प्रहरी निरीक्षक भट्टलाई सरकारले फसौना खोजेको परिवारको आरोप


कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्याको अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयद्वारा बर्खास्तीका लागि सिफारिसमा परेका प्रहरी निरीक्षक जगदिश प्रसाद भट्टको परिवारले उनलाई सरकारले फसाउन खोजेको आरोप लगाएका छन् ।

भट्टलाई बर्खास्तीका लागि प्रहरी प्रधान कार्यालयले गृहलाई सिफारिस गरेपछि सोमबार   पत्रकार सम्मेलन गरेर भट्टकी श्रीमती निर्मला भट्ट(बसन्ती)ले सरकारले श्रीमानलाई फसाउन खोजेको बताइन् । उनले अनुसन्धान अधिकारी र मुद्दा फाँटका इन्चार्ज नभइ घटना भएको क्षेत्रमा वडा इन्चार्ज भएका कारण उनलाई फसाउन खोजेको गुनासो पोखिन् ।
‘मेरा श्रीमानलाई प्रहरीका उच्च अधिकारीले बारम्बार हत्यामा तेरो पनि संलग्नता छ, हत्यारालाई सघाएको छस, त्यो उखुबारी पनि तेरै आफन्तको हो भन्दै मानसिक यातना दिईरहेका छन्,‘ उनले भनिन्, ‘श्रीमानलाई झुटको खेती गरिरहेको छस, जेल हालिदिन्छु भन्दै प्रहरीबाटै धम्की आईरहेको छ ।’
निर्मला हराएको विषयमा पीडित परिवारले वडा कार्यालयमा फोन मार्फत जानकारी गराएको र हुलिया सहित फोटो ल्याउनु भनेर श्रीमानले भनेको उनले बताइन् । निर्मलाको शव फेला पर्ने वित्तिकै श्रीमानले नै बमको घरमा खानतलासी र सोधपुछ गरेको उनले बताइन् । ‘अधिकार माग्दा अरुको अधिकार पनि खोसिन्छ, आज मलाई भएको पीडा कसले बुझिदिने ?’ उनले प्रश्न गरिन् ।

निर्मला पन्तको बलात्कार पछि हत्याको अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश प्रसाद भट्टलाई बर्खास्तीका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।

सोम, कार्तिक ५, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया