एक हजार र ५ सयका नोट बन्द गर्न सांसदको सुझाव, राष्ट्र बैंकले दियो यस्तो जवाफ


काठमाडौँ, ५ भदौ ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले तरलता समस्या समाधानको उपायसहितका कार्ययोजना ७ दिनभित्र पेस गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले लगातार दुई वर्षदेखि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएको भन्दै तरलता समस्या समाधानको उपायसहित योजना ल्याउन राष्ट्र बैंकलाई निर्देशन दिएको हो ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसँग मुलुकको अर्थतन्त्रबारे जानकारी लिएपछि समितिले यस्तो निर्देशन दिएको हो ।

समितिले बैंकको क्षेत्रगत कर्जा लगानी, पाँच वर्षसम्मको निक्षेप परिचालन, कर्जा लगानी र नाफाको विवरण, कर्जा र निक्षेपको अनुपात, बैंक तथा वित्तीय संस्था मर्जरको प्रभाव र दीर्घकालीन लगानीको योजना समितिमा पेस गर्न निर्देशन दिएको छ ।

बैठकमा गभर्नर नेपालले १००० र ५०० रुपैयाँका नोट बन्द गर्न नसकिने बताउनु भयो ।

सम्पत्ति शुद्धीकरण गर्न सजिलो हुने भन्दै सांसद महेश बस्नेतले १००० र ५०० का नोट बन्द गर्नुपर्ने भनेपछि गभर्नर नेपालले १००० र ५०० का नोट बन्द गर्न नसकिने बताउनु भएको हो ।

उहाँले यस्तो संवेदनशील विषय हतारमा निर्णय गर्न नमिल्ने प्रस्ट पार्नुभयो ।

यस्तै उहाँले चालू आर्थिक वर्ष २०७५÷ ७६ मा आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशङ्का नगर्न पनि आग्रह गर्नुभयो ।

सरकारको ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पु¥याउने, लगानीयोग्य साधन अभिवृद्धि गर्ने र दीर्घकालीन प्रकृतिका ब्याजदरमा कमी ल्याउने मौद्रिक नीति अघि सारेर बैंकले काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप रु दुई हजार ७४२ अर्ब पुगेको तथा यो कुल गार्हस्थ्य उत्पादनको ९१.२ प्रतिशत भएकोे बैंकले जनाएको छ । बैंक तथा वित्तीय क्षेत्र संस्थाले निजी क्षेत्रतर्फ प्रवाह गरेको कर्जा २२ं५ प्रतिशतले वृद्धि भई दुई हजार ४०० अर्ब पुगेको र यो कूल गार्हस्थ्य उत्पादनको ७९.८ रहेको जनाइएको छ ।

बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल असार मसान्तसम्ममा छ हजार ६५१ पुगेको तथा ७५३ मध्ये हालसम्म ६३७ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति रहेको बताइएको छ ।

मुलुकको ढुकुटीमा अहिले नगद मौज्दात रु १३८ अर्ब रहेको छ भने रु २८ अर्ब बराबरको सुनचाँदी छ ।

समग्रमा एक नेपालीले रु १०० कमाउँदा रु आठ मात्र बचत गर्ने तथा बाँकी रकम उपभोग र विलासिताका वस्तुमा खर्च गर्ने प्रवृत्ति देखिएको छ

मङ्ल, भदौ ५, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया