नेता, मन्त्री र प्रधानमन्त्री मोटाए तर जनता सधै गरिबः संग्रौला


काठमाडौं, ९ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला पन्त संग्रौलाले भ्रष्टाचारले जनता दिनप्रतिदिन गरिब हुँदै गएको तर नेता, मन्त्री र प्रधानमन्त्री मोटाउँदै गएको आरोप लगाएकी छिन् ।
शनिबार गोरखामा पत्रकारहरूसँग कुराकानी गर्दै भ्रष्टाचारले देश डुब्दै जाने विकराल अवस्था आएको बताईन् ।
सरकारले सुशासन, विकास र समृद्धिको नारा लगाए पनि सरकार चलेको एक वर्षमा भ्रष्टाचार रोक्नुको साटो देशमा झन भ्रष्टाचार मौलाएको बताईन् ।
सुशासन कायम गराउने तथा भ्रष्टाचार रोक्नेतर्फभन्दा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान कसरी आफू थप शक्तिशाली बन्ने भन्नेमा केन्द्रित रहेको उनको आरोप छ ।
नेतृ संग्रौलाले राष्ट्रिय सुरक्षा परिषदलाई छायामा राखेर प्रधानमन्त्री आफैंले सेना प्रयोगको अधिकार राख्न खोजेको समेत बताईन् ।
‘सामाजिक सञ्जालमाथि पनि नियन्त्रण गर्न खोजिएको छ । अभिव्यक्ति स्वतन्त्रतामाथि पनि हस्तक्षेप गरियो,’ उनले भनिन्। यस्तै अर्को प्रसंगमा उनले नेत्रविक्रम चन्द समूहमाथि सरकारले प्रतिबन्ध लगाउनुभन्दा उनीसँग सरकारले वार्ता गर्नुपर्ने बताईन् । प्रतिबन्ध लगाएर समस्याको समाधान ननिस्किने उनको भनाई थियो ।

शनि, चैत्र ९, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter