पूर्वमा नेकपाको प्रभाव तीव्र गतिमा बढ्दै


मोरङ, २६ कात्तिक ।

पूर्वी क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टीको प्रभाव तीव्र गतिमा बढेको छ । सरकारको प्रादेशिक हिसाबले ३ नम्बर क्षेत्रमा पर्ने पूर्वका दर्जन भन्दा बढी जिल्लामा सरकारले दमन तीव्र पारेसँगै नेकपाको प्रभाव पनि उतिनै गतिमा बढेको हो ।

प्रादेशका मुख्यमन्त्री शेरधन राईले आफू पदमा पुगेदेखि नै पूर्वका संखुवासभा, मोरङ, झापा, सुनसरी, धनकुटा, पाँचथर, इलाम, ताप्लेजुङ, उदयपुर, भोजपुरलगायत जिल्लाहरुमा नेकपाको शान्तिपूर्ण राजनीतिक गतिविधिमा समेत हस्तक्षेप र दमन गर्दै आइरहेका छन् ।
यस क्षेत्रमा खटिएका पार्टी कमिटीका ब्यूरो, जिल्ला, क्षेत्र र गाउँ ईकाईका नेता कार्यकर्तालाई निगरानी राख्ने, गिरफ्तार गरेर झुठा मुद्दामा फसाउने हर्कत गर्दै आइरहेको अवस्थामा पनि नेकपाको पूर्वी कमाण्डले कुशलतापूर्वक संगठन विस्तार तथा एकीकृत जनजागरण कार्यक्रम सम्पन्न गरेको छ ।

पूर्वी कमाण्डका ईन्चार्ज अनिल शर्मा ‘विरही’ छन् । यस कमाण्ड क्षेत्रका ब्यूरो र जिल्ला नेतृत्व देशभरकै मध्ये बढी संख्या र समय प्रहरी हिरासत परेका छन् । आधा दर्जन पटकसम्म गिरफ्तार भएका छन् । संखुवासभामा रहेको राष्ट्रघाती विद्युत आयोजना सम्झौता अरुण ३, विराटनगरमा रहेको भारतीय अवैध क्याम्प, कोशी बाँध जस्ता राष्ट्रियताविरोधी अखडालाई निस्तेज पारेर राष्ट्रको हितमा ढाल्नुपर्ने भएका कारण पनि पूर्वी कमाण्डको जिम्मेवारी निकै गहन रहँदै आइरहेको नेकपा पूर्वी कमाण्डको भनाई छ । यो क्षेत्र दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामाग्रीको उत्पादन र वितरणको पकड क्षेत्र हो । जनताले अस्वीकार गरिरहेका उक्त ती अखडालगायत सीमा तस्कर, महंगी, भ्रष्टाचार, कालो बजारिया, बिचौलिया, गुण्डागर्दीलगायत असामाजिक तत्वहरुको बिगबिगीमा गाँजिएका यस क्षेत्रमा नेकपाको प्रभावसँगै निकै कमी आएको स्थानीयहरुको भनाई छ ।

नेकपाले चलाएको एकीकृत जनजागरण अभियान कार्यक्रमले यस क्षेत्रका नागरिकमा राष्ट्रियता र स्वाधीनताको भावनामा बढवा आएको र नेकपालाई जनताबाट भरपुर सहयोग प्राप्त भइरहेको नेकपा पूर्वी कमाण्ड ईन्चार्ज विरहीले बताएका छन् । सरकारको दमन बाबजुद पनि नेकपाको प्रभाव तीव्र बनेको हो ।

नेकपा निकट पत्रकारहरुको संगठन क्रान्तिकारी पत्रकार संगठन, नेपालद्वारा देशभर संचालित ‘मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक वृहत अन्तरक्रिया कार्यक्रममा पूर्वी क्षेत्रमा पुगेका संगठनका पदाधिकारीसँगको भेटमा ईन्चार्ज विरहीले पूर्वी कमाण्ड क्षेत्रमा नेकपाको प्रभाव तीव्र गतिमा बढिरहेको र पार्टीले उठाएको एकीकृत जनक्रान्तिप्रति नागरिक ध्यानाकृष्ट भएको बताए ।
‘केपी–प्रचण्ड सरकारले क्रान्तिकारी पार्टी नेकपामाथि चलाएको दमन र हस्तक्षेपले एकीकृत जनक्रान्तिलाई मलजल पुगिरहेको छ । सरकारको बुद्धिले क्रान्तिको लहर पूर्वमा राम्रै छाएको छ’ ईन्चार्ज विरहीको भनाई उदृद्ध गर्दै संगठनका एक पदाधिकारीले मिर्मिरे अनलाइनलाई बताए । ‘दलाल संसदीय व्यवस्था बेठीक छ, यसले जनताको अधिकार छिन्ने काम गरेको छ । यसको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुको विकल्प छैन भन्ने कुरा बुझाउन धेरै हदसम्म नेकपा सफल भएको’ प्रतिक्रिया भेटमा ईन्चार्ज विरहीले दिएका थिए ।

नेकपा पूर्वी कमाण्ड पूरै जनतामाझ रहेर जनताकै हितमा कार्यक्रम चलाइरहेको जानकारी ईन्चार्ज विरहीले दिएको समेत उनले बताए । आगामी मंसिर ८ गते राजधानी काठमाडौं महंगी, भ्रष्टाचारी, काला बजारिया, राष्ट्रघाती सन्धिसम्झौता, हत्या, हिंसा, बलात्कारविरुद्ध लगायत सामाजिक फासीवादी सरकारको भण्डाफोर तथा वर्तमान राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा सार्वजनिक गर्ने उद्देश्यले आयोजना गरिने प्रदर्शन र जनसभाको तयारी पनि यस कमाण्डले व्यापक गरिरहेको जनाइएको छ ।

संगठनको असोज २ गतेको दाङमा बसेको पहिलो बैठकले गरेको निर्णय अनुसार अहिलेसम्म दर्जन ठाउँमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ भने भोलि २७ गते ताप्लेजुङमा गर्दैछ भने २९ गते मोरङको विराटनगरमा गर्दैछ । अन्य स्थानहरुमा पनि क्रमशः गर्दै जाने कार्यतालिका रहेको संगठनले जनाएको छ ।

गत बैशाख १५–१७ मा काठमाडौं उपत्यका सम्पन्न संगठनको तेस्रो राष्ट्रिय सम्मेलनपछि चयन भएको नयाँ नेतृत्वको टीम पेशागत मुद्दा र नागरिक अधिकारबारे सूसुचित गराउनेलगायत राष्ट्रियता र स्वाधीनताको विषयमा सरोकारवाला साथै सम्बन्धित निकायका अधिकारीसँग बहस, छलफल, अन्तरक्रिया र विषय उठान अभियानमा तीव्रतामा लागिरहेको छ । सोही सिलसिलामा संगठनका पूरै पदाधिकारी पूर्वमा छन् ।

सोम, कार्तिक २६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया