झापाका तत्कालीन सामन्त धर्मप्रसादको हत्या गरेर क्रान्ति गरेका ओलीले किन बिर्से झापा अान्दाेलनलार्इ ?


झापाली कम्युनिस्टहरू रातिराति गीत गाउँथे, “लाखौँका लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ।”

त्यही कालखण्डमा झापाका कर्णबहादुर गौतमको हत्या भयो, २०२८ जेठ ३ गते। सो काण्डमा राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, भोगेन राजवंशीलगायतका युवकहरूलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाइयो। २०३० फागुन १३ गते अदालतले मुद्दाको फैसला सुनाएको थियो। बलबहादुर थापा, बिसु राजवंशी र झम्कु राजवंशीले गौतमकाण्डमा सफाइ पाए। ‘वर्गशत्रु’ मास्ने भनेर सुरु गरिएको झापा विद्रोहको पहिलो शिकार थिए गौतम।

भारतको पश्चिम बंगाल राज्यमा पर्ने नक्सलवाडीबाट सुरु भएको ‘सर्वहारावर्गको विद्रोह’ झापामा फैलिन थालेको थियो। चारु मजुम्दार, जंगल सन्थाल र कानु सन्याल गुप्तरूपमा ‘नक्सलाइट’ आन्दोलन चलाइरहेका थिए। सो आन्दोलनमार्फत नेपालमा त्यस्तै गतिविधि बढाउने कम्युनिस्ट अगुवा थिए, मोहनचन्द्र अधिकारी। त्यसैले नक्सलाइट (नक्सलपन्थी) हरूका निम्ति झापा एउटा प्रयोगशाला ठहरियो।

चारु मजुम्दार जमिनदारका छोरा थिए । ५४ वर्षमै उनको प्रहरी हिरासतमा कलकत्तामा मृत्यु भयो। भारतीय कम्युनिस्ट पार्टी (माले) का महासचिव थिए उनी । नेपालको माले पार्टी त्यसकै प्रभावबाट स्थापना भएको थियो । माक्र्सवाद र लेनिनवादमा आधारित पार्टी पूर्वी नेपालमा बिस्तारै फैलिँदै गयो।

कम्युनिस्ट नेता कानु सन्याल (कृष्णकुमार) सामान्य बंगाली थिए । उनी नेपाली पनि बोल्थे । पछिल्ला वर्षहरूमा उनी निराश देखिन्थे। नक्सलबाडीस्थित पार्टी कार्यालयको एउटा सामान्य कोठामा झन्डै दश वर्ष पहिले पंक्तिकारसँग कुरा गर्दै कानुले “नेपालका कम्युनिस्ट किन दुर्गन्धित भए हँ ?” भन्ने प्रश्न गरेका थिए । पछि उनले झुण्डिएर आत्महत्या गरेको खबर पत्रपत्रिकामा आयो । सायद धेरै पछुतो लाग्यो होला, बेकारमा सयकडौँ मानिस मारिएछ भनेर। २०२२/२३ सालदेखि पश्चिम बंगालमा नक्सलाइट आन्दोलनको दावानल सल्काउने कानुले काठमाडौँ हुँदै चीन गएर गुप्तरूपमा माओलाई भेटेको बताउँछन् उनका समर्थकहरू । ‘नक्सलाइट मुभमेन्ट इन इन्डिया’ पुस्तकमा विप्लवदास गुप्तले चारु, कानु र जंगल सन्थालका बारेमा रोचक चर्चा गरेका छन्।

दार्जिलिङ जिल्लाको पहाडी सहर खरसाङमा जन्मेर नेपाली बस्तीमा बाल्यकाल बिताएको हुँदा दार्जिलिङ्गे पाराको नेपाली बोल्थे कानु । नेपालका चर्चित कम्युनिस्टहरू पुँजी संग्रहमा लागेको भन्दै उनले गुनासो गरेका थिए, “तर डल्लै कार्यकर्ताहरू चैँ बिग्रेको छैन नि।”
नक्सलबाडी नजिकै हात्तीघिसा ग्राम पञ्चायतको दरिद्र स

तार परिवारमा जन्मेका जंगल सन्थाल किसान विद्रोहका अर्का नायक थिए । जेलमुक्त भएपछि उनी पनि निष्क्रिय भए । २०४५ सालमा उनको जीवनलीला समाप्त भयो । उनी चारु र कानुका निम्ति ‘साहसी’ साथी थिए।

‘वर्ग शत्रु’ सिध्याउने नाममा झापामा चलेको कम्युनिस्टको बलिप्रथाले आतंकको वातावरण पैदा ग-यो । कर्णबहादुर गौतम मारिएपछि २०२९ वैशाख २६ गते बुटन चौधरीको हत्या भयो । बुटनको हत्यामा मंगल मर्दी सतार, मसला धिमाल, भूसा धिताल, दधिराम उप्रेती, छविलाल राजवंशी, खड्गप्रसाद ओली (वर्तमान प्रधानमन्त्री), भोगेन राजवंशी, हर्कबहादुर खड्का, टंकप्रसाद घिमिरे, खड्गबहादुर मगर, खड्गप्रसाद दाहाल, जगतबहादुर कुमाल, अमृतबहादुर कुमाल, रामदेव चौधरी, शेरबहादुर निरौला, ज्ञानबहादुर कार्की, तुलसी सिलवाल र शेरबहादुर श्रेष्ठका साथै देगनाथ दंगाल, कालीबहादुर बन, गंगाप्रसाद भारती, हरि मैनाली, अमरबहादुर गिरी, राधाकृष्ण मैनाली र हरिभक्त गिरीलाई २०३० चैत २३ गतेको फैसलाअनुसार दण्ड सजाय सुनाइयो।

“झापा विद्रोह” बन डढेलो जस्तो फैलिँदै गयो । २०२९ मंसिर २३ गते उद्रकान्त राजवंशी मारिए । (कसैले ‘रुद्रकान्त’ भन्छन्, त्यो गलत हो ।) सो घटनामा जीवनकुमार मगर, हर्कबहादुर खड्का, डिगेन्द्र राजवंशी, गेटला राजवंशी, रामदुलार चौधरी, मुलम राजवंशी, टंकप्रसाद चौधरी, प्रेमप्रसाद उप्रेती, धर्मप्रसाद घिमिरे, खड्गप्रसाद (केपी) ओली, भोगेन राजवंशी, मोहनप्रसाद उप्रेती, काले भन्ने भीमबहादुर खड्का हेमबहादुर खड्का, फतरा सतार, हरिकृष्ण थारू, खड्गप्रसाद थापा र ‘लंगडा’ भन्ने गणेशबहादुर खड्कालाई कैद र जरिवाना भएको अभिलेखमा पाइन्छ।

२०२९ असार २७ गते विष्णुप्रसाद बिमली र ईश्वरीप्रसाद चुँडालको हत्या भयो झापामा । सो घटनामा नेत्रप्रसाद घिमिरे, नरेश खरेल, हर्कबहादुर खड्का, कृष्णप्रसाद सेढाई, डिल्लीप्रसाद शिवाकोटी ‘मिस्त्री साइँलो’ भन्ने टंकप्रसाद घिमिरे, ईश्वरीप्रसाद संग्रौला, नारायणप्रसाद तिवारी, गंगाप्रसाद उप्रेती र लोकनाथ ओलीलाई अदालतले कैद सजाय गर्ने फैसला ग-यो।

यस मुद्दामा राधाकृष्ण मैनाली र राधाकृष्ण घिमिरेले सफाइ पाए । यस्तै फरार रहेका मंगल सुनुवार, उमानाथ सेढाई, तिलत्रिवmम ढकाल, शिवप्रसाद शिवाकोटी, पुण्य निरौला र पुण्यप्रसाद उप्रेतीले सम्पत्ति बेचबिखन गर्न नपाउने गरी रोक्का गरियो।

ऋद्धिमानन्द बज्राचार्य र त्रिलोकप्रताप राणाको विशेष अदालतको निर्णय त्यसबेला झापाबाट प्रकाशित हुने ‘विवेचना’ अखबारमा प्रथम पृष्ठमा छापिएको हुँदा मदन पुरस्कार पुस्तकालय र प्रेस काउन्सिलमा ती अंक अवश्य पनि सुरक्षित होलान् । कम्युनिस्टहरूको बलिप्रथाबारे अनुसन्धान गर्न चाहनेहरूका लागि भरपर्दो सन्दर्भ सामग्री बन्न सक्छन् त्यसबेलाका पत्रपत्रिका र पुस्तकहरू । आजको कम्युनिस्ट राजनीति रक्तपातबाटै सुरु भएको हो भन्ने बुझन् त्यसबाट सजिलो हुन्छ।

२०२९ पुस १० गते राष्ट्रिय पञ्चायत (तत्कालीन संसद्) का पूर्वसांसद धर्मप्रसाद ढकालको उनकै घर (हात्ती किल्ला, शनिश्चरे) गाउँमा हत्या भयो । इलामको नामसालिङबाट बसाइँ सरेर झापामा प्रशस्त जग्गा जमिन जोडेका ढकाल प्रसिद्ध उद्योगपति पनि थिए । ढकाल र उनका माहिला छोरा ज्ञानेन्द्र एकै दिन मारिएका थिए।

ढकाल मारिएपछि घटनाको सूक्ष्म र वस्तुपरक अनुसन्धानले नयाँ मोड लियो । राजधानीका उच्चपदस्थ व्यक्तिहरूसँग ढकालको सम्पर्क भएकाले उनी मारिएको खबर जताततै फैलियो । यो काण्डमा खड्गप्रसाद ओली, मनकुमार तामाङ, अमरबहादुर कार्की, अमरबहादुर अधिकारी, भोगेन राजवंशी, ‘छविल’ भनिने छविलाल राजवंशी, मनकुमार गौतम (साधुको भेषमा पक्राउ परेका), राधाकृष्ण मैनाली, भुसा धिमाल, दधिराम उप्रेती, लाखबहादुर तामाङ, फतरा सतार, लीलादेवी कट्टेल, श्यामदास रेग्मी, ताराबहादुर कालाखेती र रत्नबहादुर कार्कीका साथै मुख्य योजनाकार मोहनचन्द्र अधिकारीविरुद्ध अदालतले कैद र जरिवानाको फैसला सुनाएको थियो।

झापा विद्रोह र भारतमा चलेको नक्सलपन्थी आन्दोलनका बारेमा गहिरो अध्ययन–अनुसन्धान गरेका साहित्यकार तथा पत्रकार नकुल काजी भन्छन्, “झापा विद्रोह नक्सलाइट आन्दोलनबाटै प्रेरित र प्रभावित थियो ।” पचास वर्षदेखि पत्रकारितामा समर्पित काजीले झापा विद्रोहका बारेमा उनको सम्पादनमा प्रकाशित विवेचनामा थुप्रै लेखहरू लेखेका छन् । २०३५ सालमा उनकै पत्रिकामा सहायक सम्पादक भएर पत्रकारितामा प्रवेश गरेको यो पंक्तिकारले नेपालको माओवादी विद्रोह भारतबाट सञ्चालित भएको भन्दै आफ्नै सम्पादनमा राजधानीबाट प्रकाशित सारथि साप्ताहिकमा लेख, समाचार र सम्पादकीय लेख्दा ठूलो मनोवैज्ञानिक तनाव र धम्की सहनु परेको अनुभव छ।

झापा विद्रोहबाट प्रेरित र भारतीय गुप्तचर संस्थाबाट संरक्षित नेपालको माओवादी विद्रोहको कथा झन् रोचक र रहस्यमय छ । ‘इन्डियन इन्टरभेन्सन इन श्रीलंका’ ग्रन्थमा प्रा. रोहण गुणरत्नेले दक्षिण एसियाका उग्र विद्रोह र राजनीतिक उथलपुथल दिल्लीको लोदीरोडस्थित गुप्तचर संस्था ‘रअ’ र त्यसका सल्लाहकारहरूले डिजाइन गर्ने गरेको उल्लेख गरेका छन् । भारतीय पत्रकार सुनन्दाकुमार दत्तले “स्म्यास् एन्ड ग्य्राब, एनेक्सेसन अफ सिक्किम” ग्रन्थमा सिक्किममा राजतन्त्र फ्याकेर सो राष्ट्रलाई भारतमा कसरी विलय गराइयो भन्ने कुराको सूक्ष्म विश्लेषण गरेका छन् । तसर्थ, २००७ सालपछि नेपालमा पटकपटक भएका राजनीतिक विद्रोह स्वतःस्फूर्त र जनचाहनाअनुसार नै भएका थिए भन्ने भ्रममा परियो भने त्यो अपरिपक्वता ठहरिनेछ।

नेपालका पछिल्ला घटनाक्रमबारे प्राध्यापक पीताम्बर शर्माले लेखेका छन्, “एमाले र माओवादी चोखो भएर एकतामा गएका होइनन् । दुवै पार्टीमा प्रशस्त सबल र त्यसभन्दा बढी दुर्बल पक्ष पनि छन् । कुशासन, भ्रष्टाचार, नेतृत्वको भड्किलो जीवनशैली, सम्पत्ति हत्याएर रजाइँ गर्ने अनि लाभको पदमा पुग्न जे पनि गर्ने जस्ता प्रवृत्ति दुवै पार्टीभित्र मौलाएकै हो । चुनावी घोषणापत्र  देखाउने दाँत मात्र हो । एकीकृत पार्टीको पनि देखाउने र खाने दाँत फरक छ । जबसम्म यो प्रवृत्ति रहन्छ, तबसम्म सुधार दुरुह हुन्छ।”

