बिहीबार अमेरिकाबाट अन्तरिक्षमा उड्दै छ नेपाली स्याटेलाइट


नेपालले बिहीबार आफ्नो पहिलो भूउपग्रह (स्याटेलाइट )‘नेपाली स्याट १’ अन्तरिक्ष पठाउदै छ । नेपाली झन्डा, विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को लोगोसहित नेपाली समयअनुसार बिहीबार बिहान साढे २ बजे अमेरिकाको भर्जिनियास्थित स्पेस कम्पनी ‘अर्बिटल एटिके’ को रकेटबाट स्याटेलाइट उडाइने तयारी गरिएकाेछ ।

जापानको क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्युटेक)सँग मिलेर बनाइएको नेपाली स्याट १ नाम दिइएको नेपालको पहिलो स्याटेलाइट करिब डेढ करोडको लागतमा बनेको हाे । ‘नानो’ वर्गमा पर्ने  यो स्याटेलाइटको तौल १ किलो ३ सय ग्राम छ । घनाकार स्याटेलाइटको  लम्बाइ, चौडाइ र उचाइ १०–१० सेन्टिमिटर छ  ।

स्याटेलाइट जापानको क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्युटेक) मा नेपालका २ र अन्य देशका ८ वैज्ञानिकले तयार पारेका हुन् । यसको आयु अधिकतम तीन वर्ष हुने र यसले खिचेका तस्बिरहरू सामान्य खालका हुने नास्टको प्रविधि विभाग प्रमुख डा.रवीन्द्र ढकालले बताए । याे अन्तरिक्षमा पुगेको झन्डै एक महिनासम्म इन्टरनेसनल स्पेस स्टेसनमा गएर बस्ने छ ।

मे महिनाको अन्त्यबाट पृथ्वीको चक्कर काट्न थाल्ने र त्यसको तीन दिनपछि स्याटेलाइटले तथ्यांक पठाउन सुरु गर्ने अनुमान गरिएको छ । यस क्रममा नेपालको आकाशमाथि दैनिक ४ देखि ५ मिनेट रहने छ ।

बुध, बैशाख ४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया