लगाइएको ओली–बादलमण्डलीको कथित प्रतिबन्धका सन्दर्भमा पनि त्यो मुखरित भएको छ ।

तानाशाह हिटलरका सञ्चारमन्त्रीको धारणा यस सन्दर्भमा महत्वपूर्ण छ । उनी गलत समाचार पनि सयपटक सही भनेपछि सही समाचारका रूपमा स्थापित हुन्छ भन्थे । हिटलरको त्यसप्रकारको सोचाइलाई अमेरिकाले सबैभन्दा बढी प्रयोगमा ल्याएको छ । इराक र सद्दाम हुसेनका विरुद्ध आणविक अस्त्रको भयानक कुरूप चित्र निर्माण गरेर युरोप र अमेरिकामा इराकविरोधी जनमत बनाइयो । त्यही जनमतमा टेकेर अमेरिका र विश्व सुरक्षाका निम्ति भन्दै इराकको बर्बादी गरियो । तर इराकमा आणविक अस्त्र नभएको अहिले पुष्टि भयो । अमेरिकाले तेलका निम्ति सञ्चारको व्यापक प्रयोग (दुरुपयोग) गरेको थियो । उत्तरकोरिया, सिरिया, भेनेजुयलाका विरुद्ध ‘सञ्चार सेना’ लाई अमेरिकाले त्यसरी नै ‘एसल्ट ग्रुप’ मा परिचालन गरिरहेको छ । ‘ब्याक फोर्स’ का रूपमा विश्वबैङ्क, अन्तराष्ट्रिय मुद्राकोष, सुरक्षा परिषद् र लाखौँ गैसस परिचालित छन् । सबैभन्दा पछाडि नेटो फौज तम्तयार छ ।

ओली–बादलमण्डलीले नेपालमा सञ्चारमाध्यमलाई त्यसरी नै प्रयोग गरिरहेको छ । नेकपाले ओली सरकार र प्रचण्ड–वलीमण्डलीको राष्ट्रघात, जनघात र देशद्रोहको भण्डाफोर गरेपछि शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्न थाल्यो । सरकारी सञ्चारमाध्यम र सत्ता–शक्ति प्रयोग गरेर आरोप र लाञ्छनाको बौछार गर्न थाल्यो । ओली– बादलमण्डलीको अपराधलाई बचाउ गर्ने त्यो हर्कतलाई बल पुग्ने गरी प्रचण्डले आफूलाई मार्न टोली खटाएको प्रचार त्यही समयमा सार्वजनिक गरे । सत्ताको ताबेदारी गरेर विज्ञापन र नजराना बटुल्न पल्केका केही सञ्चारले चन्दाआतङ्कको कथा बनाए जसरी उत्तरकोरियाका विरुद्ध भारतीय सञ्चार र भेनेजुयलाका विरुद्ध अमेरिकी सञ्चारमाध्यमले गरिरहेका छन् ।

नेकपाका विरुद्ध भएको प्रचारयुद्धमध्ये नेताहरूको बीचमा अन्तरसङ्घर्ष भएको, कारबाही भएको, अरू पार्टीमा जान लागेको यस्ता अनेक प्रचार भए । जनयुद्धको समयमा चर्चित सिलगुडी प्रशिक्षणमा कार्यकर्ताले ‘आगो नबलीकन धुवाँ निस्कन्न’ भन्दा डा. बाबुराम भट्टराईले ‘ आजको प्रविधिले आगोबिना नै धुवाँ निकाल्न सकिन्छ’ भनेका थिए । नेकपाको नेतृत्वका विरुद्ध कृत्रिम धुवाँको कुइरीमण्डल धुवाँ शीतलहरझैँ फैलियो । नेकपामा अहिले पार्टी कार्यदिशा र नेतृत्व (मूलतः महासचिव) का विषयमा अन्तरविरोध शून्यबराबर छ । सिरक ओढेर मुड्की ताक्ने कायरहरू भागाभाग गरिरहेका छन् । यस्तो अवस्थामा सत्ताधारी पार्टीका नेताहरूका बीचमा झगडा, गोडा तानातान, लुटपाट, राष्ट्रघात, जनघातबाट वाक्क भएका कार्यकर्ता आदर्शको खोजीमा नलागून् भनेर ‘विप्लव पनि उस्तै हो’, प्रकाण्ड र वामदेव वा नारायणकाजीजस्तै हुन् भनेर विभ्रम खडा गर्नुपथ्र्यो । क्रान्तिकारी जनता र ध्रुवीकरणलाई निरुत्साहित गर्नुपथ्र्यो । त्यसैले अनेक कथा बनाइयो । व्यापक प्रचार गरियो । नेकपाप्रति सहानुभूति राख्ने पत्रकार तथा सञ्चारमाध्यमको मुख थुन्ने र एकपक्षीय रूपमा पञ्चायती कालको ‘गोरखा पत्रकारिता’ प्रवाह गर्ने सरकारी रणनीति छ जसका आधारमा देशभक्त र जनपक्षीय शक्तिका विरुद्ध जनमत बनाउने र लूट तथा देशद्रोही अनुहार छोप्ने मनसुवा ओली–बादलमण्डलीको छ ।