के नेपालमा ‘कम्युनिस्ट विद्रोह’ विसर्जन, आत्मसमर्पण, चरमानन्द, सफलता वा लक्ष्यप्राप्तिमा पुगेर टुंगिएको हो ? नेत्रविक्रम चन्दले चलाएको आन्दोलनलाई सरकारले केटाकेटी पाराको भने पनि भोलिका दिनमा हजारौँ विद्रोहीहरू पुनः संगठित नहोलान् भन्ने स्पष्ट आधार देखिँदैन । लाखौँ कार्यकर्ता र संसद्मा दुई तिहाइ बैंक ब्यालेन्स भएको नेपाल कम्युनिस्ट पार्टी सत्तामा छँदा पनि लाखौँ गरिबको मुहारमा खुसीको कुनै संकेत देखिँदैन । त्यसैले अहिले पनि कम्युनिस्टहरूको पुरानो गीत व्यंग्यझैँ लाग्छ । अर्थात् ‘मुठ्ठीभरलाई स्वर्ग छ’।

प्रा. पीताम्बर शर्माले भनेका छन्, “यो एकता (एमाले र माओवादी) टुट्छ कि कायम रहन्छ ? अहिल्यै भन्न सकिन्न । आउँदा दिनमा पार्टीले कस्तो नीति लिन्छ ? त्यसले धेरै कुरा निर्धारण गर्छ । कम्युनिस्ट र समाजवादी शासनमा के देखियो भने जो सत्तामा पुग्छ, ऊ नै नयाँ वर्गका रूपमा खडा भयो । सत्ता र शक्तिले कम्युनिस्टभित्र एउटा विशेष वर्ग सिर्जना हुन्छ । यहाँ पनि त्यही भइरहेको छ।”

आफ्नै बलबुताले स्वतःस्फूर्त गरेको क्रान्ति, आन्दोलन वा विद्रोह हत्पत्ति खरानी हुँदैन । २०२८ सालमा सुरु भएको झापा विद्रोहदेखि लिएर २०५२ फागनु १ गते सुरु भएको माओवादीको ‘जनयुद्ध’ कुनै निष्कर्षमा पुग्न सकेन । कार्यकर्तालाई रुवाएर सीमित व्यक्ति करोडौँ र अर्बौं रुपियाँका मालिक भएका छन् । विद्रोहले केही सर्वहारालाई खुसी र सुखी बनायो । लुकाउँदा लुकाउँदै पनि उनीहरूका श्रीमतीहरू करोडपति भएको यथार्थ लुक्न सकेन । कर्णबहादुर गौतम, बुटन चौधरी, मुक्तिनाथ अधिकारीलगायतका हजारौँको बलि दिएर कम्युनिस्टहरू सत्तामा पुगे । अर्को चुनाव पनि जित्लान् तर राष्ट्र र जनताको मुहार हँसिलो पार्न प्रयास गरिरहेका छैनन् । यसमा उनीहरूलाई कुनै ग्लानि र पश्चात्ताप भएको पनि देखिँदैन।

ब्रह्माजीले मरीचि, अत्रि, अंगिरा, पुलस्त्य, पुलह, क्रतु र दक्षजस्ता मानसपुत्र पैदा गरेको प्रसंग महाभारतमा पाइन्छ । नेपालमा पनि विदेशी शक्तिले रंगीविरंगी मानसपुत्रहरू पैदा गरेका छन् । दल, मानव अधिकार, प्रेस जगत्, एनजिओ, कर्मचारीतन्त्र, शैक्षिक क्षेत्र आदिमा ‘राष्ट्र र जनताका लागि’ भन्ने स्टिकर टाँसेर राष्ट्रहितविरुद्ध काम गर्नेहरूको कमी छैन । सत्ताका छेउछाउमा पुग्न होडबाजी गर्नेदेखि लिएर विद्रोह गर्ने–गराउने खेलमा अदृश्य शक्तिहरू सक्रिय रहन्छन् भन्ने कुरा इजिप्टदेखि लिबिया, टर्की, सिरिया, यमनलगायतका राष्ट्रमा देखिएको छ ।

नेपालमा राजनीतिक प्रणाली नै परिवर्तन भएको दश वर्षसम्म सरकार मात्र परिवर्तन भइरहेको पाइन्छ । स्थायित्वको कुनै संकेत देखिएको छैन । किन यस्तो भइरहेको छ त ? किन ठूला दलहरू स्थायित्वभन्दा सत्ताको खेलमा दौडिएका छन् ? अब अर्को विद्रोह हुँदैन भनेर ढुक्क हुने आधार देखिँदैन, किन ? दलहरू असफल भएका हुन् कि राजनीतिक प्रणाली ? नयाँ पुस्ताले सोच्नैपर्ने समय आएको छ।

(युवराज गाैतम- गाैतमले नागरिक दैनिकमा लेखेका हुन् ।)

आइत, साउन ६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य फिचर न्युज समाचार

Like us On Facebook

Follow Us On Twitter