नेकपाका प्रदेश र जिल्ला एकीकरण-प्रदेश ३, ४ र ७ मा सर्वसम्मत:प्रदेश ५ मा विवाद,केन्द्रीय कार्यालयमा उजुरी


काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश र जिल्ला कमिटी एकीकरण प्रतिवेदन कतै सर्वसम्मत तयार भएका छन् भने कतै सिफारिसमै विवाद भएको छ । प्रदेश ३, ४ र ७ ले एकीकरणसम्बन्धी प्रतिवेदन सर्वसम्मत तयार पारेर महासचिव विष्णु पौडेललाई बुझाएका छन् ।

प्रदेश ७ कार्यदलले प्रदेश कमिटीका अध्यक्ष र सचिवसहितका सदस्यहरूको नाम सर्वसम्मत टुंगो लगाएको छ । जिल्ला नेतृत्व पनि पूर्वएमाले र पूर्वमाओवादी समूहले सर्वसम्मत भागबन्डा गरी प्रतिवेदन बुझाएको छ । तर, प्रदेश ५ को कार्यदलले बुझाएको सिफारिस भने विवादित छ । अध्यक्ष केपी ओली र प्रचण्डले पठाएको निर्देशनविपरीत एकीकरण कार्यदलले जिल्ला नेतृत्वको नाम केन्द्रमा सिफारिस गरेको भन्दै महासचिव पौडेलसमक्ष उजुरी परेको छ ।

प्रदेश ३ को नेतृत्व  पूर्वएमालेलाई १०, माओवादीलाई ७
प्रदेश ३ का १७ जिल्ला कमिटीमध्ये पूर्वएमालेले १० र माओवादीले ७ लिने गरी बाँडफाँड गरिएको प्रतिवेदन एकीकरण कार्यदलले महासचिव विष्णु पौडेललाई आइतबार बुझाएको छ । पूर्वएमालेले नेतृत्व लिने गरी भूगोलका काठमाडौंमा रामशरण ढुंगाना, मकवानपुरमा बद्री लम्साल, धादिङमा नेत्रराज पौडेल, रसुवामा कर्णेल लामा, सिन्धुपाल्चोकमा झम्क नेपाल, दोलखामा भीम दाहाल, ललितपुरमा हरिकृष्ण व्यञ्जनकारको नाम अध्यक्षमा सिफारिस भएको छ ।

भक्तपुर पनि पूर्वएमालेले लिने समझदारी भए पनि नटुंगिएका कारण अध्यक्षको नाम सिफारिस भएको छैन ।पूर्वमाओवादीले काभ्रे, चितवन, सिन्धुली, रामेछाप र नुवाकोटका साथै युवा–विद्यार्थी विशेष र मजदुर विशेष जिल्ला कमिटीको नेतृत्व लिने भएको छ । काभ्रेमा सूर्यमान दोङको नाम सिफारिस भएको छ ।

पूर्वएमालेले विशेष जिल्ला कमिटीतर्फ उद्योगी व्यवसायी र पेसागत विशेष जिल्लाको नेतृत्व पाउने समझदारी भएको छ । एकीकरण कार्यदलका सदस्य काशीनाथ अधिकारीले प्राविधिक कारणले भक्तपुरबाहेक सबै जिल्ला र प्रदेशको प्रतिवेदन सर्वसम्मत रूपमा महासचिव पौडेललाई बुझाएको जानकारी दिए ।

गण्डकीमा सहमतिमै छुट्टाछुट्टै नाम
गण्डकी प्रदेशले केन्द्रीय सचिवालयबाटै प्रदेश र जिल्लाको नेतृत्व टुंगो लाग्ने गरी पूर्वएमाले र पूर्वमाओवादीले अध्यक्ष र सचिवको छुट्टाछुट्टै नामसहितको सूची बुझाएको छ । प्रदेश र जिल्लामा संख्यात्मक हिस्सेदारी टुंगो लगाएर एकीकरण कार्यदलले सहमतिमै दुवैतर्फबाट जिल्ला अध्यक्ष र सचिवका दाबेदारको नाम आइतबार महासचिव पौडेललाई बुझाएको हो ।

‘संख्या टुंग्याएर जिल्ला नेतृत्वका लागि तत्कालीन दुवै पार्टीका तर्फबाट सूची महासचिवलाई बुझाएका छौँ,’ कार्यदल सदस्य किरण गुरुङले भने, ‘इन्चार्ज र सहइन्चार्ज नतोकिएका कारण माथिबाटै मिलाएर टुंग्याउन सजिलो हुने भएकाले सूची बुझाएका हौँ ।’ प्रदेशका ११ मध्ये गोरखाबाहेकका जिल्लामा पूर्वएमालेको संख्यात्मक हिस्सेदारी बढी रहने गरी कार्यदलले प्रतिवेदन बुझाएको छ । गुरुङले जिल्लाहरूमा पूर्वपार्टीका तर्फबाट कम्तीमा ४३ प्रतिशतसम्मको हिस्सेदारी रहने गरी संख्या टुंग्याएको बताए ।