हरेक सङ्घर्ष र आन्दोलन अथवा युद्धमा प्रतिक्रियावादी पक्षले झूट्टा, कपोलकल्पित, भ्रमित सूचना प्रवाह गरेर आफ्नो अपराध लुकाउने र जनमत बढाउने कार्य गर्छन् । त्यसक्रममा विभीषणहरू प्रभावकारी हतियार हुन्छन् । राम–रावण युद्धमा रावणको भाइ विभीषण राम–हनुमानमण्डलीमा आत्मसमर्पण गरेपछि रावणको हार भएको थियो । नेकपाले केही समयअगाडि व्यक्तिवादी, महत्वाकाङ्क्षी, शङ्कास्पद, भ्रष्ट र केही अलमलमा परेका पार्टी निकट सञ्चारकर्मीहरूलाई कारबाही गरेको थियो । तिनै विभीषणहरूलाई सरकारी पक्षले प्रयोग गरेर विभ्रम खडा गर्यो ।

नेकपाको सङ्गठन, नैतिक र वैचारिक रूपमा विकास भइरहेकोमा विपक्ष र सरकारी स्रोत नै सहमत छ । अन्यथा यत्रो बबन्डर आवश्यक नै थिएन । अब प्रश्न उठ्छ, एकता नभएको भए विकास हुन्थ्यो त ? विकास छ त्यसैले पार्टीमा एकता छ । नेकपा शक्तिशाली बन्दै गएका कारण आक्रमण भएको छ । आक्रमण नेतृत्वमाथि हुन्छ र कार्यकर्ता र जनतालाई निराश पारिन्छ । रिहा भएपछि स्थायी समितिको बैठकमा अनुभूति मन्तव्य राख्दै भावुक मुद्रामा प्रकाण्डले ‘मलाई मार्ने निश्चित भएको भए म नेकपा–जिन्दावाद !, क. विप्लव–जिन्दावाद !! नारा लगाउने थिएँ’ भनेको कुरा सार्वजनिक भएको छ । यस्तो अवस्थामा विप्लव र प्रकाण्डका बीचमा अन्तरविरोध भनेर कृत्रिम धुवाँको खेती किन हुन्छ ? यो सामान्य समाचार मात्र होइन, ओली– बादलमण्डलीले बोकेको बम–बारुद हो । यो अग्रमोर्चा हो, एसल्ट ग्रुपको फौज हो । इमानदारी र क्षमताद्वारा समस्याको समाधान गर्न सम्भव छ । आन्दोलन उठ्दै जाँदा प्रविधि र कलालाई अत्यधिक दुरुपयोग गरेर नक्कली समाचार (फेक न्युज) र भ्रम तथा आक्रमण झन् बढ्नेछ । त्यसैले अध्यक्ष माओले दुस्मनले समर्थन गर्दा, प्रशंसा गर्दा सतर्क हुनु र विरोध गर्दा सही छौँ भनेर बुझ्नुपर्छ भन्नुभएको थियो । तसर्थ हामीले दुस्मनको प्रचारयुद्धलाई गहिरोसँग बुझ्नुपर्छ र प्रभावकारी प्रतिरोध गर्नुपर्छ । नीतिगत प्रतिरोध मात्र होइन, घण्टा–घण्टामा व्यावहारिक प्रतिरोध गर्नुपर्छ । अध्यक्ष माओले सांस्कृतिक क्रान्तिको समयमा भन्नुभएको थियो, ‘बन्दुकका हत्याराभन्दा कलमका हत्यारा झन् बढी खतरनाक हुन्छन् ।’ त्यसकारण ओली–बादलमण्डलीको प्रचार तथा सूचनाफौजका विरुद्ध प्रभावकारी प्रचारफौज तयार नगरी समग्र लडाइँ जित्न सम्भव छैन ।

बिहि, बैशाख १९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विचार-ब्लग समाचार

Like us On Facebook

Follow Us On Twitter