संकटमा नेकपाको ७० वर्षे इतिहास: पुष्पलालको विद्रोह, झापा विद्रोह र माओवादी विद्रोहको फ्युजनको आवश्यकता


  • रवीन्द्र श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको ७० वर्ष पुगेकोछ । जनताको कम्युनिष्ट पार्टी प्रतिको समर्थन विश्वमा विरलै देखिने खालको अभूतपूर्व रहेकोछ र जनताले कम्युनिष्ट पार्टीको नाममा चुनावमा लडेको पार्टीलाई वहुमत सहित सत्तामा पु¥याएकोछ । यस विचमा कम्युनिष्ट नेताहरुले ठुला गल्तिहरु पनि गरेका छन् र ठुला कामहरु पनि गरेका छन् र साथै कम्युनिष्ट भनिएका कयौं नेताहरुले ठुला गद्दारीहरु पनि गरेका छन् । कम्युनिष्ट आन्दोलनले सामान्य मानिसहरुलाई उठाएर ठुला नेताहरु वनाइ दिएको छ भने राजतन्त्र सहित कयौं ठुला नेताहरुलाई फालेर आफ्नो शक्तिपनि देखाइदिएकोछ ।

नेपालको कम्युनिष्ट आन्दोलनले वाल्यकाल र युवाकालका अनेकौं गल्ति कमजोरी र कयौं नेताहरुका गद्दारीहरुवाट सिकेर प्रौढ अवस्थामा प्रवेश गरिसकेकोछ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना स्वयम् पनि कांग्रेस पार्टीको गलत सिद्धान्त र विचारहरुका विरुद्ध संघर्ष गर्दै भएको थियो । पुष्पलाल श्रेष्ठ ०६ सालमा कांग्रेस पार्टीमा हुनु हुन्थ्यो । उहाँले कांग्रेस पार्टीका सिद्धान्त र नीतिहरुले मात्रै नेपालमा वहुसंख्यक जनताको लागि उपयुक्त व्यवस्था स्थापना गर्न नसक्ने देख्नुभयो र आफु सहित ५ जना युवाहरु मिलेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नु भयो । संस्थापकहरु सबै त्यो वेला ३० वर्ष भन्दा कम उमेरका थिए । तात्कालिन राणा शासन, त्रिभूवन र महेन्द्रको शासनका विरुद्ध संघर्ष गर्ने क्रममा यस सानो पार्टीले अनेकौं शिक्षा लियो । सानोवाट क्रमशः ठुलो हुँदै गयो । ०१५ सालको आम चुनावमा यो पार्टी संसदमा तेश्रो पार्टी वन्यो । ०१७ सालमा जब राजा महेन्द्रले सैन्य वलको भरमा निर्वाचित जनसरकारलाई अपदस्थ गरेर सत्ता हातमा लिए, तब नेपाल कम्युनिष्ट पार्टीका तत्कालिन महासचिव डा.केशज जंग रायमाझीले राजाको कदमलाई स्वागत गरेर वक्तब्य दिए । उनले त्यो वेला देश वचाउन राजाको कदम ठिक थियो भन्ने जस्त अनेकौं कू तर्कहरु दिए । तर यथार्थमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव जस्तो ठुलो नेताले ठुलो गद्दारी गरेका थिए । यो राजावादी अवसरवादका विरुद्ध पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्य, मोहन विक्रम सिंह लगायतले विद्रोह गर्नु भयो । वाँकि रहेका केन्द्रिय सदश्यहरु र अरु कार्यकर्ताहरु मिलेर महासचिव रायमाझीलाई पार्टीवाट निश्काशन गर्ने काम भयो । तर रायमाझीले नेपाल कम्युनिष्ट पार्टी कै नाममा पार्टी चलाइरहे । यसरी नेपालको इतिहासमा पहिलो पटक पार्टी फुट्यो ।

पार्टीका ठुला नेताले जे गरेपनि मान्नु पर्दछ भनेर वसेको भए र पार्टी फुटाउनु हुन्न भनेर एकताको राग अलापेर बसेको भए नेपाल कम्युनिष्ट पार्टीको अस्तित्व त्यति वेलै समाप्त हुने थियो । रायमाझीको राजावादी अवसरवादका विरुद्ध त्यो वेला पुष्पलालहरुले गर्नु भएको विद्रोहले नै अहिलेको विशाल कम्युनिष्ट जनमत निर्माणको आधार वनाएको थियो । तसर्थ नेताहरुले गलत गरेमा र गद्दारी गरेमा विद्रोह गर्नु पर्दछ भन्ने यो शिक्षा नेपाली कम्युनिष्ट आन्दोलनको ठुलो शिक्षा हो । गद्दार रायमाझीले नेपाल कम्युनिष्ट पार्टी भन्ने दल चालु राखेर राजतन्त्र र पंचायती व्यवस्थाको ठुलो सेवा पनि गरे । यसवापत उनले कयौं कार्यकर्ताहरुलाई सत्ताको भनसुनमा जागीर लगाइदिए, विदेशमा छात्रवृत्तिमा पढ्न पठाए, आफु र परिवारलाई सुखमय जीवन दिए, उनी राजसभा स्थायी समितिको सभापति वनेर सुविधामय जीवन जिए ।

रायमाझीका विरुद्ध विद्रोह गर्दै नयाँ कम्युनिष्ट पार्टी पुनर्गठन गरेका पुष्पलाल लगायतकाले जीवनभर अभाव र दुख भोगे । ०३५ सालमा पुष्पलालको निधन हुँदा उहाँको शवलाई तात्कालिन सरकारले काठमाण्डौंमा ल्याउने अनुमति सम्मपनि दिएन । तर जनता र देशको लागि पुष्पलाल लगायतका नेता कार्यकर्ताहरुले रायमाझीको गद्दारी र महेन्द्रको पंचायती प्रजातन्त्रका विरुद्ध निरन्तर संघर्ष नचलाएको भए अहिले नेपाल कम्युनिष्ट पार्टीको अस्तित्व रहने थिएन, जनतामा कम्युनिष्ट प्रति विश्वास हराउने थियो । कम्युनिष्ट नामको दुरुपयोग गर्ने रायमाझीहरुका विरुद्धको विद्रोह सही र आवश्यक थियो ।

नेपाली कम्युनिष्ट आन्दोलनमा ०२८ सालमा नेपाल कम्युनिष्ट पार्टीको झापा जिल्ला कमिटिले गरेको विद्रोहको ऐतिहासिक महत्व रहेकोछ । त्यो वेला कम्युनिष्ट पार्टी अनेक समुहहरुमा विभाजित थियो । दोश्रो महाधिवेशनमा महासचिव भैसकेका मनमोहन अधिकारीको नेतृत्वमा त्यो वेला पूर्व कोशी प्रान्तिय कमिटि सक्रिय थियो । त्यसको मातहत रहेको झापा जिल्ला कमिटिले नेतृत्वको दक्षिणपन्थी अवसरवादका विरुद्ध विद्रोह गरी आफुलाई स्वतन्त्र समुह वनायो र यसको नेतृत्वमा भारतमा चलिरहेको नक्सलवाडी सशस्त्र विद्रोह र चिनियाँ सांस्कृतिक क्रान्तिवाट प्रेरणा लिंदै छापामार सशस्त्र संघर्षको शुरुवात ग¥यो । यस आन्दोलनले कम्युनिष्ट आन्दोलनको पहिलो पुस्तामा रहेको दक्षिणपन्थी अवसरवादका विरुद्ध क्रान्तिकारी कार्यदिशाको आधारमा पार्टीलाई पुनर्गठन गर्ने अभियानको शुरुवात ग¥यो । झापा आन्दोलनले माओविचारधारा, दीर्घकालिन जनयुद्ध जस्ता माक्र्सवाद लेनिनवादको नयाँ विकासलाई नेपाली आन्दोलनमा स्थापित ग¥यो । यदि तात्कालिन झापा जिल्ला कमिटिले तात्कालिन मनमोहन अधिकारी नेतृत्वको केन्द्रिय समितिका विरुद्ध विद्रोह गरी अलग समुह(पार्टी) नवनाएको भए नेपालमा माले, एमाले वन्ने नै थिएन, इतिहास अर्कै हुने थियो ।

०४२ साल देखि ०५१ साल सम्मका विविध अवधीमा मोहन विक्रम सिंह, निर्मल लामा जस्ता स्थापित नेताहरुका विरुद्ध विभिन्न खाले संघर्षहरु र विद्रोह तथा फुट र जुटको अनेकौं चरण पार नगरेको भए ऐतिहासिक जनयुद्ध सम्भव नै हुने थिएन । यदि जनयुद्ध नभएको भए नेपालमा अहिले सक्रिय तानाशाही राजतन्त्रको शासन मुनि सबै दलहरु खेलौना वनिरहेका हुनेथिए । ज्ञानेन्द्र मात्र होइन, वीरेन्द्र नै जीवित रहेको भएपनि उनी समेत आफ्नो अधिकार पुनः फर्काउने दाउनमा थिए भन्ने कुरा इतिहासले प्रमाणित गरेको विषय हो । जनयुद्धले गाउँ सहर सबै तिर अन्याय अत्याचारका विरुद्ध संघर्ष गर्नु पर्दछ र सकिन्छ भन्ने शिक्षा र आत्मविश्वास जनतामा पैदा गरेकोछ जुन धेरै महत्वपूर्ण पक्ष हो ।

जनयुद्धलाई जसरी विसर्जन गरियो, त्यो गम्भीर प्रकृतिको गद्दारी थियो । विसर्जन पछि माओवादी र एमाले नेतृत्वले पार्टी एकता ०६४ साल मै गरेको भए नेपालको इतिहास अहिले अर्कै भैसक्ने थियो । त्यति वेलै दुई तिहाइ मत सहित सरकार वन्ने थियो र त्यति वेलै संविधान लेखि सकिने थियो । तर दुबै पार्टीका नेताहरुले गम्भीर गल्ति गरे । अहिले दुई पार्टी विच एकता भएर वहुमतीय सरकार वनेको छ । तर वल्ल जिल्ला समितिका अध्यक्ष सचिव सम्म टुंगो लगाएकोछ । अझै केन्द्रिय विभागहरु, जनवर्गीय संगठन, पोलित ब्युरो आदि वनेको छैन । पार्टीमा पद हत्याउन मारामारी शुरु भएको छ । सत्तामा जाने लोभले हुने यस्तो पदीय हानाथाप र झगडाले नेकपालाई कांग्रेस पार्टी कै स्थितिमा रुपान्तरण गरिसकेकोछ । देखिने गरी तीनवटा ठुला गुटहरु र अनेकौं सानातिना गुट उपगुटहरुको संयुक्त मोर्चा जस्तो भएकोछ नेकपा । देशलाई एकतावद्ध गर्नुपर्ने पार्टी आफै एकतावद्ध छैन । देशभरीका जनतालाई रोजगारी दिनुपर्ने सत्ताधारी नेकपाले आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई रोजगारी अर्थात कामको जिम्मेवारी वाँडफाँड गर्न सकेको छैन । यसले नेकपाका नेताहरुको वैचारिक र क्षमतागत समस्या गम्भीर भएको देखाउँछ ।

सरकारले जनताको अपेक्षा र चुनावी घोषणापत्र अनुसार काम देखाउन सकेको छैन । केही केही कामहरु त जुनसुकै सरकार भएपनि भैरहेको हुन्छ । तर मुख्य कुरा कम्युनिष्ट नीति अनुसार देशको तीब्र विकास तथा जन अपेक्षा पुरा गर्ने कुरामा यो सरकार असफल देखिएकोछ । सबैतिर पुरानै सरकारहरुको नीतिगत निरन्तरता छ । यो सरकार नाम मात्रको कम्युनिष्ट भएकोछ । काम जति सबै कांग्रेस र पंच सरकारहरुकै निरन्तरतामा छ । मेलम्ची, काम नगर्ने ठेकेदारहरुलाई कारवाही गर्ने विषय, सिण्डिकेट तोड्ने विषय आदिमा सरकार असफल भएकोछ । वाइडवडी भ्रष्टाचार, वालुवाटार जग्गा प्रकरण आदिमा नेकपाका ठुला नेताहरु मुछिएका छन् । व्यापार घाटा, शोधनान्तर घाटा तीब्र रुपमा वढेकोछ । पूँजीगत विकास खर्च नौ महिनामा ६६ प्रतिशत हुनु पर्नेमा ३० प्रतिशत पनि भएको छैन । पैसा भएर पनि खर्च गरेर विकास गर्न नसक्ने नालायकी सरकारले प्रदर्शन गरिरहेकोछ । सरकारले कुनैपनि नयाँ उद्योग खोलेर सयजनालाई पनि रोजगारी दिन सकेको छैन । केवल कांग्रेसले सरकारी उद्योगहरु निजीकरण गरेर कौडिको दाममा वेच्यो भनेर भाषण गर्दैमा अब जनताले पत्याउँदैनन् ।

पाल्पाको पूर्वखोला गाउँपालिकाले वरु निजी विद्यालयहरुलाई राष्ट्रियकरण गरेर शिक्षामा भेदभाव हटाउने हिम्मत गरेकोछ । तर प्रधानमन्त्री ओली र शिक्षा मन्त्रीले यस्तो गर्ने हिम्मत नगर्नुले उहाँहरु कांग्रेस र पंच सरकारहरुकै वाटोमा रहेको स्पष्ट गर्दछ । बैदेशिक रोजगारीमा जानेहरुको दैनिक ३ जनाको शव विमानस्थलमा आउन छोडेको छैन । मुठ्ठिभर नेताहरु र नोकरशाहहरु तथा दलाल पूँजीपतिहरुको भने दिन दुई गुणा रात चौगुणा प्रगति भैरहेकोछ । नयाँ आर्थिक वर्षको वजेट भँगेराको छाती जस्तो मात्रै वनाउने गरी केवल १५ खर्बको सिलिङ वनाइएकोले आगामी वर्ष पनि विकासको गति तीब्रतामा नजाने स्पष्ट भएको छ ।

वालुवाटारमा चाकडि वजाएर आफ्नो स्वार्थ सिद्ध गरिरहेका मुठ्ठिभरलाई र सरकारी पदमा रहेका केहीलाई छाडेर वहुसंख्यक कम्युनिष्ट सदश्यहरु र वहुसंख्यक जनता —सरकार र पार्टीको कामवाट सन्तुष्ट छैनन् । मुठ्ठिभर दलाल तथा नोकरशाही पूँजीपति वर्गको पक्षमा काम गर्ने कम्युनिष्ट पार्टी भित्रका ठुलावडाहरुका विरुद्ध पुष्पलाल, झापाली विद्रोहीहरु र माओवादी विद्रोहीहरुले जस्तै विद्रोहको झण्डा उठाइएन भने नेपाली कम्युनिष्ट आन्दोलनको ७० वर्षको इतिहास संकटमा पर्नेछ । नेपालमा पनि कम्युनिष्ट आन्दोलन— पश्चिम वंगाल र पूर्वी युरोप तथा सोभियत संघमा जस्तै ढल्ने खतरा पैदा भएकोछ । वर्तमान नेपाली कम्युनिष्ट आन्दोलनमा संस्थापक नेता पुष्पलाल श्रेष्ठले देखाउनु भएको वाटो पुनः आवश्यक भएकोछ ।

मङ्ल, बैशाख १०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विचार-ब्लग समाचार

Like us On Facebook

Follow Us On Twitter