पूर्वएमालेले गोरखामा प्रेम गुरुङ, कास्कीमा दामोदर बैरागी, लमजुङमा कृष्णराज अधिकारी, म्याग्दीमा हरिकृष्ण श्रेष्ठ, बाग्लुङमा कृष्ण पाठक, मुस्ताङमा रमेश भट्टचन र मनाङमा त्रिपल गुरुङको एकल नाम अध्यक्षका लागि सिफारिस गरेको छ । त्यस्तै, तनहुँमा भगवती न्यौपाने, विष्णुभक्त सिग्देल, रामचन्द्र तिम्सेना, पर्वतमा भक्त कुँवर, मेघनाथ सुवेदी, नवलपुरमा दीपक अधिकारी, जीवन श्रेष्ठ, स्याङ्जामा रामचन्द्र भट्टराई, कृष्ण खाण र उदय श्रेष्ठको नाम अध्यक्षका लागि सिफारिस गरिएको छ । १ सय ८७ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट १ सय २ र माओवादीबाट ८५ जना रहने समझदारी भइसकेको छ ।

प्रतिवेदन बुझाएपछि कर्णालीमा मिलाउने प्रयास
१ सय ७५ सदस्यीय कर्णाली प्रदेश कमिटीमा पूर्वमाओवादीबाट ८८ र एमालेबाट ८७ जना रहने र जिल्लाको नेतृत्व बराबर हुने गरी एकीकरण कार्यदलले प्रतिवेदन बुझाएको थियो । तर, मुगु र कालिकोटको नेतृत्व विवाद बल्झिएपछि जिल्लाको नेतृत्वको नामसहित पुनः प्रतिवेदन बुझाउने गरी कार्यदलले छलफल गरिरहेको छ ।

यसअघि सुर्खेत, दैलेख, डोल्पा र जुम्ला पूर्वएमाले तथा सल्यान, जाजरकोट, पश्चिम रुकुम र हुम्ला पूर्वमाओवादीले नेतृत्व गर्ने सहमति भएको थियो । तर, मुगु र कालिकोटमा दुवै समूहको दाबीका कारण अन्तिम टुंगो लागेको छैन । भागबन्डालाई आधार मानेर जिल्ला नेतृत्वको नाम ज्येष्ठताका आधारमा पदाधिकारीमध्येबाट पठाउने कि त्यसलाई मात्र मापदण्ड नबनाउनेबारेमा छलफल भइरहेको कार्यदलका एक सदस्यले बताए । प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्यद्वय मायाप्रसाद शर्मा र यामलाल कँडेल दाबेदार छन् । शर्माले पूर्वमाओवादी तथा कँडेलले पूर्वएमालेको प्रतिनिधित्व गर्छन् ।

प्रदेश ७ मा अध्यक्षमा थापा र सचिवमा जोशी सिफारिस
प्रदेश ७ कमिटीको नेतृत्व पूर्वएमालेले गर्ने भएको छ । प्रदेश एकीकरण कार्यदलले अध्यक्षमा कर्णबहादुर थापा र सचिवमा लक्ष्मणदत्त जोशीको नाम सर्वसम्मत सिफारिस गरेको हो । थापा पूर्वएमाले र जोशी पूर्वमाओवादीका नेता हुन् ।

१ सय ८३ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट सय र माओवादीबाट ८३ जना सदस्य रहने गरी कार्यदलले महासचिव पौडेललाई प्रतिवेदन बुझाएको छ । यस्तै, सात सदस्यीय प्रदेश कार्यालयमा पूर्वएमालेबाट चार र पूर्वमाओवादीबाट तीनजना रहने कार्यदल सदस्य कर्णबहादुर थापाले बताए । प्रदेशका नौ जिल्लामध्ये बाजुरा, अछाम, डोटी, कैलाली र बैतडीको अध्यक्ष पूर्वएमाले तथा बझाङ, डडेल्धुरा, दार्चुला र कञ्चनपुरको अध्यक्ष पूर्वमाओवादीबाट रहने समझदारी भएको छ ।

अन्य प्रदेशमा छलफल जारी
प्रदेश २ कार्यदलले आठवटा जिल्लामध्ये चार–चारवटा जिल्लाको नेतृत्व बाँडेर लिने गरी प्रदेश र जिल्लाको संख्या टुंग्याइसकेको छ । तर, नेतृत्वको नामसहित सिफारिसका लागि कार्यदलमा अन्तिम छलफल चलिरहेको छ । प्रदेश १ ले दुई दिनभित्र सबै टुंगो लगाउने गरी अन्तिम छलफल चलाइरहेको छ ।

 प्रदेश ५ मा यसकारण विवाद
प्रदेश ५ को एकीकरण कार्यदलले पार्टी अध्यक्षद्वयको एकीकरण निर्देशनविपरीत जिल्लाको नेतृत्व सिफारिस गरेको भन्दै केन्द्रीय कार्यालयमा उजुरी परेको छ । अर्घाखाँची, पाल्पा, दाङलगायत जिल्ला कमिटी नेतृत्व सिफारिसप्रति असन्तुष्टि आएका छन् ।

अर्घाखाँचीका पूर्वएमाले नेताहरूले महासचिव पौडेललाई सम्बोधन गर्दै उजुरी दर्ता गराएका हुन् । पूर्वएमालेका कार्यबाहक जिल्ला अध्यक्ष जीवनारायण कोइराला, सचिव रामबहादुर चौहान, उपसचिव प्रेमनारायण गैरेलगायतले एकीकरण कार्यदलले जिल्ला कमिटी तहमा कसैसँग राय नलिई केन्द्रको निर्देशनविपरीत नेतृत्वको नाम सिफारिस गरेको आरोप लगाएका छन् । ‘केन्द्रले जिल्ला कमिटी तहमा राय–सल्लाह गरेर मात्र संख्या र नेतृत्व टुंग्याउन निर्देशन दिए पनि कार्यदलले कुनै परामर्श नगरी मापदण्डविपरीत नेतृत्वको नाम सिफारिस गरेको छ,’ असन्तुष्ट एक नेताले भने, ‘कार्यकर्तालाई निराश पार्ने सिफारिसलाई कसैले पनि स्विकार्ने स्थिति छैन ।’ जिल्ला सदस्य पीताम्बर भुसालको नाम अध्यक्षमा सिफारिस भएको छ ।

तर, कार्यदल सदस्य दलबहादुर रानाले आफूहरूलाई उजुरीबारे थाहा नभएको बताए । पद पाउने सम्भावना नभएपछि असन्तुष्टहरू मिलेर असन्तुष्टि जनाएको हुन सक्ने उनको भनाइ छ । ‘हामीले तल सबैसँग परामर्श गर्न समय पुग्ने कुरा भएन, सम्बन्धित जिल्ला इन्चार्ज र अध्यक्षले परामर्श गरेर ल्याउनुस् भनेका थियौँ,’ रानाले भने, ‘आफूले पदीय जिम्मेवारी पाए हुन्थ्यो भन्ने साथीहरूको आकांक्षा हुनु स्वाभाविक हो, तर हामीले दुवैतर्फ मिलाउनुपर्ने भएकाले थुप्रै नेतृत्वको आकांक्षी साथीहरू छुट्नुभएको छ, संख्याको सीमाले गर्दा कति साथीहरू पर्न सक्नुभएन होला ।’

मगरबाहुल्य जिल्ला पाल्पामा उपाध्यक्ष मोहन थापामगर, उपसचिव कमल पाण्डेलाई बाइपास गरेर पूर्वअध्यक्ष तथा पूर्वसांसद राधाकृष्ण कँडेलको नाम सिफारिस गरिएको आरोप लागेको छ । दाङमा पूर्वएमालेका बाहलवाला जिल्ला अध्यक्ष टीकाराम खड्काको सट्टा पदाधिकारी नै नरहेका सदस्य शिव आचार्यलाई अध्यक्षमा सिफारिस गरेको असन्तुष्ट पक्षको आरोप छ । दाङ मुख्यमन्त्री शंकर पोखरेल र प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको गृहजिल्ला हो ।

त्यस्तै, महासचिव पौडेलको गृहजिल्ला रूपन्देहीमा उपाध्यक्ष पुरुषोत्तम घिमिरे हुँदाहुँदै प्रदेश कार्यालयमा रहेका गोपाल भट्टराईको नाम सिफारिस गरिएको आरोप लागेको छ । बाँकेमा पूर्वएमालेको भागमा परेको सचिव पदमा अध्यक्ष, उपाध्यक्ष र सचिवको सट्टा जिल्लाका जुनियर सदस्य गोपाल गिरीको नाम सिफारिस भएको असन्तुष्ट पक्षको आरोप छ ।

कार्यदलले प्रदेशका १२ जिल्लामध्ये दाङ, प्युठान, कपिलवस्तु, अर्घाखाँची, रुपन्देही, गुल्मी र पाल्पा तथा पूर्वमाओवादीले बर्दिया, बाँके, रोल्पा, नवलपरासी र रुकुमको नेतृत्वको नामसहित प्रतिवेदन महासचिव पौडेललाई बुझाएको थियो । जसअनुसार प्रदेश अध्यक्षका लागि दलबहादुर राना र गणेशमान पुनको नाम सिफारिस भएको छ ।नयाँपत्रिकाबाट

सोम, भदौ ४, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter