यी हुन् आइतबारको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु


काठमाडौं । सरकारले मौलिक हकसँग स्म्बन्धित तीन विधेयक संघीय संसदमा पेस गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’, ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक २०७५ र ‘भूमिसम्बन्धी विधेयक (सातौं संशोधन), २०७५’ लाई संघीय ससदमा पेस गर्ने निर्णय गरेको हो ।

आगामी संविधान दिवस असोज ३ गतेभित्रै मौलिक हकसँग सम्बन्धित सबै विधेयक प्रस्तुत् गरिसक्नुपर्ने समयसीमा भएकाले सरकारले पछिल्ला केही हप्तादेखि सोहीसम्बन्धी विधेयकलाई प्रमुख प्राथमिकतामा राख्दै आएको छ ।

यस्तै, सरकारले नेपाली सेनाका बलाधिकृतरथी पूर्णचन्द्र थापालाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्तिका लागि राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

थापालाई यही भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरिनेछ । हाल उनी कायममुकायम प्रधानसेनापति छन् ।

सरकारले विश्व बैकको अन्तर्राष्ट्रिय विकास संस्था (आइडीए)बाट एकीकृत सार्वजनिक वित्त व्यवस्थापन सुधार आयोजनाका लागि रु एक अर्ब ६४ करोड स्वीकार गर्ने निर्णय गरेको छ ।

डा. खनालको नेतृत्वमा आयोग 

सार्वजनिक खर्च पुनरावलोकनका लागि सरकारले सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गरी आयोगका अध्यक्षमा अर्थशास्त्री डा. डिल्लीराज खनाललाई नियुक्त गरेको छ ।

सो आयोगमा पाँच सदस्य रहनेछन् । आयोगका अध्यक्षको पारिश्रमिक र सुविधा राज्यमन्त्रीसरह हुने मन्त्री बाँस्कोटाले जानकारी दिए ।

पञ्चेश्वर विकास प्राधिकरणमा नेपालका तर्फबाट अतिरिक्त कार्यकारी अधिकृतमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतलाई काज खटाउने निर्णयसमेत आइतबारको मन्त्रिपरिषदको बैठकले गरेको छ ।

यस्तै, पुनःबास तथा पुनःस्थापना कार्यकारी निर्देशकमा ऊर्जा तथा सिंचाइ विभागका उपकार्यकारी निर्देशक चूडाबहादुर ओली र प्राविधिक कार्यकारी निर्देशकमा विद्युत् विकास विभागका नरेन्द्रसिंह भण्डारीलाई काजमा खटाइएको छ ।

यसैगरी, प्राधिकरणको कार्यकारी निर्देशकमा कार्यरत् सहसचिव बाबुराम अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि बढीमा २०७६ असार मसान्तसम्म काजमा खटाउने निर्णय भएको छ ।

बिम्स्टेक ग्रीड अख्तियारी 

त्यस्तै, बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को ग्रीड इन्टरकनेक्सनसम्बन्धी समझदारीपत्रमा नेपालका तर्फबाट हस्ताक्षर गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई अख्तियारी दिइएको छ ।

यही भदौ १४ र १५ गते बिम्स्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा हुँदैछ ।

अस्थायी तथा सेवा करारबमोजिमका जनशक्तिको व्यवस्थापन गर्ने निर्णय पनि गरिएको छ ।

त्यसको आवश्यक प्रक्रिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिलाउने मन्त्री बाँस्कोटाले जानकारी दिए ।

सोम, भदौ ४, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया