सुस्तामा भारतबाट सीमा मिचिएको समाचार छाप्दा पुष्करलाल श्रेष्ठले भाेगेका यी पिडा……


एक पटक के भएछ भने ‘नेपाल समाचारपत्र’ले सुस्तामा भारतबाट सीमा मिचिएको समाचार तस्वीरसहित छापेछ। यथार्थ जनतामा ल्याइदिनुपर्छ भन्ने हिसाबले तस्वीरसहित त्यो समाचार छापेको बताउँछन् पुष्करलाल श्रेष्ठ। त्यस बेला त्यो समाचारले चर्चा पनि पायो।

त्यस बेला भारतीय दूतावासमा प्रेस हेर्ने ‘फस्र्ट सेक्रेटरी’ मनोज भारती थिए। उनीसँग पुष्करलाल श्रेष्ठको राम्रै सम्बन्ध थियो रे, व्यक्तिगत रुपमा पनि। समाचार आएको दुई–तीन दिनपछि मनोजले पुष्करलाई फोन गरेर कूटनैतिक शैलीमा भने रे, ‘यो समाचार विनाआधारमा आएको जस्तो देखियो, यसले हाम्रो सम्बन्ध बिगार्ला कि ?’

पुष्करको प्रत्युत्तर थियो रे, ‘समाचार आधिकारिक र पूर्ण छैन भने त्यो कुरा तपाईंले लेखेर पठाइदिनुभए पनि हुन्छ। समाचार गलत छ भने त्यसलाई सुधारेर छापिदिउँला। तर त्यो समाचार हामीले भारतको विरोध गर्नका लागि भन्दा पनि आफ्नो देशको सीमाको रक्षाका लागि छापेका हौँ।’

त्यसपछि पनि स्थानीय संवाददाताले त्यसको फलोअप समाचार पठाइरहे। दुई–तीन वटा फलोअप समाचार छापिइसकेपछि फेरि मनोज भारतीले नै फोन गरेर कूटनीतिक शैलीमा भने रे, ‘मैले भन्दाभन्दै पनि तपाईंले समाचार छापिरहनुभयो, त्यसले गर्दा हाम्रो सम्बन्ध बिग्रन पनि सक्छ है।’

त्यसपछि के भयो रे भने ‘नेपाल समाचारपत्र’मा भारतसँग सम्बन्धित वा जोडिएका बहुराष्ट्रिय कम्पनीका पुराना मात्र होइन, नयाँ सम्झौता भइसकेका विज्ञापनहरू पनि काटिए। २६ जनवरी भारतको स्वतन्त्रता दिवस। त्यस अवसरमा नेपालस्थित भारतीय दूतावास वा भारत सरकारले नेपालका प्रायःदैनिकलाई विज्ञापन दिने गर्छ। तर त्यो पटक ‘नेपाल समाचारपत्र’ले त्यो विज्ञापन पाएन। पुष्कर तर्क गर्छन्, ‘त्यसबाट पनि थाहा हुन्थ्यो कि हाम्रो प्रकाशनगृहप्रति उनीहरूको बदलिँदो व्यवहार।’

बहुराष्ट्रिय कम्पनीका विज्ञापनहरू कटौतीमा परे पनि उनी गलिसकेका थिएनन्। उनमा आत्मविश्वास किन पनि थियो भने त्यसताका कामना प्रकाशनमा धेरै जना राष्ट्रिय उद्योगपति–व्यापारी लगानीकर्ता थिए। ती लगानीकर्ता देशकै मुख्य विज्ञापनदाता हुन् भन्दा फरक पर्थेन। उनलाई लागेको थियो, ‘राष्ट्रियताको मुद्दा उठाएको हुनाले कटौतीमा परेका बहुराष्ट्रिय विज्ञापनको क्षतिपूर्ति हुने गरी उनीहरूले नै प्रकाशनगृहलाई ‘प्रमोसन’ गर्छन्, मलाई स्याबासी दिन्छन्।’

उनले सोचेजस्तो भएन, बरू ठीक विपरीत पो भयो रे ! त्यसक्रममा रात–दिन आफ्नै प्रकाशनगृहका लगानीकर्तासँग पनि माथापच्ची हुन थालेछ। लगानीकर्ताहरूले उनलाई भन्न थाले रे, ‘हामी यति धेरै मान्छे यो प्रकाशनमा आबद्ध छौँ। त्यस्तो थाहा पाउँदापाउँदै तपाईंले यस्तो काम गरिदिनुभयो। हामीलाई समेत अप्ठ्यारो प¥यो। भारतीय दूतावासले हामीलाई बोलाउनसमेत छाडिसक्यो।’ त्यसबाट उनीहरूको व्यवसायमा समेत केही असर–समस्या परेको जस्तो पुष्करले अनुभूति गरे।

रात–दिन बारम्बार ‘तिम्रो कारणले, तिम्रो कारणले’ भनेर ३०/३२ जना आफ्नै पार्टनरहरूले ‘टोकिरहेपछि’ एक किसिमले निराश र पराजितजस्तै भएका थिए रे उनी। संस्थामा आर्थिक सङ्कट चुलिँदो थियो। बोर्ड बैठक बसेर लगानीकर्तासँग सहयोग मागे उनले। तर त्यसप्रति उनीहरूको उदासीनता मात्र होइन, उल्टो प्रतिप्रश्न हुन्थ्यो रे, ‘समाचार छापेर बहुराष्ट्रिय कम्पनीहरूका विज्ञापन नआउने वातावरण बनाएर त्यत्रो नोक्सान गराइसक्नुभयो, आर्थिक र व्यक्तिगत सम्बन्धमा पनि अप्ठ्यारो स्थिति बनाउनुभयो। अब तपाईं नै पैसा खोज्नुहोस्। तपाईं नै तलब दिनुहोस्। तपाईं नै कागज किन्नुहोस्।’

एकातिर तलबको दबाब। अर्कातिर कच्चा पदार्थको दबाब। त्यति धेरै लगानीकर्ता भएर पनि आफैँले पैसा खोज्नुपर्ने स्थिति आयो। भन्छन्, ‘मन–मस्तिष्कमा राष्ट्रियता जागेकाले गर्दा आफ्नै संस्थाभित्र मैले त्यस किसिमको पीडा भोग्नुपर्‍यो।’ आफ्नै पत्रिकामा विज्ञापन दिनु भनेको भारतलाई चिड्याउनुजस्तो हुन्छ भनेर आफ्नै विज्ञापनसमेत उनीहरूले झिक्न थाले रे !

एक जना पार्टनरले यसबारे अब कुनै हालतमा फलोअप समाचार नआओस् भनेर ‘खबरदारी’ गरेको स्मरण गर्दै भन्छन्, ‘त्यो दिन म खुब रोएँ, एक्लै बाथरुमभित्र। यो मुद्दा उठाएर गलत काम पो गरेँ कि भनेजस्तो पीडा।’

भारतीय दूतावासका फर्स्ट सेक्रेटरी मनोज भारती आफ्नो कार्यकाल सकेर फर्किसकेका थिए। र, उनको ठाउँमा गोपाल बागले आएका थिए। भन्छन्, ‘दूतावाससँग त एक किसिमको ‘भ्याकुम’ भइसकेको थियो। यद्यपि मेरा तर्फबाट त त्यस्तो केही थिएन नै किनभने मैले पत्रकारिता गरेको हुँ। तर एक किसिमले दूतावाससँग सम्बन्ध ठ्याक्कै टुटिसकेको अवस्था थियो।’

त्यसताका कैलाश प्रधान कामना प्रकाशनमा मेनेजर थिए। भन्छन्, ‘अर्का साथी नवीन चित्रकार र प्रधानले मेरो छटपटी देखेर होला, भारतीय दूतावासमा गएर कुरा गरेछन् क्यारे।’ पुष्करका अनुसार उनीहरूले भने रे, ‘पुष्कर व्यावसायिक पत्रकार हो र राष्ट्रियताको पक्षमा लाग्छ। तर ऊ एन्टी इन्डियनचाहिँ होइन। तिमीहरूबीच पूरै ‘भ्याकुम’ भएको रहेछ।’ उनीहरूले गोपाल बागलेलाई भेटेर त्यसो भनिसकेपछि कैलाशको निम्तोमा उनी एक दिन कामना प्रकाशनमा आएको बताउँछन् पुष्कर। त्यति बेला कामना प्रकाशनको कार्यालय सोल्टी होटलको मुखैमा थियो।

भेटमा पुष्करले सबै कुरा स्पष्ट पारे रे। त्यस क्रममा बागलेले के भने त ? पुष्करका शब्दमा बागलेको भनाइ, ‘ठीकै छ, मैले कुरा बुझेँ, सम्बन्धित ठाउँमा राखौँला।’ पुष्करको अनुमान छ, ‘सायद मसँग कुरा गरिसकेपछि उनलाई भित्रैदेखि लाग्यो होला, यो मान्छे एन्टी इन्डियनचाहिँ होइन।’

यी र यस्तै तनाबको प्रतिफल हुन सक्छ, उनी त्यसैताका ज्वरो आएर थला परे। कार्यालय नै आउन नसक्ने गरी बेडमै पल्टिन पर्ने भयो। उनी १ सय २ डिग्रीको ज्वरो आएर सुतिरहेका थिए। त्यसै बेला विहान पख गोपाल बागलेको फोन आयो। त्यति बेला शिवशंकर मुखर्जी नेपालका लागि भारतीय राजदूत थिए।

फोनमा बागलेले भने रे, ‘तपाईं राजदूतसँग एकपल्ट भेट्न चाहनुहुन्छ कि ?’

‘ज्वरो आएर सुतिरहेको छु, सम्भव होला र ?’, पुष्करको उत्तर।

‘तैपनि प्रयास गर्नुस् न’, बागलेले भने रे।

त्यसताका पुष्कर छाउनी, डल्लुमा बस्थे। उनले श्रीमतीसँग पनि यसबारे कुरा गरे। उनले भनिन् रे, ‘यस्तो अवस्थामा न सरकारले केही गरेको छ न त जनताले। न त पार्टनरहरूबाटै साथ पाइएको छ। त्यही पीडाले तपाईंलाई यस्तो भइरहेको छ। त्यहाँ भीख माग्न जान पर्ने होइन, केही होइन। उनीहरूले तपाईंलाई बोलाएर सम्बन्ध सुधार गर्न चाहेपछि, सम्बन्ध सुधारेर मनलाई हलुका बनाउन सक्नुहुन्छ भने जानुस्।’

यसरी श्रीमतीले पनि ‘मोटिभेट’ गरेपछि पुष्करले बागलेको मोबाइलमा सम्पर्क गरेर आउने जानकारी दिए। उनलाई ११ बजे बोलाइयो।

भारतीय राजदूतसँग उनको कुराकानी भयो। के कुरा भयो त्यहाँ ? ‘त्यो स्तरको कूटनैतिक व्यक्तिले धेरै नकारात्मक कुरा पनि गर्दैनन्’, भन्दै पुष्कर सम्झन्छन् राजदूतका शब्दहरू, ‘कसरी चलिरहेको छ ? के भइरहेको छ ? कसरी चलाइरहनुभएको छ पत्रिका ? तपाईंका धेरै पार्टनरहरू पनि छन्, क्यारे। पत्रिका यसो हेर्दा राम्रै देखिन्छ।’

राजदूतले सकारात्मक कुराहरू मात्र गरिरहेका थिए रे। तैपनि पुष्करलाई लागिरहेको थियो, ‘उनको बडी ल्याङ्ग्वेजले चाहिँ ‘दियर इज समथिङ रङ’ वा तिमीसँग हाम्रो केही ‘रिजर्भेसन’ छ भन्ने पनि प्रकट गरिरहेको छ।’

त्यो भेट र कुराकानीबारे पुष्कर थप खुल्दै छन्, ‘जसरी गोपाल बागले कामनाको कार्यालयमा आएका बेला स्पष्ट कुरा गरेको थिएँ, राजदूत अगाडि हुँदा पनि त्यसलाई अवसरका रुपमा लिएर आनो कुरा स्पष्टै राखेँ।’ उनले काश्मिरको उदाहरण दिएका थिए रे, ‘काश्मिरमा पनि त जतिसुकै जे भए पनि भारतीय मिडिया एकजुट हुन्छन् नि, राष्ट्रियताका सबालमा। राष्ट्रको कुरा आयो भने एक–दुई वटा भारतकै गल्ती भए पनि भारतीय मिडियाले त्यसलाई छोपेर देशको समर्थनमा लेख्छ भने मैले त प्रमाणसहित नै छापेको कुरा हो। कि त घटना नै गलत भनेर आएको भए म सच्याउँछु भनेर मनोज भारतीलाई उति बेलै भनेकै थिएँ। त्यस्तो कुरा पनि आएन। म कुनै पनि देशसँग आनो देशको कूटनैतिक सम्बन्ध बिगारेर अखबार चलाऊँ भन्ने मानसिकतामा पनि छैन। म त छिमेकी मुलुक भारत, चीन सबैको मन जितेर नै काम गर्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ।’

झन्डै ४५ मिनेटजति राजदूतको कार्यकक्षमा थिए उनी। त्यहाँबाट बाहिर आउँदा उनलाई कस्तो ‘फिल’ भइरहेको थियो ? त्यो प्रसङ्गमा यति बेला स्वर अवरुद्ध हुन खोज्दै छ, उनको। त्यस्तै स्वरमा बोल्छन्, ‘राष्ट्रका लागि त्यत्रो काम गर्दागर्दै पनि एउटा विदेशी राजदूतको कार्यकक्षमा ‘कोर्ट मार्सल’मा बसेर फर्केजस्तो अनुभूति भयो। आफूले अपराध नै गरेर स्पष्टीकरण दिएर फर्केजस्तो।’

यदि उनलाई त्यहाँबाट फर्कंदा त्यस्तो लागेको हो भने उनी किन त्यहाँ गए ? भन्छन्, ‘परिस्थिति र वातावरण नै यस्तो बन्यो कि म त्यहाँ जानैपर्ने भयो। नत्र १०२ ज्वरो आएको मान्छे त्यत्तिकै एउटा विदेशी दूतावासमा किन गइरहनुपर्थ्यो र !’

हात मिलाएपछि राजदूतले भनेका थिए रे, ‘तपाईंको हात त कस्तो तातो रहेछ !’ पछि गोपाल बागलेले नै राजदूतलाई जानकारी दिए रे, ‘उहाँलाई ज्वरो आएको छ, तैपनि मेरो अनुरोधमा उहाँ आउनु भएको हो।’

आफैँसँग प्रश्न गर्छन् पुष्कर, ‘त्यो सब के गरेबापत त ? मैले देशको सीमालाई जोगाऊँ भन्ने मनसायले कलम चलाएबापत न हो।’ फेरि पनि उनको प्रश्न छ, ‘होइन ?’

त्यसपछि उनको मनमा प्रश्न उठ्न थाल्यो, ‘यस्तो मुलुकमा बसेर मैले सोचेको जस्तो व्यावसायिक पत्रकारिता गर्न सकुँला त ? न मैले राज्यबाट केही स्याबासी पाएँ न जनताबाट। न त पार्टनरहरूबाट नै पाएँ। अहिले आएर यस्तो गर्नुपर्‍यो भने अब के पत्रकारिता गर्नु ?’

उनलाई एक्कासि रिँगटा लाएजस्तो भयो। दूतावासभित्रकै पर्खालमा थ्याच्च बसे। पर्सबाट डाक्टरले दिएको औषधिको ‘प्रेशक्रिप्सन पेपर’ निकाले। त्यसमा उनले लेखे, ‘आजबाट म पत्रकारिता छोड्छु।’ र, त्यहाँ मिति पनि लेखे रे !

त्यति बेला उनले अटोबायोग्राफी लेख्नेबारे सोचे। र, त्यो पुस्तकको शीर्षक नै ‘मैले पत्रकारिता छोडेको दिन, २०६३ फागुन २२ गते’ राख्ने निधो गरे।

भन्छन्, ‘मैले त्यस्तो ‘फिल’ गरे पनि दूतावासभित्र त राम्रै कुरा भएको थियो। उनीहरूले ‘टर्चर’ गरेको त होइन नि।’ उनी निकै हताश मनस्थितिमा घर पुगे। श्रीमतीले भनिन्, ‘के भयो।’

उनले केही भनेनन्। खान मन पनि लागेन। ओछ्यानमा पल्टे। उनको आँखाबाट एकनासले आँसु बगिरहेको थियो।

उनी त्यसताका पाँच/सात दिन थला परे। ठीक भएर विस्तारै अफिस आउन थालेपछि फेरि अर्को समस्या आयो रे, ‘मेरो सबै सम्पत्ति त बैँकमा छ, मैले पत्रकारिता छोड्छु भन्दा ३२ जना पार्टनरहरूले तिमी नै पैसा तिर, सबै गर भन्लान् भन्ने डर।’

पत्रकारिता छोडेर मात्र पनि उनले सुख नपाउने भए। भन्छन्, ‘म त भोलिपल्टदेखि नै फुटपाथमा आउने भएँ।’ उनलाई लाग्यो, ‘यस्तो अवस्थामा पत्रकारिता छोड्नु त्यति बुद्धिमानी हुँदैन। बरु जित–जितको अवस्थामा विस्तारै ‘ट्याकल’ गर्दै जानुपर्ला।’

त्यसपछि उनकै शब्दमा उनले आफ्नो पचास प्रतिशत जोस, जाँगर, व्यावसायिकता र ‘इन्डिपेन्डेन्सी’ गुमाए।

(पुष्करलाल श्रेष्ठबारे २०६९ सालमा प्रकाशित अशोक सिलवालको पुस्तक ‘कलम’ बाट)

बुध, बैशाख ४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य फिचर न्युज समाचार

Like us On Facebook

Follow Us On Twitter